काठमाडौं। असन र इन्द्रचोकका गल्लीमा सुनजस्तै टल्किने गहनाले झरिझुट्ट सजिएकी एक महिला ग्राहक बोलाइरहेकी हुन्छिन्। उनको शरीरमा झुन्डिएका गहना ग्राहकलाई पसलसम्म तान्ने माध्यम हुन्। तर, १८ वर्षदेखि यही गहना बेच्दै आएकी पार्वती ओली पराजुलीका लागि व्यापारको असली पुँजी गहनाको चमक होइन, ग्राहकको विश्वास हो।
काठमाडौंका दुई ठाउँमा पसल चलाएर परिवारको आर्थिक आधार बनाएकी पार्वती अहिले भने बजार सुस्ताएको अनुभव गरिरहेकी छन्। पहिले दिनमै लाखौँ रुपैयाँको कारोबार हुने गरेको सम्झने उनी अहिले पसलभाडा, कर्मचारी र दैनिक खर्च धान्नुलाई पनि व्यापार मान्नुपर्ने अवस्थामा पुगेकी छन्। ग्राहकलाई सामानको वास्तविकता नलुकाउने उनको व्यापारिक सिद्धान्त उही छ, तर बजार र उपभोक्ताको खर्च गर्ने मनस्थिति बदलिएको छ।
दसैंअघिको व्यस्त न्युरोड, इन्द्रचोकस्थित शुभम् शृंगारमा दिउँसो ग्राहकको चहलपहल बाक्लिँदै थियो। चार जना ग्राहकलाई एक्लै सामान देखाउँदै, गहनाको गुणस्तर बुझाउँदै र उनीहरूको रोजाइअनुसार सुझाव दिँदै थिइन् पार्वती। सहयोगी ढिलो आउने भएकाले त्यस दिन उनी आफैँ पसल सम्हालिरहेकी थिइन्।

‘मेरा प्रिय ग्राहकलाई खाली हात पठाउन नपरोस् भनेर सकेसम्म आफैं खट्छु,’ उनी भन्छिन्, ‘आफैं बसेर ग्राहकलाई गहनाबारे जानकारी दिँदै बेच्दा विश्वास पनि बढ्छ र उहाँहरूले खोजेको सामान पनि पाउनुहुन्छ। त्यसैले दुवै पसलमा पालैपालो आफैं बस्छु।’
असनमा हंश शृंगार र इन्द्रचोकमा शुभम् शृंगार उनका दुई पसल हुन्। सुनको जलप लगाइएका गहना, पञ्चधातु, ब्रास, पोते र विभिन्न मालाको व्यापार गर्दै आएकी पार्वती सामान देखाउनुअघि ग्राहकसँग सम्बन्ध जोड्छिन्। मिठो बोली, सहज व्यवहार र गहनाको वास्तविकताबारे स्पष्ट जानकारी दिने उनको शैलीले पुराना ग्राहकलाई फेरि उनकै पसलसम्म ल्याउने गरेको छ।
‘ढाँटेर छलेर व्यापार हुँदैन, जे हो त्यही भन्नुपर्छ,’ उनी भन्छिन्, ‘जलप लगाइएका गहनालाई खुइलिँदैन, वर्षौं टिक्छ भन्दै झुट बोल्नु हुँदैन। पानी परेपछि वा राम्रोसँग जोगाउन नसक्दा जलप खुइलिन सक्छ। त्यसैले लाइफटाइम ग्यारेन्टी भन्दै बेच्न म सक्दिनँ।’


सुनको भाउ अकासिदै जाँदा आर्थिक क्षमताअनुसार गहना लगाउन चाहनेका लागि अन्य धातुका गहना विकल्प बनेका छन्। चाडपर्व र विवाहजस्ता अवसरमा मात्रै नभई दैनिक प्रयोग तथा फेसनका लागि पनि यस्ता गहना किन्ने गरिएको पार्वतीको अनुभव छ। तर विकल्पको बजार रहे पनि उनको व्यापार पहिलेको अवस्थामा छैन।
‘पहिले बिहानदेखि रातिसम्म फुर्सद हुँदैनथ्यो। बोल्दाबोल्दै गलामा समस्या आयो, डाक्टरले भ्वाइस रेस्ट गर्न भने। तर नबोली व्यापार हुँदैन,’ उनी भन्छिन्।
पार्वतीको व्यापारिक यात्रा भने संयोगबाट सुरु भएको थियो। हेटौंडामा जन्मेकी उनी पढाइसँगै खेलकुद र वक्तृत्वकलामा सक्रिय थिइन्। काठमाडौंमा श्रीमान्-श्रीमती दुवै शिक्षक थिए। बहिनीले सुरु गरेको गहना पसल सञ्चालन गर्न समस्या भएपछि पार्वतीले त्यसको जिम्मेवारी लिइन्। त्यसपछि दुवैले जागिर छाडेर पूर्णकालीन रूपमा व्यापारमा लाग्ने निर्णय गरे। पसललाई नयाँ ढंगले सजाएर चलाउन थालेपछि व्यापार उनको जीवनको अभिन्न हिस्सा बन्यो।

सुरुका दिनमा साना छोराछोरीलाई माइतमा छाडेर पनि उनी पसल पुग्थिन्। श्रीमान् वा कर्मचारीभन्दा आफू पसलमा बस्दा ग्राहक बढी आउने गरेको उनको अनुभव छ। ग्राहकसँगको आत्मीय सम्बन्ध नै व्यापारको मुख्य पुँजी बन्यो।
व्यापारबाट उनले काठमाडौंमा घरजग्गा जोडिन् र छोराछोरीलाई उच्च शिक्षाको अवसर सहज बनाइन। छोरी अमेरिकामा स्नातकोत्तर अध्ययनरत छिन् भने छोराले स्नातक पूरा गरेका छन्। छोरालाई यही व्यवसायमा जोड्ने उनको योजना छ।
तर यही यात्रामा उनले गहिरो व्यक्तिगत पीडा पनि भोगिन्। कोभिड महामारीका क्रममा श्रीमान् गुमाएपछि आफू मानसिक र भावनात्मक रूपमा कमजोर बनेको उनी बताउँछिन्। ‘श्रीमान् गुमाएपछि म टुटेँ। अहिले विस्तारै सम्हालिएकी छु,’ उनी भन्छिन्।
श्रीमान् हुँदा र नहुँदा समाजले हेर्ने व्यवहारसमेत फरक भएको उनको अनुभव छ। यद्यपि उनले आफूलाई सम्हाल्दै व्यापारलाई निरन्तरता दिइन्।


अहिले एउटा पसल भाइ र कर्मचारीले हेर्छन् भने अर्कोमा उनी आफैं बस्छिन्। कारोबार कमजोर भएको महसुस हुँदा उनी ग्राहक सम्हाल्न कहिले असन त कहिले इन्द्रचोक पुग्छिन्।
उनका पसलमा बिक्री हुने गहना बैंकक, मुम्बई र दिल्लीबाट आउँछन्। डिजाइन छिटो परिवर्तन हुने भएकाले नयाँ सामान ल्याएर पसल अद्यावधिक गर्नुपर्ने दबाब पनि छ। सामाजिक सञ्जालमा हुने अतिरञ्जित प्रचारले ग्राहकलाई भ्रममा पार्ने गरेको उनको गुनासो छ।
‘अनलाइनमा जे देखाइएको हुन्छ, वास्तविक सामान त्यस्तै नहुन सक्छ। हामी पञ्चधातु हो भने पञ्चधातु र जलप हो भने जलप नै भन्छौँ,’ उनी भन्छिन्।

पार्वतीको बुझाइमा अहिले मानिससँग पैसा नै नभएको भन्दा पनि खर्च गर्ने मनस्थिति कमजोर भएको छ। भविष्यप्रतिको अनिश्चितताले उपभोक्तालाई खर्च गर्नुअघि सोच्न बाध्य बनाएको उनको बुझाइ छ। पहिले दिनमै लाखौँ रुपैयाँको कारोबार हुने गरेको सम्झने उनी अहिले भाडा, कर्मचारी र दैनिक खर्च धान्नुलाई नै उपलब्धि मान्छिन्। यद्यपि आफ्नो व्यापार कति घटेको छ भन्ने यकिन आँकडा उनीसँग छैन।
बजार सुस्ताए पनि पार्वतीको उत्साह घटेको छैन। कारोबारमा जाँगर युवावस्थाकै जस्तो रहेको उनी बताउँछिन्। ‘जति प्रगति गर्नुछ, हिजो गरियो। आजको व्यापार त टाइम पासजस्तै हो,’ उनको भनाइमा विगतको सन्तुष्टि र वर्तमानको यथार्थ दुवै झल्किन्छ।
बजार फेरिएको छ, ग्राहकको खर्च गर्ने शैली बदलिएको छ र व्यापारको प्रतिस्पर्धा पनि नयाँ भएको छ। तर उनको विश्वास छ – गहनाको चमक समयसँगै घट्न सक्छ, ग्राहकको विश्वास गुम्यो भने व्यापार टिकाउन गाह्रो हुन्छ।