काठमाडौं। उत्तरी छिमेकी चीनले तातोपानी नाका खोल्न आनाकानी गर्दा दसैंको अटो व्यापार बिग्रिएको छ।
गाडी आयात गर्ने मुख्य नाका रसुवागढी भदौ १० गतेको बाढीले क्षतविक्षत भएकामा अर्को नाका पनि चीनले भदौ १४ देखि अकस्मात बन्द गरेर खोल्न नमानेपछि दसैंको अटो व्यापार चौपट भएको हो।
दुई मुख्य नाकाबाट गाडी भित्र्याउने अवस्था नभएपछि व्यवसायीले अन्तिम विकल्पका रुपमा कोरला नाकाबाट गाडी मगाएकामा असोज ८-११ को वर्षाले सम्पर्क विच्छेद भएको मुस्ताङ जोड्ने सडक दसैं सुरु भएपछि बल्ल असोज २६ गतेबाट सञ्चालनमा आएको छ।

वर्षभरि हुने गाडीको व्यापारमा दसैं मुख्य सिजन हो। दसैंका बेला मात्र व्यवसायीले करिब ६० प्रतिशत व्यापार गर्ने गरेकामा यसपालि बाटोका कारण विजोग भएको छ।
सामान्य अवस्थामा घटनास्थापनाका दिनदेखि गाडी डेलिभरीमा व्यस्त हुने व्यवसायी यसपालि मुस्ताङबाट कसरी ल्याउने भन्ने तनावमा छन्। विक्रेता कम्पनीहरुले आफ्नो ठूलो जनशक्ति मुस्ताङबाट गाडी ल्याउनका लागि परिचालन गरेका छन्।

पहिरो पन्छाइए पनि क्षति भएको ठाउँमा मर्मत गरिए पनि मुस्ताङ जाने सडक अहिले भरपर्दो छैन। कालिगण्डकी करिडोरको कठिन बाटोलाई व्यवसायीले मुख्य चुनौतीका रुपमा लिएका छन्।
व्यवसायीले साउन अन्तिम साता भएको नाइमा मोबिलिटी एक्स्पो र भदौ दोस्रो साता भएको नाडा अटो शोमा बुकिङ भएका गाडीसमेत समयमा ल्याउन नसक्दा व्यवसायी दबाबमा परेका छन्। ग्राहकले दसैंअघि नयाँ गाडी चढ्ने योजना बनाए पनि सडकको अवस्थाले डेलिभरी अनिश्चित बनेको छ।
बाटोको अवस्थाका कारण यसपालिको दसैंमा माग अनुसार गाडी डेलिभरी गर्न सकिनेमा व्यवसायी विश्वस्त छैनन्।
रसुवा नाका बाढीले तहसनहस भएपछि व्यवसायीले विकल्पमा तातोपानी नाकाबाट गाडी ल्याउने योजना बनाएका थिए। तर चीनले भदौ १४ गते अकस्मात बन्द गरेको नाका सरकार र व्यवसायीले पटक पटक आग्रह गर्दा पनि खोल्न मानेन।
तातोपानी नाका खुल्ने निश्चित नभएपछि व्यवसायीका लागि मुस्ताङको जोखिमपूर्ण सडक नै अन्तिम विकल्प भएको छ। तर, कच्ची र जोखिमपूर्ण सडक, इन्धन तथा चार्जिङको समस्या र ठूलो संख्यामा कन्टेनर तथा गाडीको आवागमनले ढुवानी सहज हुन सकेको छैन।

व्यवसायीले चीनबाट आयात गरेका २ हजार ५०० हाराहारी विद्युतीय गाडी मुस्ताङ भन्सार क्षेत्रमा अड्किएका छन्।
लिपमोटरको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले गाडी मुस्ताङबाट ल्याउन कर्मचारीहरु पठाएको जानकारी दिए।
‘मुस्ताङबाट बिहान हिँडेका गाडी साँझसम्म पोखरा आइपुग्ने अनुमान छ,’ उनले भने, ‘बाटो अलि चुनौतीपूर्ण छ। तैपनि सडक विभागले अवरोध पन्छाउन ठाउँ ठाउँमा आफ्नो टोली स्ट्यान्डबाइ राखेका कारण गाडी ल्याउन समस्या नहोला कि भन्ने विश्वास छ।’
सडकको अवस्था त भरपर्दो छैन नै, इभी चार्ज गर्न आवश्यक पूर्वाधार छैन। जेनेरेटर चलाउनुपर्ने अवस्था रहेको श्रेष्ठले बताए। ‘हामीले २०० लिटर डिजलसहित टिम पठाएका छौं। माथिल्लो मुस्ताङ नजिकै चार्जिङ स्टेसन पनि राखिएको छ,’ उनले भने।
गाडी डेलिभरी मिति अनिश्चित
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका नेसनल सेल्स हेड तथा सहायक महाप्रबन्धक आशुतोष गौतमले पनि गाडी ल्याउनका लागि टोली पठाइएको तर बाटोको अवस्थाका कारण चुनौती रहेको बताए।
‘हाम्रो टिम परिचालन भइसकेको छ। बाटोको अवस्था राम्रो भएमा केही गाडी शनिबारसम्म आइपुग्ने सम्भावना छ। त्यहीअनुसार डेलिभरीको समय यकिन हुन्छ,’ गौतमले भने, ‘सबै ग्राहकलाई दसैंअघि नै गाडी दिने तयारी थियो। तर, बाटोको अवस्थाले गाह्रो हुने भयो। अब पहिला बुकिङ गर्नेलाई पहिलो प्राथमिकता दिने हो।’

बीवाइडी गाडी सबैजसो कोरला नाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा छन्। ‘नयाँ गाडी जुनसुकै अवस्थाको सडकमा पनि चलाएर ल्याउन सकिंदैन। त्यसैले हामीले जोखिम मूल्यांकन गर्न भनेका छौं,’ गौतमले भने।
मोरङ अटो वर्क्स (एमएडब्लू) वृद्धि मोटर्स प्रालिले पनि नामी ब्रान्डका गाडी मुस्ताङबाट काठमाडौंतर्फ हिंडाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्तले सडकको अवस्था राम्रो नभए पनि दसैंअघि डेलिभरि गर्नुपर्ने बाध्यताले गाडी ल्याउन सुरु गरेको बताए। ‘हाम्रा गाडी मुभ भएका छन्। बाटो राम्रो नभए पनि चालकले व्यवस्थापन गरेर ल्याउँदै छन्,’ पन्तले भने।
उनका अनुसार गाडी मुस्ताङबाट काठमाडौं ल्याउन अहिले दुई दिन लाग्छ। काठमाडौं आइपुगेपछि पीडीआई गर्नुपर्ने भएकाले ग्राहकलाई गाडी हस्तान्तरण गर्न थप समय लाग्नेछ।
ओमोडा, जेको, चेरी र आईकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका उपाध्यक्ष रुपेश शर्मा भट्टले दसैं-तिहारको मुख्य सिजनमै गाडी ल्याउन नसक्दा व्यवसाय प्रभावित भएको बताए।
‘वर्षभरिको ६० प्रतिशत बिजनेस हुने सिजनमा यस्तो समस्या भइरहेको छ। अहिले मुस्ताङको बाटोबाट गाडी ल्याउन समस्या भएकाले समयमा डेलिभरी दिन सकिएको छैन,’ भट्टले भने, ‘एक-दुई दिन बाटो सुक्खा भयो भने गाडी राम्रोसँग ल्याउन सकिएला। तर हामीसँग अहिले यो बाटोको विकल्प छैन।’
सडकको अवस्था अनुकूल भए फूलपाती अर्थात असोज ३१ देखि ग्राहकलाई डेलिभरी दिने कम्पनीको तयारी छ। दसैंअघि गाडी दिने प्रतिबद्धता गरेका कम्पनीले सडकको अवस्थाका कारण अहिले डेलिभरीको मिति यकिन गर्न सकेका छैनन्।
कन्टेनर र नयाँ गाडी एकै पटक ल्याउँदा चाप
बाढी पहिरोले पुर्याएको क्षतिले करिब दुई साता बन्द भएर खुलेको सडकमा अहिले चाप बढेको छ। अड्किएका कन्टेनरदेखि अरु गाडीका कारण बाटोमा चाप परेको हो।
कालिगण्डकी करिडोर आयोजनाका प्रमुख तेजश्वी शर्माले कन्टेनर र विद्युतीय गाडी धमाधम आइरहेको तर संख्या धेरै भएकाले ट्राफिक व्यवस्थापनमा समय लागिरहेको बताए।
‘शुक्रबारदेखि पाँच सयभन्दा बढी कन्टेनर तल झरेका छन्। चार-पाँच सय युनिट विद्युतीय गाडी पनि तल झरेका छन्। डोङफेङ, फोटोनलगायत भ्यान धेरै छन्। तलबाट पनि माथि कन्टेनर गइरहेका छन्। त्यसले गर्दा ट्राफिक व्यवस्थापनमा समय लागेको छ,’ शर्माले भने।

शर्माका अनुसार कन्टेनरको अत्यधिक आवागमनले सडक बिग्रिने जोखिम देखिएको छ। तैपनि सडक अवरुद्ध हुन नदिन आयोजनाले दैनिक ग्राभेल हाल्ने र मर्मत गर्ने काम गरिरहेको छ।
‘दिनदिनै ग्राभेल हालेर बाटो बन्द हुन दिएका छैनौं। व्यवसायीले पनि निरन्तर जानकारी लिइरहनुभएको छ। अन्य गाडीसमेत माथिबाट आउने तयारीमा रहेकाले सडक मर्मतका लागि स्ट्यान्डबाइ टोली परिचालन गरेका छौं,’ शर्माले भने।