BIZMANDU
www.bizmandu.com

‘गाडी बेच्नुभन्दा ठूलो चुनौती बिक्रीपछिको सेवा, जीडब्लूएमले स्पेयर पार्ट्स र सर्भिस अभाव हुन दिँदैन’

२०८३ असोज २८

‘गाडी बेच्नुभन्दा ठूलो चुनौती बिक्रीपछिको सेवा, जीडब्लूएमले स्पेयर पार्ट्स र सर्भिस अभाव हुन दिँदैन’
‘गाडी बेच्नुभन्दा ठूलो चुनौती बिक्रीपछिको सेवा, जीडब्लूएमले स्पेयर पार्ट्स र सर्भिस अभाव हुन दिँदैन’


नेपाली अटोमोबाइल बजारमा चिनियाँ ब्रान्डको उपस्थिति विस्तार भएसँगै मूल्य, रेन्ज, प्रविधि, फिचर र सुरक्षाका विषयमा प्रतिस्पर्धा ठूलो छ।

GBIME
Tata

तर, गाडी बिक्री गर्नु मात्रै पर्याप्त छैन। बिक्रीपछि ग्राहकलाई आवश्यक सेवा दिनु, स्पेयर पार्ट्स उपलब्ध गराउनु र दक्ष जनशक्ति तयार गर्नु अहिले अटोमोबाइल व्यापारका प्रमुख चुनौती बनेका छन्।

यही प्रतिस्पर्धाबीच ग्रेट वाल मोटर्स (जीडब्लूएम)ले नेपालमा एग्रेसिभ उपस्थिति देखाएको छ। कम्पनीले छोटो अवधिमै ओरा फाइभ र हाभल जोलियन म्याक्स इभी बजारमा ल्याएको छ।

साथै, डिलर नेटवर्क विस्तार, सर्भिस सेन्टरको पूर्वाधार निर्माण, स्पेयर पार्ट्सको मौज्दात र प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा काम गरिरहेको जनाएको छ। नेपाली बजारमा प्रतिस्पर्धा बढेपनि ब्रान्ड, प्रविधि, सुरक्षा र बिक्रीपछिको सेवामा बलियो उपस्थिति बनाएर दीर्घकालिन बजारमा ध्यान दिइरहेको छ।

ग्रेट वाल मोटर्स (जीडब्लुएम)को नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्सका महाप्रबन्धक अधिर कुमार श्रेष्ठलाई बिजमाण्डूका शुक्र गिरीले सोधे- नेपालमा चिनियाँ विद्युतीय गाडीका ब्रान्डबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ। यस्तो अवस्थामा जीडब्लूएमले नेपाली बजारमा आफ्नो बलियो स्थान बनाउन कस्तो दीर्घकालीन रणनीति बनाएको छ?

प्रतिस्पर्धा छ, तर अहिले ग्राहक पनि पहिलेभन्दा धेरै सचेत भइसकेका छन्। उनीहरू गाडी किन्नुअघि इन्टरनेटमा खोज्छन्, अध्ययन गर्छन् र विभिन्न ब्रान्डका उत्पादन तुलना गरेर निर्णय लिन्छन्। त्यसैले मूल्य मात्रै प्रतिस्पर्धाको आधार हुँदैन।

गाडी किन्दा मुख्यतः तीनवटा कुरा हेर्नुपर्छ। पहिलो, ब्रान्डको इतिहास, अन्तर्राष्ट्रिय उपस्थिति र प्रविधि। दोस्रो, गाडीको सुरक्षा। इभीको हकमा ब्याट्रीको प्रविधि र सुरक्षा। यसबाहेक तेस्रोमा नेपालमा उक्त ब्रान्डको आधिकारिक प्रतिनिधि को हो, डिलर नेटवर्क कस्तो छ र बिक्रीपछिको सेवा कति भरपर्दो छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

जीडब्लूएमसँग ४० वर्षभन्दा लामो इतिहास र १७० भन्दा बढी देशमा उपस्थिति छ। नेपालमा पनि हामीले छोटो अवधिमै दुईवटा इभी मोडल बजारमा ल्याएका छौं। दुवै गाडीमा आधुनिक प्रविधि, फिचर र सुरक्षालाई प्राथमिकता दिएका छौं।

हाम्रो प्रतिस्पर्धात्मक आधार भनेको ब्रान्ड, प्रविधि, सुरक्षा, आकर्षक डिजाइन, मूल्य र बिक्रीपछिको सेवाको संयोजन हो। मूल्य घटाएर मात्रै बजारमा टिक्नेभन्दा ग्राहकले लामो समयसम्म विश्वास गर्न सक्ने ब्रान्ड बनाउने हाम्रो उद्देश्य हो।

नेपालमा इभी बिक्री बढेसँगै स्पेयर पार्ट्स अभाव र महँगो मूल्यको गुनासो पनि सुनिन्छ। जीडब्लूएमले नेपाली ग्राहकलाई सहज सेवा, समयमै स्पेयर पार्ट्स र उचित मर्मत खर्चको सुनिश्चितता कसरी गर्छ?

यो अहिलेको बजारको महत्त्वपूर्ण चुनौती हो। गाडी बिक्री भएपछि स्पेयर पार्ट्स नपाएर ग्राहकले लामो समय कुर्नुपर्ने अवस्था आउनु हुँदैन। विशेषगरी नेपालमा चिनियाँ नाकामा समस्या हुँदा गाडी र पार्ट्सको आपूर्ति प्रभावित हुन सक्छ।

यो विषयलाई ध्यानमा राखेर हामीले गाडी बजारमा ल्याउनुअघि नै आवश्यक स्पेयर पार्ट्सको अर्डर गरेका थियौ। हाभल जोलियन म्याक्स इभी बजारमा ल्याउनुअघि नै प्रारम्भिक मौज्दात तयार गरेका थियौ। ओरा फाइभका लागि पनि आवश्यक पार्ट्सको अर्डर गरेर मौज्दात व्यवस्थापन गरेका छौं।

हामीले बिक्रीको लक्ष्य र बजारमा जाने गाडीको संख्यालाई आधार बनाएर पार्ट्सको माग अनुमान गर्छौ। त्यसअनुसार पहिले नै अर्डर गर्ने र पर्याप्त स्टक राख्ने हाम्रो रणनीति छ। सामान्य आपूर्ति प्रक्रियामा समस्या आएमा हवाई मार्गबाट समेत पार्ट्स ल्याउने विकल्प राखेका छौ।

हाम्रो उद्देश्य ग्राहकलाई आवश्यक पार्ट्स उपलब्ध गराउन नसक्ने अवस्था आउन नदिनु हो। आपूर्तिमा चुनौती आउन सक्ने भएपनि त्यसको असर ग्राहकमा कम पार्न हामीले पूर्वतयारी गरेका छौं।

स्पेयर पार्ट्सको मूल्य ग्राहकका लागि महत्त्वपूर्ण विषय हो। कतिपय अवस्थामा विभिन्न ब्रान्डका पार्ट्सको मूल्यमा ठूलो अन्तर देखिन्छ। हामीले पनि बजारमा उपलब्ध अन्य गाडीका पार्ट्ससँग तुलना गरेर मूल्यको अध्ययन गरिरहेका छौं।

पार्ट्सको मूल्य बढी भएको विषयमा उत्पादक कम्पनीलाई जानकारी गराएका छौं। कुन पार्ट्सको मूल्य कति छ र प्रतिस्पर्धी ब्रान्डको तुलनामा कस्तो छ भन्ने विवरण प्रस्तुत गरेर मूल्यलाई उचित बनाउन आग्रह गरिरहेका छौ। यसमा उत्पादक कम्पनीबाट पनि सहयोग पाइरहेका छौ।

हाम्रो उद्देश्य ग्राहकलाई उचित मूल्यमा वास्तविक स्पेयर पार्ट्स उपलब्ध गराउनु हो। व्यवसायको निरन्तरता कायम राख्दै ग्राहकको विश्वास बढाउनु हाम्रो प्राथमिकता हो। त्यसैले मूल्य र उपलब्धता दुवैमा ध्यान दिएका छौ।

जीडब्लूएमको बिक्रीपछिको सेवा र सर्भिस नेटवर्कलाई कसरी विस्तार गरिरहनुभएको छ?

गाडी एकपटक बिक्री हुन्छ, तर ग्राहकले वर्षौंसम्म प्रयोग गर्छन्। त्यस अवधिमा नियमित मर्मत सम्भारदेखि ठूला प्राविधिक समस्या पनि आउन सक्छन्। त्यस्तो अवस्थामा ग्राहकलाई तत्काल सेवा दिन सक्ने व्यवस्था हुनु आवश्यक छ।

हामीले काठमाडौंको शंखमुलस्थित युएन पार्कनजिक पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा व्यवस्थित सर्भिस सेन्टर निर्माण गरेका छौं। त्यहाँ आवश्यक आधुनिक उपकरण, प्राविधिक सुविधा र तालिमप्राप्त जनशक्ति छन्। प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि चीनमा रहेको कम्पनीसँग नियमित तालिम र समीक्षा पनि भइरहेको छ। आवश्यकताअनुसार नेपाली प्राविधिकलाई चीनमै लगेर तालिम दिने व्यवस्था गरेका छौ।

काठमाडौं बाहिर पनि प्रमुख सहरहरूमा नेटवर्क विस्तार गरिरहेका छौ। हाम्रो योजना बिक्री मात्रै गर्ने डिलर बनाउने होइन, सर्भिस सुविधा पनि उपलब्ध गराउन सक्ने नेटवर्क तयार गर्ने हो। त्यसैले डिलर छनोट गर्दा बिक्री, सर्भिस र आवश्यक पूर्वाधारलाई ध्यान दिएका छौं।

अहिले हाम्रो नेटवर्क करिब १० स्थानमा पुगेको छ। आगामी दिनमा प्रमुख १५ सहरमा उपस्थिति विस्तार गर्ने योजना छ। ग्राहकले देशका विभिन्न भागमा गाडी चलाउँदा आवश्यक सेवा पाउन सकुन् भन्ने हाम्रो उद्देश्य हो।

नयाँ प्रविधिका इभी मर्मत गर्न स्थानीय प्राविधिकको क्षमता पर्याप्त छ?

इभीको प्रविधि निरन्तर परिवर्तन भइरहेको छ। त्यसअनुसार प्राविधिक जनशक्तिलाई पनि निरन्तर प्रशिक्षित गर्नुपर्छ। हामीले यसलाई महत्त्वपूर्ण पक्षका रुपमा लिएका छौ।

हाम्रो प्राविधिक टोलीका लागि साप्ताहिक रुपमा तालिम तथा प्राविधिक समीक्षा गर्ने व्यवस्था छ। आवश्यकताअनुसार मासिक समीक्षा पनि हुन्छ।

जटिल समस्या देखिएमा चीनस्थित कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरेर समाधान खोज्न सक्छौं। कतिपय अवस्थामा कम्पनीबाट विशेषज्ञ प्राविधिकको सहयोगसमेत लिने गरेका छौं।

स्थानीय प्राविधिकले समाधान गर्न सक्ने समस्या नेपालमै समाधान गर्ने र जटिल समस्या आएमा अनलाइनमार्फत चिनियाँ प्राविधिकसँग समन्वय गर्ने व्यवस्था छ। आवश्यक परे प्राविधिकलाई चीनमा तालिमका लागि पठाउने गरेका छौं।

यसरी स्थानीय जनशक्तिको क्षमता बढाउँदै ग्राहकलाई छिटो र प्रभावकारी सेवा दिने हाम्रो योजना हो।

जीडब्लूएमले विश्वका विभिन्न देशमा आफ्नो बजार विस्तार गरिरहेको छ। कम्पनीको विश्वव्यापी विस्तार रणनीतिमा नेपालको स्थान कस्तो छ?

नेपाल जीडब्लूएमका लागि रणनीतिक रुपमा महत्त्वपूर्ण बजार हो। विशेषगरी इभीको सन्दर्भमा नेपालले विश्वकै ध्यान आकर्षित गरेको छ। यहाँ इभीप्रति ग्राहकको आकर्षण र बजारमा विद्युतीय गाडीको हिस्सा तीव्र रुपमा बढेको छ।

नेपालमा जलविद्युत् उत्पादन र विद्युत् आपूर्तिको उपलब्धता, पेट्रोलियम इन्धनको तुलनामा इभीको सञ्चालन खर्च कम हुनु तथा आधुनिक फिचर भएका गाडीको आकर्षणले बजार विस्तारमा सहयोग गरेको छ।

हामीले यसअघि नेपालमा मुख्यतः प्रिमियम सेग्मेन्टका आइसी इन्जिन भएका गाडी बिक्री गर्दै आएका थियौँ। तर पछिल्ला वर्षमा बजार इभीतर्फ तीव्र रुपमा सरेको छ। यही परिवर्तनलाई ध्यानमा राखेर हामीले छोटो अवधिमै ओरा फाइभ र हाभल जोलियन म्याक्स इभी बजारमा ल्याएका हौं।

जीडब्लूएमले नेपालमा इभी उत्पादनको बजार सम्भावना देखेकै कारण लगानी र उत्पादन विस्तारको रणनीति अघि बढाएको हो। आगामी दिनमा पनि नेपाली ग्राहकको मागअनुसार उत्पादन ल्याउँदै बजारमा आफ्नो उपस्थिति बलियो बनाउने योजना छ।

नेपाली बजारमा चिनियाँ गाडी उत्पादकबीच मूल्य, प्रविधि र रेन्जमा तीव्र प्रतिस्पर्धा छ। यस्तो अवस्थामा मूल्यमा प्रतिस्पर्धा गर्नुभन्दा बाहिर जीडब्लूएमलाई अरू ब्रान्डभन्दा फरक बनाउने आधार के हो?

हाम्रो लक्ष्य फरक रुचि र आवश्यकता भएका ग्राहकलाई फरक उत्पादन उपलब्ध गराउनु हो।

हाभल जोलियन म्याक्स इभीको डिजाइन परम्परागत कम्प्याक्ट एसयूभीभन्दा फरक छ। यसको एसयूभी स्वरुप, आकर्षक बाहिरी बनावट, पर्याप्त भित्री स्पेस र आधुनिक फिचरले ग्राहकलाई आकर्षित गरेको छ। यसमा ठूलो टचस्क्रिन, डिस्प्ले, सनरुफ, भ्वाइस कमान्ड तथा विभिन्न सुरक्षा सुविधा उपलब्ध छन्।

यसको प्रारम्भिक मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ निर्धारण गरेका छौं। हामीले यसलाई करिब ६० लाख रुपैयाँको सेगमेन्टमा प्रतिस्पर्धी उत्पादनका रुपमा प्रस्तुत गरेका छौं।

अर्कोतर्फ, ओरा फाइभको डिजाइन र शैली फरक छ। यसको स्पोर्टी लुक र फरक डिजाइनले विशेषगरी नयाँ पुस्ताका ग्राहकलाई आकर्षित गर्ने हाम्रो अपेक्षा छ। यसले परम्परागत एसयूभीभन्दा फरक डिजाइन खोज्ने ग्राहकलाई विकल्प दिएको छ।

यी दुई उत्पादनको डिजाइन, लक्षित ग्राहक र विशेषता अरु ब्रान्डको भन्दा फरक छन्। त्यसैले एउटै बजारमा सबैलाई एउटै प्रकारको गाडी दिनुभन्दा फरक आवश्यकता भएका ग्राहकका लागि उपयुक्त विकल्प तयार गर्ने हाम्रो रणनीति हो।

जीडब्लूएमले विश्व बजारमा विद्युतीय र हाइब्रिड दुवै प्रकारका गाडी बिक्री गर्दै आएको छ। नेपालको कमजोर चार्जिङ पूर्वाधार र ग्राहकको बदलिँदो रोजाइलाई हेर्दा कम्पनीले कुन प्रविधिलाई बढी प्राथमिकता दिनेछ?

जीडब्लूएमको बलियो पक्ष भनेको विभिन्न प्रविधि र सेग्मेन्टमा उत्पादन उपलब्ध हुनु हो। कम्पनीसँग आईसीई, इभी, प्लग-इन हाइब्रिड (पीएचइभी) र हाइब्रिड प्रविधिमा आधारित गाडी छन्।

नेपालमा इभीको सम्भावना राम्रो भए पनि सबै स्थानमा चार्जिङ सुविधा समान रुपमा उपलब्ध भइसकेको छैन। लामो दूरी यात्रा गर्ने वा चार्जिङ सुविधा सीमित भएका क्षेत्रमा गाडी चलाउने ग्राहकका लागि हाइब्रिड र प्लग-इन हाइब्रिड पनि उपयोगी विकल्प हुन सक्छन्।

हामी हाभल एच सेभेनजस्ता हाइब्रिड उत्पादन नेपालमा ल्याउने योजनामा छौ। ट्याङ्क र वेजस्ता अन्य सेग्मेन्टका उत्पादन तथा पिकअप गाडी ल्याउने सम्भावनामा पनि काम गरिरहेका छौ।

तर हाइब्रिड र प्लग-इन हाइब्रिडको मूल्य निर्धारणमा सरकारी कर संरचनाको प्रभाव पर्छ। यस्ता गाडीलाई प्रोत्साहन गर्ने खालको नीतिगत व्यवस्था भएमा नेपाली बजारमा यसको सम्भावना अझ बढ्न सक्छ।

आगामी वर्षहरुमा नेपाली बजारमा बिक्री विस्तार, नयाँ मोडल सार्वजनिक गर्ने र डिलर नेटवर्क बढाउने विषयमा जीडब्लूएमको ठोस योजना के छ?

हामीले उत्पादनको दायरा विस्तारलाई प्राथमिकता दिएका छौ। इभीमा प्रवेशस्तरको उत्पादन ल्याउने योजना छ। ओरा फाइभ र हाभल जोलियन म्याक्स इभीसँगै थप प्रिमियम सेग्मेन्टका उत्पादन पनि ल्याउने तयारी छ।

हाभल एच सेभेनजस्ता हाइब्रिड गाडी, ट्याङ्क र वेजस्ता उत्पादन तथा पिकअप सेग्मेन्टमा पनि सम्भावना खोजिरहेका छौ। ग्राहकको माग र बजारको आवश्यकताअनुसार जीडब्लुएमको अन्तर्राष्ट्रिय उत्पादन पोर्टफोलियोबाट उपयुक्त मोडल नेपालमा ल्याउने योजना छ।

साथै, प्रमुख सहरहरूमा डिलर तथा सर्भिस नेटवर्क विस्तार गर्दै जानेछौ। ग्राहकलाई गाडीको वास्तविक अनुभव दिन टेस्ट ड्राइभ, अन्तरक्रिया र विभिन्न बजार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने योजना छ।

सर्भिसका हकमा नियमित विन्टर, समर र त्रैमासिक सर्भिस क्याम्प सञ्चालन गर्ने तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने योजना छ।

हाम्रो उद्देश्य गाडी बिक्रीको संख्या बढाउनु मात्रै होइन, ग्राहकले गाडी किनेपछि पनि भरपर्दो सेवा पाउने वातावरण तयार गर्नु हो। दीर्घकालीन रुपमा ग्राहकको विश्वास र सन्तुष्टिलाई केन्द्रमा राखेर बजार विस्तार गर्नेछौ।