BIZMANDU
www.bizmandu.com

दसैंका लागि काठमाडौं भित्रिए च्याङ्ग्रा तथा खसीबोका, यस्तो छ खसीबजारमा चहलपहल

२०८३ असोज २८

दसैंका लागि काठमाडौं भित्रिए च्याङ्ग्रा तथा खसीबोका, यस्तो छ खसीबजारमा चहलपहल
दसैंका लागि काठमाडौं भित्रिए च्याङ्ग्रा तथा खसीबोका, यस्तो छ खसीबजारमा चहलपहल


काठमाडौं। दसैंतिहारका लागि काठमाडौं उपत्यकामा च्याङ्ग्रा तथा खसीबोका भित्रिन थालेका छन्।

GBIME
Tata

दसैंको मुख्य बजार मानिने कलंकी खसीबजारमा हिमाली भेगका च्याङ्ग्राका साथै विभिन्न जिल्लाबाट खसीबोका आइपुगेका छन्। थप आउने क्रम जारी छ।

कलंकीस्थित चौपाया खरिदबिक्री केन्द्रका अध्यक्ष जीवनराज खतिवडाका अनुसार दसैंलाई लक्षित गरी विभिन्न स्थानबाट च्याङ्ग्रा संकलन गरेर उपत्यका ल्याउन थालिएको हो। फुलपातीदेखि बजारमा च्याङ्ग्रा र खसीबोकाको बिक्री बढ्ने अपेक्षा गरिएको छ।

अहिले कलंकी खसीबजारमा खसीबोका पनि भित्रिने क्रम जारी छ। तर, बजारमा अझै ठूलो परिमाणमा खसीबोका आइपुगेका छैनन्।

हाल दैनिक करिब ४ सय वटा खसीबोका बजारमा भित्रिरहेको खतिवडाले बताए। फुलपाती आउन चार दिन बाँकी रहेकाले अहिले चौपाया खरिदबिक्रीमा ग्राहकको चहलपहल कम छ।

दसैं नजिकिँदै जाँदा बजारमा किनमेल गर्ने ग्राहकको संख्या बढ्ने व्यवसायीको अपेक्षा छ। फुलपातीदेखि दैनिक एक हजारभन्दा बढी चौपाया बजारमा भित्रिने खतिवडाको अनुमान छ।

खसीबजारमा यस वर्ष जिउँदो च्याङ्ग्राको मूल्य प्रति किलो १ हजार ३५० रुपैयाँसम्म कायम भएको छ। जिउँदो खसीबोकाको मूल्य भने प्रति किलो ८५० रुपैयाँ छ।

चौपाया खरिदबिक्री केन्द्रका अनुसार यस वर्ष दसैंका लागि काठमाडौं उपत्यकामा करिब ४० हजार खसीबोकाको माग छ। त्यसमध्ये कलंकी खसीबजारबाट मात्रै करिब २५ हजार खसीबोका खरिदबिक्री हुने अनुमान गरिएको छ।

दसैंमा मासुको खपत बढ्ने भएकाले बजारमा मागअनुसार चौपाया आपूर्ति गर्न व्यवसायी जुटेका छन्।

यसैबीच, सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्षदेखि दसैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न छाडेको छ। विगतमा कम्पनीले बजार मूल्यभन्दा सस्तोमा चौपाया बिक्री गर्दै आएको थियो।

कम्पनीले प्रति किलो १० रुपैयाँ छुट दिएर उपभोक्तालाई राहत उपलब्ध गराउने गरेको थियो। तर, कम्पनीले बिक्री बन्द गरेपछि यस वर्ष उपभोक्ताले निजी बजारकै मूल्यमा खसीबोका र च्याङ्ग्रा खरिद गर्नुपर्ने भएको छ।