BIZMANDU
www.bizmandu.com

डिजिटल वालेट र टेलिकम सेवा प्रदायकलाई एक ठाउँमा ल्याइने, ‘वित्तीय अपराध रोक्न गम्भीर छौं’

२०८३ असोज ३०

डिजिटल वालेट र टेलिकम सेवा प्रदायकलाई एक ठाउँमा ल्याइने, ‘वित्तीय अपराध रोक्न गम्भीर छौं’
डिजिटल वालेट र टेलिकम सेवा प्रदायकलाई एक ठाउँमा ल्याइने, ‘वित्तीय अपराध रोक्न गम्भीर छौं’


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराधप्रति सरकार गम्भीर रहेको भन्दै रोकथामका लागि प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवाप्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याउने बताएका छन्।

GBIME
Tata

उनले शुक्रबार ७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिंदै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी-स्क्याम सेन्टर स्थापनाको तयारी गरिरहेको पनि बताएका छन्।

‘पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथामका लागि सरकार गम्भीर छ। यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवाप्रदायक तथा डिजिटल वालेटहरूलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढंगले सम्बोधन गर्ने व्यवस्था गरिँदैछ। साथै एआई, एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट र इन्टिग्रेटेड एन्टी-स्क्याम सेन्टर स्थापनाको तयारी भइरहेको छ,’ उनले भनेका छन्।

बालेनले सधैं अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने योजना रहेको पनि उल्लेख गरेका छन्।

‘यसका लागि नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ,’ उनले भनेका छन्, ‘प्रहरी कर्मचारी, तिनका परिवार, सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको छ।’