काठमाडौं। संसदीय सुनुवाइ समितिले विभिन्न १० देशमा राजदूत नियुक्तिका लागि अनुमति दिएको छ।
समितिले प्रस्तावित राजदूतहरुलाई बोलाएर सवालजवाफ गरेपछि विभिन्न १० देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको छ।

समितिले भारतमा डा. निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा, अमेरिकामा चीरनजंग थापा, बेलायतमा गौरब शमशेर जबरा, जर्मनीमा सरु जोशी, इजरायलमा सुरेशकुमार कर्ण, ओमानमा पद्माक्षी राणा, दक्षिण कोरियामा प्रा. डा. संगम श्रेष्ठ, स्पेनमा प्राप्ती शेरचन र श्रीलंकामा डा. मञ्चला कुमरी झालाई नियुक्त गर्न सरकारले गरेको सिफारिस समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो।

मन्त्रिपरिषद्ले असोज २ गते १३ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको थियो। तर, समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई नियुक्त गर्न गरिएको सिफारिस अस्वीकृत गरेको छ। सुनारविरुद्ध महिला हिंसाको उजुरी परेको थियो।