धनाढ्य मुकेश अम्बानीमाथि विश्वकै धनाढ्य इलन मस्कले ‘भारतकै बोस्’ भएको आरोप लगाएपछि दुवै समूहबीच इन्टरनेटको विषयमा भइरहेको कर्पोरेट वारको विषय सतहमा आयो।
भारतमा अमेरिकी प्रविधि कम्पनी स्टारलिंक आउन प्रयास गरिरहेको छ। यसका लागि कम्पनीले सन् २०२५ मै भारतका विभिन्न टेलिकम अपरेटिङ कम्पनीसँग सहमति पनि गरिसकेको थियो।
तर, त्रिलिनियर इलन मस्कको कम्पनीले अहिलेसम्म भारतमा सेवा संचालन गर्न पाएका छैनन्।
केही दिन अघि मस्कले भारतमा आफूहरुलाई सेवा विस्तार रोक्न खोजिएको भन्दै एक्सबाट आरोप लगाएका थिए। मस्कले मुकेश अम्बानीलाई ‘भारतको प्रधानमन्त्री’ भन्दै व्यंग्यसमेत गरेका थिए। साथै, उनैले भारत चलाइरहेको टिप्पणी समेत गरेका थिए।
मुकेशले स्टारलिंकलाई भारतमा आउन रोकेको मस्कको आरोप थियो। त्यसपछि मुकेश अम्बानीको परिवार र उनको कम्पनी रिलायन्स इन्डस्ट्रीजमाथि आलोचना बढ्यो।
मस्कले सस्तो इन्टरनेटको पहुँचबाट भारतीय जनतालाई रोकिएको भनेपछि विरोध थप बढेको थियो।
अहिले भने रिलायन्स इन्डस्ट्रीजले मस्कको सो आरोपको खण्डन गरेको छ। कम्पनीले स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धा गर्न स्टालिंकलाई भारतमा जहिलै खुला रहेको जनाएको छ।
शुक्रबार विज्ञप्ति निकाल्दै रिलायन्सले ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गरेको छ।
‘स्टारलिंकसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न हामी तयार छौं,’ विज्ञप्तिमा उल्लेख छ।
मस्कले एक्समा स्टारलिंकलाई भारतमा रोक्ने प्रयास भएको भन्दै अम्बानी प्रति लक्षि गर्दै उनलाई ‘ओलीगार्च’ भनेका थिए। अम्बानीले इन्टरनेटमा एकाधिकार जमाउन खोजेको भन्दै त्यसलाई मस्कले भारतीय जनताविरुद्धको अपराधको संज्ञा समेत दिएका थिए।
त्यसयता यस विषयमा रिलायन्स वा अम्बानी परिवारले केही पनि सार्वजनिक रुपमा भनेको थिएन। आज भने रिलायन्सले बजारमा फैलिएको हल्लालाई चिर्न र तथ्य अगाडि राख्न विज्ञप्ति जारी गरेको जनाएको हो।
रिलायन्स अन्तर्गतको जियो प्लेटफर्मले सन् २०२५ स्टारलिंकको सेवा उपलब्ध गराउन मस्कको कम्पनी स्पेसएक्ससँग सम्झौता गरेको थियो । तर, जियोको स्याटेलाइट इन्टरनेट सेवाले नियामक स्वीकृति अहिलेसम्म पाउन सकेको छैन। स्टारलिंकले पनि भारतमा सेवा सुरु गर्न सकेको छैन।
यसैबारे रिलायन्सले विज्ञप्तिमा स्वदेशी र विदेशी सेवाप्रदायक सबैमा भारतीय कानून लागू हुने भन्दै सबैले त्यसको पालना गर्नुपर्ने जनाएको छ।