BIZMANDU
www.bizmandu.com

महिलासँगको प्रेम सम्बन्ध स्वीकार्दै प्रस्तावित राजदूत सुनारले भने, ‘फोनमा झगडा भएको हो’

२०८३ असोज २८

महिलासँगको प्रेम सम्बन्ध स्वीकार्दै प्रस्तावित राजदूत सुनारले भने, ‘फोनमा झगडा भएको हो’
महिलासँगको प्रेम सम्बन्ध स्वीकार्दै प्रस्तावित राजदूत सुनारले भने, ‘फोनमा झगडा भएको हो’


काठमाडौं। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले संसदीय सुनुवाइ समितिमा आफूमाथि परेको उजुरीबारे जवाफ दिएका छन्।

GBIME
Tata

पीडित महिलाले आफूमाथि यौन हिंसा गरेको भन्दै उजुरी दिएपछि सांसदहरुले सोधेका प्रश्नमा सुनारले १३ वर्षअघि आफू प्रेममा रहेको र महिला विदेश गएपछि फोनमा झगडा भएको स्वीकारेका छन्।

‘फोनमा झगडा भएको हो। मज्जासित भएको हो। त्यसलाई नै महिला हिंसा भनियो भने म सहुँला बुझुँला,’ उनले भने।

समितिका सदस्य मधु चौलागाइँले महिला हिंसाबारे जवामा मागेका थिए। अर्का सांसद वर्षमान पुनले सुनारलाई राजदूतमा नियुक्ति लिने दौडबाट पछि हट्न आग्रह गरे। ‘तपाइँमाथि यतिको कुरा आएपछि तपाइँ यो पद क्विट गर्न तयार हुनुस्,’ उनले भने।

सुनारले आफू महिला हिंसाविरुद्ध अभियान चलाएको तथा तालिम दिएको व्यक्ति भएको भन्दै महिला हिंसा नगरेको दाबी गरे।

समितिकी अर्की सदस्य पद्मा अर्यालले विवाह भएको व्यक्ति परस्त्रीसँग जोडिएको विषय नै अनैतिक भएको बताइन्। अर्यालले कडा शब्दमा आलोचना गरेपछि गिरीले प्रतिवाद गर्न खोजेका थिए। तर सभापति बोधनारायण श्रेष्ठले उनलाई बीचमै रोकेका थिए।

सांसदहरुले सुनारको कार्ययोजना भन्दा पनि उनीमाथि लागेको आरोप गम्भीर भएको भन्दै प्रश्न गरेका थिए। आफूमाथि सांसदहरुले एकपछि अर्को प्रश्न गरेपछि सुनारले आफूसँग जोडिएकी महिला विदेशमा रहेको र आफूविरुद्ध योजनाबद्धरुपमा लागेको बताए।

समितिले असोज २६ गते सुनारमाथिको महिला हिंसाको उजुरीबारे प्रहरीसँग विवरण मागेको थियो।