काठमाडौं। ऋण असुली अपेक्षाजनक रुपमा सुधार हुन नसके पनि लागत घटेका कारण बैंकहरुको नाफा बढेको छ।
चालु आर्थिक वर्ष दुई महिनामा वाणिज्य बैंकहरुको नाफा ७.३२ प्रतिशतले बढेको हो। बैंकहरुले दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका छन्। पोहोर सोही अवधिमा यस्तो नाफा १६ अर्ब ५९ करोड रुपैयाँ थियो।
१३ वटा बैंकले नाफा बढाएका छन्। ७ बैंकको नाफा भने संकुचित भएको छ। हिमालयन बैंकको नाफा सबैभन्दा धेरै ५५.१३ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, सानिमा बैंकको ४२.१५ प्रतिशत र नबिल बैंकको ३५.८३ प्रतिशतले वृद्धि भएको छ।
दुई महिनामा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक छ। नबिलले २ महिनामा १ अर्ब ८० करोड नाफा गरेको छ। ग्लोबल आइएमईले १ अर्ब ६९ करोड, प्राइम कमर्सियलले १ अर्ब १४ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्।
सिटिजन्स बैंकको नापा सबैभन्दा धेरै १४.९९ प्रतिशतले नाफा घटेको छ। त्यसैगरी, नेपाल बैंकको १२.४५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत, लक्ष्मी सनराइजको ८.३६ प्रतिशत, कृषि विकास बैंकको ६.३३ प्रतिशत, कुमारीको ४.०१ प्रतिशत र सिद्धार्थ बैंकको नाफा ०.९९ प्रतिशतले खुम्चिएको छ।
असुली ठिक ठाक भए पनि कष्ट अफ फण्ड घटेका कारण नाफा बढेको बैंकरहरु बताउँछन्। ‘व्यवसाय सुस्त छ। ऋण असुली अपेक्षाजनक छैन। गत वर्षको तुलनामा भने झिनो सुधार भएको छ,’ एनआइसी एसिया बैंकका सीइओ सुजित शाक्यले भने, ‘लागत घटेका कारण केही राहत भएको छ।’
चालु आर्थिक वर्ष वाणिज्य बैंकहरुले सवा एक खर्ब रुपैयाँ लगानी बढाएका छन्। अघिल्लो वर्षको तुलनामा कर्जा लगानी न्यून हो।
निक्षेपको ब्याजदरले निरन्तर घटेका कारण बैंकहरुको कष्ट अफ फण्ड अहिले ३.३६ प्रतिशत झरेको छ। कष्ट अफ फण्ड घट्नुका साथै राष्ट्र बैंकले शाखा घटाउन दिएका कारण पनि बैंकहरुलाई राहत पुगेको हो।
राष्ट्र बैंकले बैंकहरुलाई महानगरपालिकाभित्रका शाखा बन्द गराउन स्वीकृति नै नचाहिने बनाएको छ भने उपमहानगर र नगरपालिका क्षेत्रका शाखा बन्द गर्न समेत लचकता अपनाएको छ।
| वाणिज्य बैंक | २०८३/८४ साउन-भदौको नाफा (रु दश लाखमा) | २०८२/८३ साउन-भदौको नाफा (रु दश लाखमा) | फरक (प्रतिशत) |
| नेपाल | ७३७.९ | ८४२.८२ | -१२.४५ |
| राष्ट्रिय वाणिज्य | १,११०.०९ | ८८५.८५ | २५.३१ |
| नबिल | १,८०२.६९ | १,३२७.१४ | ३५.८३ |
| नेपाल इन्भेष्टमेन्ट | १,२७५.८७ | १,२६४.४० | ०.९१ |
| स्टान्डर्ड चार्टर्ड | ४७९.०१ | ५३२.२२ | -१० |
| हिमालयन | ५७५.१६ | ३७०.७५ | ५५.१३ |
| नेपाल एसबिआई | ४१५.९८ | ३५४.५६ | १७.३२ |
| एभरेष्ट | ९८४.७३ | ९१२.८३ | ७.८८ |
| एनआइसी | ४९९.०८ | ४९५.१९ | ०.७९ |
| माछापुच्छ्रे | ५२१.३४ | ४८१.९५ | ८.१७ |
| कुमारी | १,०१४.४४ | १,०५६.८० | -४.०१ |
| लक्ष्मी सनराइज | ८९२.६७ | ९७४.१२ | -८.३६ |
| सिद्धार्थ | ८४०.५८ | ८४९.०१ | -०.९९ |
| कृषि | ५५२.५४ | ५८९.८७ | -६.३३ |
| ग्लोबल आइएमई | १,६९४.५० | १,६२८.२६ | ४.०७ |
| सिटिजन्स | ४७४.०५ | ५५७.६३ | -१४.९९ |
| प्राइम | १,१४०.८६ | १,०४६.७२ | ८.९९ |
| एनएमबि | १,०३२.३४ | १,०३०.९९ | ०.१३ |
| प्रभु | ७४४.५२ | ६७६.०२ | १०.१३ |
| सानिमा | १,०२५.६८ | ७२१.५५ | ४२.१५ |
| कूल | १७८१४.०३ | १६५९८.६८ | ७.३२ |