BIZMANDU
www.bizmandu.com

मधेशको गरिबी र विभेदको कथा बोकेको सापकोटाको ‘मगनी मरिक’ सार्वजनिक

२०८३ असोज ३०

मधेशको गरिबी र विभेदको कथा बोकेको सापकोटाको ‘मगनी मरिक’ सार्वजनिक
मधेशको गरिबी र विभेदको कथा बोकेको सापकोटाको ‘मगनी मरिक’ सार्वजनिक


काठमाडौं। पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’सार्वजनिक भएको छ।

GBIME
Tata

काठमाडौंको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा कक्षा १२ मा अध्ययनरत डोम समुदायकी १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

जातीय संरचनाको पिंधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’पात्रलाई केन्द्रमा राखेर यो उपन्यास रचिएको बताइएको छ।

विमोचन कार्यक्रममा अञ्जु कुमारी मरिकले आफू विभेदकारी समाजसँग जुध्दै यहाँसम्म आइपुगेको बताइन्।

‘म १२ जिल्लाको डोम समुदायबाट छात्रवृत्तिमा कक्षा १२ मा अध्ययन गर्ने एक मात्र छोरी हुँ। हाम्रो समाजमा जातिभेदको गहिरो पीडा छ। अनौठो कुरा के छ भने, बच्चा जन्मँदा वा विवाह जस्ता शुभकार्यमा हाम्रो समुदायले दिएको आशीर्वाद र छोएको पानीलाई चोखो मानिन्छ। तर अन्य समयमा हामीले छोएको पानी अशुद्ध ठहरिन्छ। मरेको मानिसलाई मुखाग्नि दिएपछि स्वर्ग पाइन्छ भन्ने समाजले त्यही मरिक समुदायलाई भने अछुत मान्छ,’ उनले भनिन्।

कार्यक्रममा डा. रामजी रामले ‘मगनी मरिक’ ले मधेशको सीमान्तकृत समुदायको वास्तविक विडम्बना र राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रश्न उठाएको बताए।

‘हामी गणतन्त्र हेरिरहेका छौं, तर त्यो गणतन्त्रभित्र पनि अझै ‘जाततन्त्र’ जीवितै छ। गणतन्त्रमा जाततन्त्र ढाल्न सकियो कि सकिएन भन्ने प्रश्न यो पुस्तकले उब्जाएको छ,’रामजीले टिप्पणी गरे। मधेशमा पानी खान नपाउनेहरूमा नपुग्ने क्यामेराहरू नेताको घेराभित्र मात्र सीमित हुने यथार्थमा लेखकले भुइँमान्छेका घरमै पुगेर उनीहरूको आवाज लेख्ने हिम्मत गरेको उनले बताए।

लेखक सापकोटाले दुई दशक लामो पत्रकारिताका क्रममा रिपोर्टिङ गर्दा छुटेका अनुभूतिहरू नै ‘मगनी मरिक’ को आधार बनेको बताए । ‘मधेशमा जातप्रथा, गरिबी, स्वास्थ्य र शिक्षाको अवस्था भयावह छ। पत्रकारिता गर्दा धेरै कुराहरू छुट्थे, जसलाई म डायरीमा लेख्ने गर्थें,’सापकोटाले भने।

‘काठमाडौंबाट मधेश डेढ-दुई सय किलोमिटर मात्र टाढा छ। तर त्यहाँको पीडा र उत्पीडनको आवाज आइपुग्न अझै धेरै समय लाग्छ। अञ्जुजस्ता मधेशका छोरीहरूलाई मञ्चमा ल्याएर उनीहरूकै कथा प्रस्तुत गर्न पाउँदा आफूलाई खुसी लागेको छ,’ सापकोटाले भने।