काठमाडौं। बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष २ महिनामा निजी क्षेत्रमा ९३ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार कर्जा लगानी १.६ प्रतिशतले वृद्धि भई हालसम्म ५९ खर्ब ५० अर्ब ५८ रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको हो।
अघिल्लो वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ४९ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाले कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५.६ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत कर्जा लगानी गरेका हुन्।
कर्जा खनिज क्षेत्रतर्फ १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फ ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फ ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फ ०.२ प्रतिशतले बढेको छ।
वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ।