काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता फर्महरूलाई कालोसूचीमा राखेको छ। विभिन्न निकायको कार्बाही सिफारिसमा परेकाहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको बिहीबार जारी सूचनामा छ।
कान्तिपुर इन्फ्रास्ट्रक्चर एण्ड सप्लायर्स प्रालि सबैभन्दा बढी ३ वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीलाई कार्बाही सिफारिस सडक डिभिजन भक्तपुरले गरेको हो। यस्तै भैंसेपाटीको शुभश्री टेक्नोलोजिज प्रालि दुई वर्षको कार्बाहीमा परेको छ। उक्त कम्पनीलाई कार्बाही सिफारिस सडक विभागको हाइवे व्यवस्थापन सूचना प्रणाली सूचना तथा सञ्चार प्रविधि शाखाले गरेको हो।
अरुको सिफारिसमा विभिन्न कम्पनीलाई कार्बाही गर्दै आएको सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वयंको एउटा ठेक्कामा सूचना प्रविधिका तीन कम्पनीको ज्वाइन्ट भेन्चरलाई दुई वर्षका लागि कार्बाही गरेको छ। इन्फो डेभलपर्स प्रालि, भूपधि टेक्नो सर्भिस प्रालि र एभरेस्ट टेलिकम एण्ड आइटी सल्युसन प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखेको हो।
यस्तै किङ्स कस्ट्रक्सन प्रालि पर्वत, नागवंशी कन्स्ट्रक्सन कैलाली, धनुषाका सुहानी निर्माण सेवा र मरवैता कन्स्ट्रक्सन एक/एक वर्षका लागि कालोसूचीमा परेका छन्। कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।