BIZMANDU
www.bizmandu.com

नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल

२०८३ असोज २९

नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल
नेपाल-भारत सम्बन्धलाई दिगो बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्छ : शिशिर खनाल


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताएका छन्।

GBIME
Tata

उनले बिहीबार नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२औं वार्षिक साधारणसभामा द्विपक्षीय सम्बन्धबाट प्राप्त सम्भावनालाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

‘कूटनीति अब परराष्ट्र मन्त्रालय, औपचारिक वार्ता र सन्धि सम्झौतामा मात्र सीमित छैन। उद्योग, व्यापार, ऊर्जा र डिजिटल भुक्तानी प्रणालीसमेत आर्थिक कूटनीतिका महत्त्वपूर्ण क्षेत्र बनेका छन्,’ उनले भने।

मन्त्री खनालले देशमा उत्पादन क्षमता विस्तार, रोजगारी सिर्जना, गुणस्तरीय लगानी आकर्षित तथा निर्यात विविधीकरण गर्नुपर्ने भन्नै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे। उनले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार सहजीकरण, लगानी तथा औद्योगिक साझेदारी, ऊर्जा, डिजिटल रूपान्तरण र पर्यटनलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारे।

‘नेपालको जलविद्युत् सम्भावना र भारतको विस्तारित ऊर्जा बजारलाई जोडेर थप लगानी, प्रसारण पूर्वाधार तथा क्षेत्रीय ऊर्जा एकीकरणलाई अघि बढाउन आवश्यक छ,’ उनले भने।

उनले डिजिटल भुक्तानी, कृत्रिम बौद्धिकता र वित्तीय प्रविधिमा सहकार्य विस्तार गर्दा नेपाली युवा तथा उद्यमीले भारतीय बजार र प्रविधिबाट लाभ लिन सक्ने बताए। उनले निजी क्षेत्र आर्थिक कूटनीतिको महत्त्वपूर्ण साझेदार भएको भन्दै भन्सार प्रक्रिया, ढुवानी लागत र नियामकीय जटिलता घटाउन पूर्वानुमानयोग्य व्यावसायिक वातावरण आवश्यक रहेको बताए।