BIZMANDU
www.bizmandu.com

‘हामीले अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याएर एनपीएल अगाडि बढाउन सक्छौं, सरकारले लगानी गर्नुपर्दैन’

२०८३ असोज २८

‘हामीले अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याएर एनपीएल अगाडि बढाउन सक्छौं, सरकारले लगानी गर्नुपर्दैन’
‘हामीले अन्तर्राष्ट्रिय लगानीकर्ता ल्याएर एनपीएल अगाडि बढाउन सक्छौं, सरकारले लगानी गर्नुपर्दैन’


हरि बहादुर जीसीले सन् १९८५ देखि कपडा उद्योगबाट आफ्नो व्यवसाय सुरु गरे। कपडाबाट सुरु भएको उनको व्यापार अन्य क्षेत्रमा पनि हुन थाल्यो। त्यही व्यवसायिक विरासतलाई अगाडि बढाए उनका छोरा ईश्वर जीसीले।

GBIME
Tata

उनले विरासतलाई विस्तार गर्ने क्रममा पुन: ब्रान्डिङ गरेर परिवारको नाममा जीसी ग्रुप बनाए। यो ग्रुप अहिले हस्पिटालिटी, एफएमसीजी, कृषि, जलविद्युत, सूचना प्रविधिदेखि मेडिकल डिभाइस उत्पादकसम्मका व्यवसायमा जोडिएको छ। सफल युवा उद्यमीको परिचय बनाएका जीसी स्पोर्ट्समा समेत लगानी गरेको छ। लुम्बिनी लायन्स दोस्रो संस्करणमा अप्रत्याशित पुनरागमन गर्दै च्याम्पियन बनेपछि एकाएक जीसी र क्लब दुवै चर्चामा छ।

उनै जीसीलाई बिजमाण्डूका मुकुन्द घिमिरेले सोधे – एनपीएलमा सबैभन्दा बढी उतारचढाव देखिएको टोलीमध्ये लुम्बिनी लायन्स हो। पहिलो संस्करणको नतिजा एकखालको, दोस्रोको अर्कै, अब तेस्रो संस्करण अगाडि छ। के होला?

मलाई के लाग्छ भने, दोस्रो सिजनमा हामीले जसरी क्रिकेट खेल्यौँ र सम्पूर्ण क्रिकेट जगतलाई रोमाञ्चकता देखायौ। प्रयास गर्‍यो र विश्वास राख्यो भने सफलता चुम्न सकिन्छ भन्ने विश्वास हाम्रा खेलाडी र हामीले सबैलाई दिलाएका थियौँ। त्यो यात्रालाई बरकरार राख्न हामी राम्रो क्रिकेट खेल्नेछौँ भन्ने मलाई लाग्छ।

तपाईंको कुरा सुन्दा दोस्रो संस्करणमा एकदमै सिरियस हुनुभयो कि जस्तो लाग्छ। अरू टोलीले नयाँ–नयाँ खेलाडी भित्र्याइरहेका छन्, तपाईंहरूले चाहिँ पुरानै खेलाडीलाई निरन्तरता दिँदै पुरानै प्याटर्न ल्याउनुभयो। तपाईंहरूको पहिलो म्याच पनि फेरि फाइनलबाटै सुरु हुँदै छ। दोस्रो संस्करणको ह्याङओभरबाट निस्किन नसक्नुभएको हो कि?

त्यो पक्कै पनि होइन। तर हामीले ब्रान्डलगायत एउटा परिवार क्रिएट गर्दैछौँ। लुम्बिनी लायन्स भनेको जित र हार मात्र होइन, हामीले एउटा परिवार बनाउन खोजिरहेका छौँ।

सफलतातर्फ गइरहेको टिम, अझ च्याम्पियन भइसकेको टिमलाई सम्मानको पनि त्यति नै जरुरत हुन्छ, चाहे त्यो खेलाडीका लागि होस् चाहे सम्पूर्ण टिमका लागि। हाम्रो टिमलाई के चाहिन्छ भन्ने अर्को पाटो पनि रहन्छ। त्यसैले प्रमाणित खेलाडीलाई हामीले फेरि पनि आफ्नो परिवारमै सँगै राख्न अग्रसरता देखाएका हौँ। उहाँहरू पनि त्यही जुझारुपनलाई अघि बढाउन खुसी हुनुहुन्छ। त्यसका लागि हामीले सम्मान गरेका हौँ।

अर्को कुरा, हामीले एक–दुईवटा थप खेलाडी पनि पक्कै ल्याउँदै छौँ, टिमको आवश्यकताअनुसार भ्याकेन्सी फुलफिल गर्न खोजिरहेका छौँ। नयाँ–नयाँहरू आउनु पक्कै राम्रो कुरा हो, तर राम्रो टिम बनाउनु अर्को पक्ष पनि हो। यी दुवै पक्षलाई हेरेर हामी निर्णय गरिरहेका छौँ।

विदेशी खेलाडीको कुरा गर्दा यसपालि हेभीवेट खेलाडी आइरहेका छन्। तपाईंहरूको कुराकानी कतिसम्म चलिरहेको छ? आईसीसीको सस्पेन्सन पर्खिरहनुभएको हो कि?

त्यो पनि छ, तर हामीसँग अहिले नै हेभीवेट खेलाडी नभएका पनि होइनन्। डार्सी सर्ट, जो अस्ट्रेलियामा राम्रो खेल्नुभएको र बिग ब्यास लिगमा पनि राम्रो छाप छोडिसक्नुभएको खेलाडी हुनुहुन्छ, एनपीएलमा पनि राम्रो छाप छोडिसक्नुभएको, उहाँ हामीसँग आउँदै हुनुहुन्छ। निरोशन डिकवेला, जो अहिले पनि श्रीलंकन टिममा रहेर खेलिरहनुभएको खेलाडी हुनुहुन्छ।

त्यसैगरी रोबिन टम्पलम्यान, गत वर्षको प्लेयर अफ द टुर्नामेन्ट। हामीसँग बिग नेम नभएका होइनन्, बिग नेम पनि छन् र उहाँहरूले मैदानमा आफ्नो काम राम्ररी गर्नुहुनेछ भन्ने हामीलाई लागेको छ। त्यसैले हामी आफ्नो टिमलाई कस्तो आवश्यकता छ र खेल जित्न अझ के चाहिन्छ भन्ने लक्ष्यमा अघि बढिरहेका छौँ।

हाम्रा पार्टनर, स्पोन्सर, ब्रान्डहरू एकदमै उत्सुक हुनुहुन्छ। हामीले एकदमै राम्रो तरिकाले सकारात्मक भाइब र सकारात्मक सपोर्ट पाइरहेका छौँ।

नेपाली टोलीका पूर्व कप्तान, तपाईंहरूका कप्तान रोहित पौडेलले लिग-२ को अन्तिम सिरिजको पहिलो खेलमै शतक प्रहार गर्नुभयो। उहाँले लय देखाउनुभएको छ, कतिको उत्साहित हुनुहुन्छ?

एकदमै उत्साहित।

अहिले भर्खर हामी पनि कुरा गर्दै थियौँ, त्यही मोबाइलमै हेरिरहेका छौँ। हामीलाई नेपाली क्रिकेटप्रतिको माया, देशप्रतिको माया र हाम्रा नेपाली खेलाडीहरूप्रतिको माया र भरोसा कति छ भन्ने कुरा तपाईं–हामी सबैलाई थाहा छ। हामी एउटा फ्रेन्चाइजका रूपमा अघि बढिरहेका छौँ, तपाईंहरू खेलकुद पत्रकारिताको क्षेत्रमा जसरी अघि बढिरहनुभएको छ, तपाईं–हामी सबैको सहकार्यले क्रिकेटले नेपाललाई एउटा सकारात्मक दिशा दिइरहेको छ भन्ने मलाई लाग्छ।

हाम्रा खेलाडीलाई हौसला, माया र सम्मान हामीले दिन पाइरहेका छौँ। त्यसैले लिग–२ मा हामी त्यति राम्रो नगरिरहेको अवस्थामा, अन्तिम मौका वा अन्तिम घडी भनौँ, ‘डु अर डाई’ को सिचुएसनमा परेको अवस्थामा हाम्रा कप्तानले सेन्चुरी हान्नु हाम्रा लागि एकदमै ठूलो कुरा हो, देशकै लागि पनि ठूलो कुरा हो जस्तो लाग्छ र म एकदमै खुसी छु।

खेलाडी, क्याम्प लगायतको खेलसँगै अर्को कमर्सियल पक्षको तयारी पनि अहिले तीव्र होला। ब्रान्डहरूसँग कतिको तालमेल भइरहेको छ, कति ब्रान्ड आइरहेका छन्, कति इच्छुक छन्, र मार्केटको स्थिति अहिले के छ?

मार्केटको स्थिति एकदमै राम्रो छ। अहिलेको अवस्था तपाईं–हामी सबैलाई थाहा छ, अस्ति भर्खर रसुवाको बाढीले धेरै ठूलो जनधनको क्षति पुर्‍याएको छ। त्यसबाट हामी निस्कन सकिरहेका छैनौँ, चाहे आर्थिक अवस्थामा होस् वा भावनात्मक अवस्थामा। आजै पनि बुढीगण्डकीमा फेरि त्यस्तै स्वरूपको बाढी गइरहेको अवस्था छ। देश त्यति सजिलो ठाउँमा वा राम्रो पोजिटिभ मुडमा पक्कै पनि छैन। तथापि, हामी नेपालीलाई खुसी दिने, नेपाली भएर गौरवका साथ, धर्मभन्दा माथि, विश्वासभन्दा माथि, पार्टी राजनीतिभन्दा माथि, महिला–पुरुष, धनी–गरिबभन्दा माथि एउटै प्लेटफर्ममा रमाउन पाउने कुरा क्रिकेट हो।

धेरै कुराले हामी बाँडिएका हुन्छौँ, तर क्रिकेट भन्नेबित्तिकै सबैभन्दा माथि नेपाली भएर हामी एउटै प्लेटफर्ममा पोजिटिभ भाइबका साथ रमाउँछौँ। टुर्नामेन्टलाई अघि बढाउँदै गर्दा हामी आफैंलाई पनि, युवालाई पनि नेपालमा केही गर्न सम्भव छ भन्ने सकारात्मक ऊर्जा दिने कुरा क्रिकेट हो। त्यसैले यो अवस्थामा पनि हामी अझ खुसीका साथ अघि बढ्नेछौँ र यसले पोजिटिभ एनर्जी दिनेछ भन्ने हामीलाई लाग्छ। त्यही बुझेर हाम्रा पार्टनर, स्पोन्सर, ब्रान्डहरू एकदमै उत्सुक हुनुहुन्छ। हामीले एकदमै राम्रो तरिकाले सकारात्मक भाइब र सकारात्मक सपोर्ट पाइरहेका छौँ।

त्यो मेन्टालिटी हामीलाई प्रिपेयर गरिएको थियो, त्यही अनुसार हामीले प्लान गरिरहेका थियौँ र टिमहरू बनाइरहेका थियौँ।

पहिलो संस्करणमा कोभिड, दोस्रो संस्करण जेनजी आन्दोलन, तेस्रो संस्करणमा भोटेकोशी बाढी–पहिरोको चपेटाबीच सुरु हुँदै छ। यति हुँदाहुँदै पनि एनपीएलले आर्थिक रूपमा राम्रो ग्रोथ देखाएको छ। तेस्रोसम्म आइपुग्दा मार्केट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कस्तो रेस्पोन्स पाइरहनुभएको छ?

एकदमै राम्रो प्रश्न सोध्नुभयो। नेपाल मात्र होइन, सारा विश्व एनपीएल हुनुभन्दा अघि कोभिडको महामारी र त्यसले पारेका प्रत्यक्ष असरबाट गुज्रिरहेको अवस्था थियो। त्यो अवस्थामा नेपाल जस्तो देशमा एनपीएल गर्नु सजिलो पक्कै पनि थिएन। तर हाम्रा पारसजी र क्यानको सम्पूर्ण नेतृत्वले जुझारुपनका साथ जमर्को गर्नुभयो, र त्यो जमर्कोमा हामी पनि सौभाग्यले फ्रेन्चाइजका रूपमा सहभागी हुन पायौँ। त्यो अवस्था के थियो भने, नेपालमा केही गर्ने, लगानी गर्ने कुरामा सबैतिर आर्थिक चलायमान अवस्था थिएन। अझ नयाँ स्टार्टअप र युवाका लागि त साँच्चै अन्धकार नै थियो। त्यस्तो अवस्थामा हामीले क्रिकेट टुर्नामेन्ट गर्न सक्छौँ, एनपीएल नेपालमा सम्भव छ भनेर अघि बढ्यौँ।

त्यतिबेला हामी स्पोन्सरहरूको दैलोमा जाँदा ‘क्रिकेट त पहिला पनि भएको थियो नि, क्रिकेट टुर्नामेन्ट त पहिला पनि भएकै थियो, यो चाहिँ कति वर्षसम्म जान्छ, यस्तो अवस्थामा बिजनेस नै छैन, कसरी सहकार्य गर्न सकिन्छ’ भनेर एनपीएललाई उहाँहरूले नबुझेको अवस्था थियो।

तर हामीले हरेस खाएनौँ, किनकि क्यानले पनि हामीलाई आह्वान गर्दै स्क्रिनिङ गर्दा, ट्रेनिङ दिँदा, टिम पाउनुभन्दा अगाडिदेखि नै कानमा छिराइरहेको थियो, र त्यही अनुसारका ट्रेनिङ र ओरिएन्टेसन उहाँहरूले दिइरहनुभएको थियो कि पाँच वर्षसम्म तपाईंहरू आफैं धानिने हिसाबले आउन सक्नुहुन्छ भने मात्र लगानीका लागि फर्म किन्नुस् वा आवेदन गर्नुस्। त्यो मेन्टालिटी हामीलाई प्रिपेयर गरिएको थियो, त्यही अनुसार हामीले प्लान गरिरहेका थियौँ र टिमहरू बनाइरहेका थियौँ।

नेपाली क्रिकेटलाई नजिकबाट बुझिरहेको थिएँ। नेपालप्रतिको माया, सम्मान र क्रिकेटप्रतिको माया, एउटा प्यासनले नै मैले लगानी गरेको हुँ।

तपाईंको त अरू सेक्टरमा इन्डस्ट्री राम्रोसँग चलिरहेको थियो। नेपालमा स्पोर्ट्सलाई एक हिसाबले इन्डस्ट्रीभन्दा पनि रमाइलोको रुपमा हेरिन्छ। यस्तोमा यो ‘मनी बर्निङ’ मोडल, कति वर्षसम्म लगानी गरिसकेपछि स्थिर भएर रिटर्न आउन ढिलो हुन सक्ने मोडल। यो मोडलमा खेलकुदमा, त्यो पनि क्रिकेटमा आउन तपाईंलाई केले इन्स्पायर गर्‍यो?

म आजभन्दा लगभग २२ वर्षअघि एउटा क्रिकेट क्लब नै खोलेको थिएँ र त्यसको संस्थापक नै म थिएँ। मैले क्रिकेटलाई अलि नजिकबाट बुझ्ने मौका पाएको थिएँ, किनकि म भारतमा पढ्दा नै कलेज लेभलमा हल्का–फुल्का क्रिकेट खेल्ने भएकाले नेपालमा क्रिकेट फस्टाउँदा कस्तो होला, नेपालमा पनि त सम्भावना छन् भन्ने लाग्थ्यो।

पछि जब आईपीएल भयो, आईपीएलले पाँच–सात वर्षमै धेरै राम्रो तरिकाले टुर्नामेन्ट गरायो, र त्यसले भारतलाई मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा भारतलाई अर्कै रूपमा चिनाउन थाल्यो, आईपीएललाई पनि चिनाउन थाल्यो। त्यसकारण नेपालमा पनि त्यस्ता टुर्नामेन्ट वा नेपाल प्रिमियर लिग नै भयो भने यसले पक्कै सफलता पाउँछ होला भन्ने लागिरहन्थ्यो। बीचमा एक–दुईवटा अरू टुर्नामेन्ट भए, त्यसमा चाहिँ मेरो त्यति चाहना रहेन। तर म नेपाली क्रिकेटलाई नजिकबाट बुझिरहेको थिएँ। नेपालप्रतिको माया, सम्मान र क्रिकेटप्रतिको माया, एउटा प्यासनले नै मैले लगानी गरेको हुँ।

बाहिर देशहरुमा क्रिकेट र अन्य खेलकुद पनि इन्डस्ट्रीका रूपमा विकसित भइसकेका छन्। नेपालमा त्यसरी अघि बढेको भनेको अहिले नेपाल प्रिमियर लिग हो। यो स्थिति एनपीएल अघि त अझ राम्रो थिएन। तपाईंलाई त्यतिखेर लागेको थियो कि क्रिकेटको लिग बाहिरजस्तै उद्योगमा परिणत हुन्छ?

लागेको थियो, एकदमै लागेको थियो। किनकि पारस खड्का, जसले क्रिकेट पनि बुझ्नुभएको छ, आफैं खेलेर पनि देशलाई नेतृत्व दिनुभएको छ र सफलता पनि दिनुभएको छ। उहाँले विदेशमा भएका अरू टुर्नामेन्टलाई पनि निकै नजिकबाट बुझ्नुभएको छ र उहाँ नै एनपीएल गभर्निङ काउन्सिलको प्रमुख भएपछि, राजनीतिबाट टाढा एउटा प्रोफेसनल मान्छे आयो भने यसले पक्कै पनि एउटा दिशा लिन्छ भन्ने लागेको थियो। उहाँहरूको सम्पूर्ण टिमको रातदिनको खटाइले हामीले सोचेको अनुरूपमै यो अघि बढिरहेको छ जस्तो मलाई लाग्छ। मसँग त्यही विश्वास थियो: एउटा संस्थाप्रति विश्वास र त्यसको नेतृत्वमा पारस खड्का भएकाले उहाँप्रति पनि विश्वास।

साँच्चै भन्नुपर्दा खेलकुद अब मनोरञ्जनका लागि वा स्वास्थ्यका लागि मात्र खेलिने कुरा रहेन। खेलकुद एउटा इन्डस्ट्री हो, र यो इन्डस्ट्रीमा तपाईंहरूजस्ता मिडियाका मान्छे, हामीजस्ता फ्रेन्चाइज, प्लेयर, ब्रान्ड, इन्टरनेसनल मिडिया, सामान्य व्यापारिक कमर्सियल प्लेटफर्महरूदेखि हस्पिटालिटी सेक्टरसम्म धेरै क्षेत्र जोडिएका छन्। यो आफैंमा इन्डस्ट्री बनिसकेको छ, अब यसलाई हुर्काउने जिम्मेवारी तपाईं–हाम्रो सबैको हो भन्ने मलाई लाग्छ।

हाम्रो सपना त अझ भारत र पाकिस्तानको खेल नेपालमा गराउन पाए, १० हजार जना पाहुना, खेलप्रेमी, एउटै मञ्चमा ल्याएर एकैचोटि देखाउन पाए, त्यसको असर कति ठूलो पर्छ होला।

एनपीएलको ब्रान्ड भ्यालु बढ्दै जाँदा विदेशी खेलाडी र अन्तर्राष्ट्रिय कम्पनीको चासो कस्तो छ?

पहिलो सिजनमा त हामीलाई खेलाडी ल्याउन पनि धेरै गाह्रो भएको थियो, तैपनि हामीले सोचेभन्दा धेरै राम्रो गर्‍यौँ। दोस्रो सिजन अघि, तपाईंले भन्नुभएजस्तै, देश भर्खर एउटा आन्दोलनको रापबाट गुज्रिरहेको थियो, तैपनि पहिलो सिजनको सफलता हेरेर र हामीलाई विश्वास गरेर राम्रा–राम्रा खेलाडी आएर राम्रो खेल खेल्नुभयो, र नेपालको अन्तर्राष्ट्रिय स्तरमा राम्रो छाप पनि दिएर जानुभयो। अहिलेको तेस्रो सिजनमा पनि त्योभन्दा अझ राम्रो अघि गइरहेको छ, एकदमै धेरै सकारात्मक कुरा छन्।

आईसीसीलगायत धेरै संघ–संस्थाले यसलाई नजिकबाट हेरिरहेका छन् र यो वर्षदेखि त यो अझ मेगा हुने अपेक्षा हामीले गरेका छौँ।

मेगा हुने, अझ ठूलो हुने भन्दै जाँदा टेक्नोलोजीका कुरा त आउँछ, तर टीयू क्रिकेट मैदानमै मात्र खेलेर एनपीएल ठूलो हुन सक्दैन होला, बाहिर पनि जानुपर्ला। तपाईंहरूका लागि त लुम्बिनीमा विकल्प पनि छन्। त्यसका लागि क्यानसँग केही पहल गरिरहनुभएको छ?

हाम्रो सपना नै यही हो। हामीले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्छौँ र लुम्बिनी लायन्सले आफ्नै घरमा, लुम्बिनी प्रदेशभित्रै खेल्नु हाम्रो सबैभन्दा ठूलो सपना हो। मजस्तै अरू फ्रेन्चाइजको पनि त्यही सपना छ। आफ्नै आँगनमा, आफ्नै घरमा, आफ्नै दर्शकबीच गेम खेलेर गौरवपूर्ण क्षण बिताउने र क्रिकेटको माध्यमबाट लुम्बिनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बनाउने हाम्रो लक्ष्य छ।

सधैंभरि त्यो मैदान भनेको नेपाली क्रिकेटको घर हो, हामी त्यसलाई सम्मान गर्छौँ। साथसाथै आफ्नो ठाउँबाट हाम्रा लोकल फ्यान र लोकल परिवारका सदस्यसँगै बसेर हेर्न हामी एकदमै उत्सुक छौँ। सम्भवतः नेपाली क्रिकेट, एनपीएल र क्यान त्यो दिशामा अघि बढेका छन् र छिट्टै अघि बढ्नेछौँ जस्तो लाग्छ।

नेपाल सरकारले पनि भर्खरै बजेटमा त्यसलाई सम्बोधन गरेको छ। सम्भवतः उहाँहरूले पनि यो विषयलाई नजिकबाट बुझ्नुभएको छ। कुन–कुन ग्राउन्डलाई युटिलाइज गर्ने, कुनलाई अझ एक्स्पान्ड गर्ने भन्नेबारे उहाँहरूले सोचिरहनुभएको छ। लुम्बिनीका लागि एउटा रंगशाला पनि उहाँहरूले छनोट गरिसक्नुभएको छ र पक्कै पनि त्यसलाई उहाँहरूले प्लान गरिरहनुभएको छ जस्तो मलाई लाग्छ।

लुम्बिनीलाई खेलसँगै खेल पर्यटन पनि जोडिन्छ। नेपालमा पर्यटनको पोटेन्सियल एकदमै धेरै छ। पर्यटनसँग कतिको जोड्नुभएको छ? सम्बन्धित निकायहरूसँग कतिको समन्वय भइरहेको छ?

हाम्रो सपना नै त्यही हो। अहिलेसम्म हामीले नेपाललाई सगरमाथाले चिनायौँ, लुम्बिनीले चिनायौँ, धार्मिक रूपमा चिनायौँ, एकदमै सुन्दर देशका रूपमा चिनायौँ। सगरमाथा त हाम्रो शिर नै भइहाल्यो। तर अब त्यति मात्र होइन, नेपाल क्रिकेटले पनि चिनाउनुपर्छ, नेपाल स्पोर्ट्सले चिनाउनुपर्छ। स्पोर्ट्स टुरिजम यति ठूलो टुरिजम हो कि त्यसले सिधै स्पोर्ट्स टुरिस्टलाई मात्र होइन, अरू क्षेत्रका टुरिस्टलाई पनि साथै बोकेर ल्याउँछ।

एकपटक एउटा बहानामा आइसकेपछि विभिन्न बहानामा नेपाल हेर्न, रमाइलो गर्न, नेपाललाई स्पर्श गर्न धेरै मानिस आउँछन्। त्यसैले स्पोर्ट्सबाट स्पोर्ट्स टुरिजमलाई अघि बढाउन हामी खोजिरहेका छौँ। हाम्रो सपना त अझ भारत र पाकिस्तानको खेल नेपालमा गराउन पाए, १० हजार जना पाहुना, खेलप्रेमी, एउटै मञ्चमा ल्याएर एकैचोटि देखाउन पाए, त्यसको असर कति ठूलो पर्छ होला।

एकपटक आउने १० हजारमात्र होइन, उहाँहरू फेरि परिवार र साथीहरूसँग फर्केर आउनुहुन्छ। त्यसले नेपालमा पार्ने प्रत्यक्ष र सकारात्मक असर कति धेरै हुन्छ भन्ने कुरा सबैलाई थाहा छ र तपाईं–हामीजस्तो क्रिकेटमै लागेको र स्पोर्ट्स टुरिजम बुझेको मान्छेले पक्कै बुझ्छौँ नै। त्यो सपना पक्कै रहन्छ।

हामी रेड पल्टन हौँ, ‘आर लुम्बिनियन, आर रेड पल्टन’ भनेर हामीले सम्पूर्ण परिवारका सदस्यलाई रेड पल्टनको दर्जा दिएका छौँ। उहाँहरूले देखाएको मायामा हामीमा फ्यान कम छ वा फ्यान खुसी हुनुहुन्न कि भन्ने जस्तो लाग्दैन।

अहिले लुम्बिनीले चाहिँ के प्रयास गरिरहेको छ त?

हामीले ट्रफी जित्दा तपाईंले देख्नुभयो होला, त्यो ट्रफी लिएर हाम्रो टोली १२ वटै जिल्लाको कुना-कुनामा पुग्यो। ती १२ जिल्लाका जति पनि धरोहर र सौन्दर्य छन्, त्यसलाई हामीले भ्रमण गर्‍यौँ र त्यसलाई राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरण कसरी गर्न सकिन्छ, हाम्रो ठाउँमा के–के हुन सक्छ भनेर एउटा प्रस्तुतीकरण पनि गरेका छौँ।

अब गर्ने पालो के हो भने त्यो १२ जिल्लाका मुख्य स्थान र त्यहाँ बस्ने हाम्रा लुम्बिनियनहरू मात्र होइन, कारोबार गर्ने र पढ्ने विद्यार्थीलाई पनि एउटा सञ्जालमा हामीले बाँध्न खोजिरहेका छौँ। जसले गर्दा आफ्नो खेल मात्र नभएर आफ्नो व्यापार, सोच र योजना पनि त्यो प्लेटफर्ममा राख्न सकून्। कसैले स्टार्टअप गर्न सकोस्, कसैले खेलाडी नै उत्पादन गर्न सकोस्, कसैले स्कुल–कलेजमा प्रोग्राम गर्न सकोस्। यस्ता कामहरूमा लाग्ने हाम्रो लक्ष्य छ र त्यो बाटोमा हामी गत वर्षदेखि नै अघि बढिसकेका छौँ।

पहिलो संस्करणको नतिजा र दोस्रो संस्करणको ढिलो कमब्याकले तपाइँहरुको फ्यानबेसमा असर गरेजस्तो लाग्छ? जति फ्यान हुनुपर्ने हो, त्यति नभएका हुन्?

होइन, हामीले एकदमै नजिकबाट हेरेका छौँ। मलाई लाग्छ सबैभन्दा इमान्दार फ्यान, सबैभन्दा विश्वासिलो फ्यान र आफ्नो टोलीलाई सबैभन्दा गर्व गर्ने फ्यान लुम्बिनी लायन्सकै छ। यो मैले आफ्नो टिम भनेर भनेको होइन। म आफैं सोसल मिडियामार्फत फ्यानसँग एकदमै जोडिने कोसिस गर्छु, लगभग हरेक हप्ता डेटा लिएको हुन्छु। उहाँहरूका कमेन्ट, लाइक–डिस्लाइक सबै मैले लगभग आफैं उतार्ने कोसिस गर्छु र पहिलो वर्षदेखि अहिलेसम्म गर्दै आएको छु, किनकि हाम्रो परिवार भनेकै उहाँहरू हो।

उहाँहरूको भ्वाइस सुनेनौँ भने हामी केही पनि होइनौँ। यही सिद्धान्तमा म अडिग छु। पहिलो सिजनमा जम्मा एउटा म्याच जित्दा हामीलाई भन्दा बढी दुःख हाम्रा फ्यानलाई लागेको थियो, हामीलाई भन्दा नरमाइलो उहाँहरूलाई लागेको थियो। उहाँहरूले दिएका सुझाव कम्तीमा मैले ३०० वटा हेरेको होला। पहिलो सिजनका कम्तीमा ३००–४०० सुझाव हाम्रो टिमले हेरेको थियो। छानिएकामध्ये जहाँ भावनात्मक कुरा थिए, जहाँ टेक्निकल कुरा थिए, जहाँ उहाँहरूले अपेक्षा गरेका तर हामीले पूरा गर्न नसकेका कुरा थिए, जहाँ हामीले कोसिस नै गरेका थियौँ तर भएन, तैपनि ‘हामी तपाईंसँग छौँ, तपाईं–हामी एउटै हौँ’ भन्ने उहाँहरूको भनाइको सम्बन्धलाई हामीले एकदमै नजिकबाट हेरिरहेका छौँ।

दोस्रो सिजनमा पनि, तपाईंले अघि भनिहाल्नुभयो, लगातार तीनवटा म्याच हारेपछि फ्यानबाट केही दुखेसो आएको थियो, त्यो पनि हामीले सबै हेरेका छौँ। जब हामीले त्यो यात्रालाई बटम, एउटा फाउन्डेसन, एउटा सेटब्याकका रूपमा लिएर अघि बढ्यौँ र हाम्रा खेलाडीमा आफैंमा आत्मविश्वास थियो, हामीमा पनि ‘अझै पनि हामी गर्न सक्छौँ’ भन्ने आत्मविश्वास थियो, फाइनलमै पुगेर ट्रफी जित्यौँ।

त्यसपछि फ्यानले दिएका सुझाव र सल्लाह अझै बढे। हामी रेड पल्टन हौँ, ‘आर लुम्बिनियन, आर रेड पल्टन’ भनेर हामीले सम्पूर्ण परिवारका सदस्यलाई रेड पल्टनको दर्जा दिएका छौँ। उहाँहरूले देखाएको मायामा हामीमा फ्यान कम छ वा फ्यान खुसी हुनुहुन्न कि भन्ने जस्तो लाग्दैन। तपाईंले हेर्नुभयो भने पनि हाम्रो सोसल मिडियामा, फेसबुकमा हामी टप टुमै छौँ, फ्यान पेज लाइकमा पनि। त्यसैले हामी एकदमै राम्ररी अघि बढेका छौँ र फ्यान हामीसँग धेरै नै छन्।

हामी इन्टरनेसनल इन्भेस्टर ल्याएर वा पीपीपी मोडलमा अघि बढ्न सक्छौँ। सरकारले यो क्षेत्रमा लगानी गरिरहनुपर्ने अवस्था छैन।

मैले यसमा जोड्न खोजेको होम एन्ड अवे कम भइरहेको छ भन्ने हो।

त्यो चाहिँ हो, होम एन्ड अवे छिट्टै हुनुपर्छ, हाम्रा लागि मात्र होइन, अरू फ्रेन्चाइजका लागि पनि र क्रिकेट स्टेट डेभलपमेन्टका लागि पनि छिटो नै हुनुपर्छ। त्यसका लागि सरकारले मैले अघि नै भनेझैँ काम गरिरहेको छ, अझ छिटो काम गरोस् भन्ने हाम्रो शुभकामना छ। हामी के चाहन्छौँ भने, सरकारले लगानी गर्न पनि पर्ने अवस्था छैन। यदि आठ ठाउँमा आठवटा फ्रेन्चाइजलाई सरकारले जग्गा मात्र दियो, ५०–६० वर्षका लागि जग्गा दियो भने हामी आफैं स्टेडियम बनाउने सामर्थ्यमा अघि बढिरहेका छौँ।

हामी इन्टरनेसनल इन्भेस्टर ल्याएर वा पीपीपी मोडलमा अघि बढ्न सक्छौँ। सरकारले यो क्षेत्रमा लगानी गरिरहनुपर्ने अवस्था छैन। माहोल बनाइदिएर नेतृत्वकर्ताको भूमिका गरिदियो भने फ्रेन्चाइज टोलीले आफैं पनि त्यो बनाउन सक्छ र पीपीपी मोडलमा अघि बढेर अझ राम्रो तरिकाले चलाउन सक्छ भन्ने मलाई लाग्छ। यदि त्यो हुँदैन भने सरकारले एउटा स्टेडियम बनाओस् र त्यसको सम्पूर्ण सञ्चालनको जिम्मा हामीलाई दिओस्, त्यो पनि हामी गर्न तयार छौँ। सरकारले हामीलाई बजेटभन्दा पनि पार्टनरसिपका रूपमा स्वागत गरोस् भन्ने म चाहन्छु।

म फेरि कमर्सियलमै आउँछु। हरेक संस्करणमा मैदानमा खेलजस्तै कर्पोरेटमा प्रायोजनको प्रतिस्पर्धा छ। मैले यसलाई ब्रान्ड भ्यालुसँग जोडेर हेर्न खोजेको हुँ। यो कति बढेको छ? पहिलो संस्करणमा ब्रान्ड भ्यालु कति क्रिएट भएको थियो, तेस्रो संस्करणमा आइपुग्दा कता पुगेको छ? क्लब र लिगको भ्यालु कसरी हेर्नुहुन्छ?

ठ्याक्कै त्यो भन्ने अवस्थामा म छैन, तर एकदम राम्रो तरिकाले अघि बढेको जस्तो मलाई लाग्छ। मैले भनिहालेँ, पहिलो सिजन सुरुवात थियो, दोस्रो सिजन सफलता थियो, तेस्रो सिजन अझ मेगाको रूपमा अघि बढिरहेको छ र यो यसरी नै अघि बढ्छ भन्ने मलाई लाग्छ। तपाईंले सोधेको प्रश्नको ठ्याक्कै उत्तर दिने अवस्थामा म छैन जस्तो मलाई लाग्छ यो विषयमा।

एउटा खेलाडी आइसकेपछि कम्तीमा त्यो फ्रेन्चाइजीसँग पाँच–सात वर्ष एउटा लिगेसीका रूपमा रहने, जसरी हामीले त्यो परिवार लुम्बिनी लायन्समा सुरु गरेका छौँ, अरूहरूले पनि गरिरहनुभएको छ।

बाहिरबाट पनि अरू पार्टीले चासो दिइरहेका छन्, क्लबमा सेयर लिन खोजिरहेका छन् भन्ने पनि सुनिन्छ। केही अफर त्यस्तो आएको छ?

अब किन तीन वर्षसम्म हामीले बाहिरकोलाई बेच्न नपाउने भन्ने नियम छ। तीन वर्षपछि पनि क्यानको गाइडलाइन र निर्देशनमा मात्र यो सबै हुने भएकाले अफर वा रिक्वेस्ट पक्कै पनि क्यानमार्फत कहिलेकाहीँ सिधै पनि आइरहेका छन्। तर अहिले नै त्यो भन्नुभन्दा अर्को वर्ष चाहिँ एकदमै सान्दर्भिक समय हुन्छ जस्तो मलाई लाग्छ यो विषयमा।

हामी आईपीएल, बिग ब्यास लिग, प्रिमियर लिग यहाँ बसेर हेर्छौँ। त्यसरी नै एनपीएल भारत, श्रीलंका, बंगलादेश वा अरू देशमा नेपालीबाहेकका दर्शकले हेर्ने, बाहिरका एमएनसीलाई ल्याएर हाम्रो ब्रान्ड भ्यालु माथि लैजाने स्थितिबाट हामी कति टाढा छौँ होला?

मलाई धेरै टाढा छौँ जस्तो लाग्दैन। अरू सात–आठ वर्षमा हामीले यो बनाउन सक्छौँ। धेरै कुर्नै पर्दैन। सात–आठ वर्षदेखि १० वर्षभित्र हामी त्यो रूपमा पुग्छौँ र त्यसको सुरुवात भइसकेको छ। हामीले स्टार स्पोर्ट्ससँग क्यानले किन सम्झौता गरिरहेको छ भन्ने कुरा नै यही हो, हाम्रा दर्शक बढाउन र जन्माउन। भारतमा सुरुवात भइसकेको छ। नेपाली मात्र होइन, अरू भारतीय नागरिकले पनि हेर्नुहुन्छ।

बंगलादेशमा बंगलादेशी नागरिकले हेर्न थाल्नुभएको छ, पाकिस्तानमा पाकिस्तानी नागरिकले हेर्न थाल्नुभएको छ, अस्ट्रेलियातिर पनि जान लागिरहेको छ र अन्य एसोसिएट राष्ट्रका क्रिकेटप्रेमीले पनि हेर्न थालिसक्नुभएको छ। त्यसैले यसको सुरुवात भइसकेको छ र यसलाई म्याच्योर हुन पक्कै पनि पाँच–सात वर्ष लाग्छ, तर यो त्यो दिशामा अघि बढिसकेको छ जस्तो मलाई लाग्छ।

यसका लागि एनपीएलमा चाहिनै पर्ने कुरा के हुन्?

नम्बर वान, हामीभन्दा सबैभन्दा राम्रो भनेको हाम्रा क्रिकेटप्रेमी, हाम्रा आम जनता हुन्। उहाँहरूको समर्थन र माया सबैभन्दा ठूलो कुरा हो। उहाँहरूलाई स्टेडियममा आएर हेर्न अझ सुविधासम्पन्न स्टेडियम, उहाँहरूले आफ्नो गर्वका साथ परिवारसहित सुरक्षित र रमाइलो रूपमा हेर्ने वातावरण बनाइदिन इन्फ्रास्ट्रक्चरमै अलिकति ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। नम्बर टु, हामीले इन्टरनेसनल्ली प्रुभन फ्रेन्चाइजीहरूसँग कोल्याब गर्न पायौँ भने त्यसले पक्कै पनि यसलाई अझ स्केल अप गर्छ।

तेस्रो, अन्तर्राष्ट्रिय खेलाडी, तपाईंले भनेजस्तै नेपाली खेलाडीसँगको संयोजनमा, अझ राम्रा खेलाडी र ब्रान्ड भ्यालुलाई सपोर्ट गर्ने। एउटा खेलाडी आइसकेपछि कम्तीमा त्यो फ्रेन्चाइजीसँग पाँच–सात वर्ष एउटा लिगेसीका रूपमा रहने, जसरी हामीले त्यो परिवार लुम्बिनी लायन्समा सुरु गरेका छौँ, अरूहरूले पनि गरिरहनुभएको छ। लङ टर्म बेसिसमा उहाँहरूले एउटै क्लबमा खेलेर अघि बढ्नुभयो भने। यस्ता तीन–चारवटा कुराले गर्दा सफलतातर्फ हामी पक्कै पुग्छौँ जस्तो मलाई लाग्छ।

सकेसम्म हामीले हरेक म्याचमा सबै प्लेयर खेलून् भन्ने रूपमा अघि बढेका छौँ। यसको रिजल्ट तपाईंले मैदानमै देख्नुहुनेछ भन्ने मलाई लाग्छ।

विदेशी खेलाडी केही खेलका लागि मात्रै आउने प्रवृत्तिले फ्यानले खेलाडी चिन्नै नपाउने अवस्था छ। लुम्बिनी लायन्समा विदेशी खेलाडी कति समयका लागि आउँछन्? उनीहरू पूरा सिजन उपलब्ध हुन्छन्?

कस्तो राम्रो प्रश्न सोध्नुभयो। हाम्रो एउटा सिद्धान्त, थेयोरी टाइपमा हामीले यसलाई लिएका छौँ र सकेसम्म हामीले हरेक म्याचमा सबै प्लेयर खेलून् भन्ने रूपमा अघि बढेका छौँ। यसको रिजल्ट तपाईंले मैदानमै देख्नुहुनेछ भन्ने मलाई लाग्छ। हामीले सकेसम्म हरेक खेलाडी हरेक म्याचमा उपलब्ध होस् भन्ने चाहेका छौँ र त्यही अनुसार अघि बढेका छौँ।