काठमाडौं। नेपाली क्रिकेट टोलीले ओमनलाई ११३ रनको फराकिलो अन्तरले हराएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो अन्तिम सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको हो।
ओमनस्थित अलअमेरत स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमन १० ओभर बाँकी छँदा १५० रनमा अलआउट भयो।
जवाफी ब्याटिङमा उत्रिएको ओमनका कप्तान विनायक शुक्लाले ७७ रनको इनिङ्स खेल्दै स्कोर अघि बढाउन खोजे पनि नेपाली बलरले अर्को एण्डमा ब्याटरलाई टिक्नै दिएनन्। त्यसबाहेक जय ओडेराले २५ तथा जतिन्दर सिंहले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाएनन्। घातक बलिङ गर्ने क्रममा नेपालका नन्दन यादव र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो।
नेपाललाई राम्रो स्कोरसम्म डोहोर्याउन रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले। अघिल्लो खेलमा क्यानडाविरुद्ध शतक बनाएका उनले मंगलबार ओमनविरुद्ध ६७ बलमा ३ चौका र १ छक्काको सहायतामा ६१ रन बनाए।
तल्लो क्रममा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा १ चौका र ४ छक्काको सहायतामा ४० रन बनाए। त्यसअघि ओपनर अर्जुन कुमालले पनि ४० रनको योगदान दिए। नेपालको इनिङ्स उकास्न संयमित ब्याटिङ गरेका बसीर अहमद र इशान पाण्डेले समान ३७ रन बनाए। आशिफ शेख फेरि पनि फ्लप हुँदा मध्यक्रममा अवसर पाएका सन्दीप जोराले पनि आफूलाई प्रमाणित गर्न सकेनन्।
बलिङतर्फ साह फैसल, सकिल अहमद र करण सोनाभालेले समान २ तथा हसनयन शाहले १ विकेट लिए।
योसँगै सिरिजमा लगातार दोस्रो जित निकालेको नेपालले सातौँ स्थानको क्यानडासँग अंक दुरी बढाएको छ। नेपालको २८ अंक छ भने क्यानडाको २५ अंक छ। नेपाल भन्दा अघि रहेको नामिबियासँग ३१ अंक छ। ओमन भने ३३ अंकसहित चौथो स्थानमा छ। नेपाल बाँकी दुई खेलमा जित निकाल्न सके ३२ अंक हात पार्दै पाँचौँ स्थानमा पुग्न सक्छ। तर, नामिबियाले पनि एक खेल खेल्न बाँकी छ।
अब नेपालले शनिबार क्यानडासँग खेल्नेछ।