BIZMANDU
www.bizmandu.com

विराट मेडिकल कलेजले लगातार ११ घण्टा बिजुली जाँदा भोगेको अत्याशलाग्दो समय, त्यसपछि सोलार

२०८३ असोज २९

विराट मेडिकल कलेजले लगातार ११ घण्टा बिजुली जाँदा भोगेको अत्याशलाग्दो समय, त्यसपछि सोलार
विराट मेडिकल कलेजले लगातार ११ घण्टा बिजुली जाँदा भोगेको अत्याशलाग्दो समय, त्यसपछि सोलार


विराटनगर। मोरङ टंकिसिनवारीमा एकदिन विनासूचना बिजुली गयो। त्यो पनि केही समयका लागि होइन, ११ घण्टा। त्यो ११ घण्टा विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलका लागि अत्यासलाग्दो समय बन्यो।

GBIME
Tata

‘बिजुली गएपछि १० वटा जेनेरेटर लगातार ११ घण्टा चलायौं। ९ घण्टा चलेपछि जेनेरेटर तात्न थाले। हाम्रा प्राविधिकले जेनेरेटर ब्रस्ट पनि हुनसक्ने जनाउ दिए,’ विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बिजमाण्डूसँग भने, ‘त्यसपछि मैले सीडीओ र मुख्यमन्त्रीलाई बिजुली नआए भेन्टिलेटरमा भएका ५० जनाको मृत्यु हुन सक्छ भनें। उनीहरुलाई अन्य अस्पतालमा सार्न सम्भव पनि थिएन।’

त्यसपछि कोशीका मुख्यमन्त्री एक ट्यांकर डिजल बोकेर अस्पताल आए। डा. कार्कीले तेल आफूसँगै भएको भन्दै बिजुली जतिसक्दो चाँडो आउने व्यवस्था गर्न आग्रह गरे। ‘तेल होइन हाम्रा सबै जेनेरेटर तातेर ब्रस्ट हुने अवस्थामा पुगेका छन्। हामीलाई तेल होइन प्राधिकरणको लाइन चाहियो,’ उनले मुख्यमन्त्रीसँग भने।

डा. ज्ञानेन्द्रमान सिंह कार्की

डा. कार्कीले त्यो बेलामा विद्युतका लागि भोग्नु परेको सास्ती थप सुनाए। ‘मुख्यमन्त्रीजीले गम्भीर भएर निकै प्रयास गर्नुभयो। धेरै फोन घुमाउनु भयो, तैपनि लाइन आएन। बल्लबल्ल साँझ ७ बजे लाइन आउँदा हामीले शान्तिको सास फेरेका थियौँ। हामीलाई हाम्रा जेनेरेटर र सँगसँगै आईसीयू, एनआईसीयू, पीआईसीयू, सीसीयू र भेन्टिलेटरका गरी संवेदनशील वार्डमा भर्ना भएका ३५० बिरामीको धेरै चिन्ता भइरहेको थियो,’ डा. कार्कीले सुनाए।

यसरी ११ घण्टा लगातार विद्युत् अवरूद्ध भएर दिनभर बेचैन भएका दिन नै डा. कार्कीले निर्णय गरे- अब ठूलो क्षमताको आफ्नै भरपर्दो वैकल्पिक ऊर्जा प्रणालीमा जाने। उनले आफ्नो योजनाअनुसार १००० शय्याको टिचिङ अस्पताल चलाउने उत्तम विकल्प सोलार नै हुने ठहर्‍याए।

पूर्वी नेपालकै ठूलो मध्येको विराट मेडिकल कलेजसँग भेन्टिलेटरसहितका संवेदनशील वार्डमा ३५० र अन्य वार्डमा साढे ७ सय जनालाई भर्ना गरेर चिकित्सा सेवा दिने क्षमता छ।

‘स्वास्थ्य तथा चिकित्साजस्तो संवेदनशील सेवा बिरामीको जीवनमरणको सवाल भएकाले चौबिसै घण्टा निर्वाध र भरपर्दो विद्युत् संचालन अनिवार्य हुन्छ,’ डा. कार्कीले भने, ‘सोलारबाट बिहानदेखि साँझसम्म विद्युत् उत्पादन हुन्छ र विराटलाई बिजुलीको मुख्य आवश्यकता पनि यही बेला छ। यही कारण आफूलाई जति चाहिन्छ त्यति नै क्षमताको सोलार पावर लगाउने निश्चयमा पुगें।’

विराट मेडिकल कलेजले अब एक मेगावाटभन्दा ठूलो क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने भएको छ। अस्पतालले स्वप्रयोजनका लागि बनाउन लागेको यो क्याप्टिभ सौर्य परियोजना ११३५ किलोवाट (पिक) क्षमताको हुनेछ जुन नेपालका कुनै पनि अस्पतालले राखेको अहिलेसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा प्रणाली हो। यसबाट ९६० किलोवाट (एसी) बराबर विद्युत् उत्पादन हुनेछ।

विराटले हाल अस्पतालमा विनाअवरोध आकस्मिक सेवा संचालनका लागि ३०० किलोवाट क्षमताको रुफटप सोलारबाट समेत विद्युत् आपूर्ति गरिरहेको छ। तर, अस्पताललाई तत्काल करिब साढे २ मेगावाट बिजुली आवश्यक छ।

त्यसैले भरपर्दो विद्युत् आपूर्तिका लागि मेडिकल कलेज परिसर नजिकै रहेको आफ्नै जग्गामा नयाँ ग्राउन्ड माउन्टेड सोलार परियोजना अघि बढाउने निर्णय गरेको डा. कार्कीले बताए।

उनले परियोजनाबाट उत्पादित बिजुली विराट मेडिकल कलेजसम्म ल्याउन करिब २ किलोमिटर लामो ११ केभीको प्रसारणलाइन समेत यस परियोजनाअन्तर्गत बनाउने जानकारी दिए।

विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलको संचालक कम्पनी ‘विराट अस्पताल प्रालि’ हो। विराटका लागि यो परियोजना ईपीसी मोडेलमा ऊर्जा ग्लोबल प्रालिले निर्माण गरेर दिनेछ। यसको सम्पूर्ण लगानी भने विराटकै रहनेछ।

ऊर्जा ग्लोबल उदयपुरको बेलकामा एक हजार मेगावाटको सौर्य ऊर्जा परियोजना विकासका लागि सरकारसमक्ष प्रस्ताव पेस गरेको रिन्यु होल्ङिस् अन्तर्गतको कम्पनी हो।

‘डिजल जेनेरेटर विद्युतका लागि ज्यादै महँगो र कार्बन उत्सर्जन हुने विकल्प हो। एक लिटरले ३ देखि बढीमा ४ युनिट मात्रै बिजुली दिने हुँदा प्रति युनिट लागत ५० देखि ६६ रुपैयाँ हाराहारी पर्छ। त्यसैले यो सोलार प्रोजेक्ट सकिएपछि विराटको अहिले बिजुलीमा भइरहेको ठूलो खर्च जोगिनेछ र दिउँसोको विद्युत् आवश्यकताको कम्तीमा आधा हिस्सा आधा सोलारबाटै पूर्ति हुनेछ,’ रिन्यु होल्डिङ्स तथा ऊर्जा ग्लोबलका चिफ बिजनेस अफिसर (सीबीओ) मधुकर दहालले भने।

विराटको यस निर्माणाधीन सौर्य परियोजनाबाट वार्षिक १५ लाख ८२ हजार ८५५ युनिट विद्युत उत्पादन हुने अनुमान छ। यसले विराटको बिजुलीको बिलमा हाल भइरहेको खर्च वार्षिक २ करोड रुपैयाँले कम हुने दाहालको जिकिर छ।

यो सोलार परियोजना संचालनमा आएपछि विराटको पावर ब्याकअपका लागि जेनेरेटर चलाउन डिजलमा भइरहेको खर्च धेरै बचत हुनेछ।

व्यावसायिक प्रतिष्ठानले ग्रिडको भरपर्दोे बिजुली पाउन अझै केही वर्ष कुर्नुपर्ने पक्का भएको अवस्थामा भदौ १० यता डेढ महिनामा आएको बाढीबाट १००० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएका छन्। यसले गर्दा आगामी हिउँदमा लोडसेडिङ हुने सम्भावना बढेको छ। यसकारण उद्योग व्यवसायका लागि सोलार भरपर्दो, मितव्ययी, दिगो र स्वच्छ विद्युतको उत्तम विकल्प भएको दहालको दाबी छ।

सोलार थप विस्तार गर्ने विराटको योजना

निकट भविष्यमा आफ्नो अरू जग्गामा पनि सोलार प्लान्ट बनाएर दिउँसोको अधिकांश विद्युत् आवश्यकता सोलारबाटै पूरा गर्ने विराटको योजना छ।

सोहीअनुसार हाल निर्माणाधीन ११३५ किलोवाट (पिक) क्षमताको परियोजना संचालनमा आएपछि क्षमता विस्तारका लागि पनि तुरुन्त अध्ययन थाल्ने योजना रहेको रिन्युका सीबीओ दहालले जानकारी दिए।

उनका अनुसार, दोस्रो चरणमा थप ३०० देखि ४०० किलोवाट (पिक) हाराहारी क्षमता विस्तार गर्ने गरी विराट र ऊर्जा ग्लोबलबीच सम्झौता भएको छ।

योजना अनुरूप दोस्रो चरणमा पनि परियोजना विस्तार भए हाल संचालनमा रहेको ३०० किलोवाटको रुफटफ र ११३५ किलोवाटको ग्राउन्ड माउन्टेडसहित विराटको कुल सौर्य ऊर्जा क्षमता १८०० किलोवाटमाथि पुग्नेछ। यसले विराटको दिउँसोको कुल विद्युत् आवश्यकताको ६० प्रतिशतभन्दा बढी सोलारबाटै पूर्ति हुनेछ।

‘छठलगत्तै प्रसारण लाइन र सोलार प्रोजेक्टको साइटको काम एकसाथ सुरु हुनेछ। युद्धस्तरमा काम अघि बढाएर नयाँ वर्ष २०२७ को जनवरीबाटै बत्ती बाल्ने योजना छ,’ दाहालले भने।