काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ कर प्रशासन सहकार्य मञ्च (ब्रिटाकोफ)को सातौँ सम्मेलनले डिजिटल कर सुशासनमा संयुक्त प्रतिबद्धता जनाएको छ।
इन्डोनेसियाको जाकार्तामा २८ र २९ असोजमा चलेको सम्मेलनले कर प्रशासन, जोखिम व्यवस्थापन र सीमापार कर समन्वयमा बिग डाटा तथा कृत्रिम बौद्धिकताजस्ता आधुनिक प्रविधिको प्रयोगलाई उपयोग गर्ने संयुक्त वक्तव्य जारी गरेको हो।
सम्मेलनमा करदाताको अनुपालन लागत घटाउन तथा सीमापार व्यापारिक गतिविधिका लागि लगानीमैत्री कर वातावरण निर्माण गर्न समावेशी डिजिटल सेवाहरू प्रवाह गर्न साझा संकल्प गरिएको छ।
त्यसैगरी बेल्ट एन्ड रोड ट्याक्स एकेडेमीहरू र ब्रिटासेज संयन्त्रमार्फत उच्चस्तरीय तालिम तथा पाठ्यक्रमहरू संचालन गरी सदस्य मुलुकहरूको प्रशासनिक क्षमता सबल बनाउने प्रतिबद्धता जनाइएको छ।
सम्मेलनले अन्तर्राष्ट्रिय कर सहकार्य सुदृढीकरण गर्दै विश्वव्यापी कर सुशासनका चुनौती सामना गर्न खुला, पारदर्शी र सहभागितामूलक अन्तर्राष्ट्रिय कर सहकार्यको ढाँचा विकास गर्ने संकल्प गरेको छ।
नेपालले ब्रिटाकोफमार्फत् अन्तर्राष्ट्रिय असल अभ्यास र बहुपक्षीय सहकार्यलाई आन्तरिक राजस्व परिचालन, नीतिगत आधुनिकीकरण तथा स्रोत मुलुकको कराधिकार सुदृढीकरणमा पूर्ण उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले डिजिटल अर्थतन्त्रको द्रुत विस्तार भइरहेको अवस्थामा कर प्रणालीलाई आधुनिक, न्यायपूर्ण, स्वचालित, पारदर्शी र करदातामैत्री बनाउनु अपरिहार्य रहेको बताए।
सम्मेलनका अवसरमा करदाता सेवाको सरलीकरणमा केन्द्रित ‘ट्याक्सपेयर सर्भिस प्रोडक्ट पोर्टफोलियो’को अनावरणसमेत गरिएको छ। करदाताको अनुपालन लागत घटाउन, सेवा प्रवाह सरल बनाउन र विकासोन्मुख मुलुकहरूको कर प्रशासनलाई अन्तर्राष्ट्रिय असल अभ्याससँग जोड्न पोर्टफोलियोले ठूलो भूमिका खेल्ने भूसालले धारणा राखे।
आठौं ब्रिटाकोफ सम्मेलन सन् २०२७ मा ताजिकिस्तानमा आयोजना हुनेछ।