काठमाडौं। नेपाली क्रिकेट टोलीले ओमनसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमनस्थित अल अमेरत स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो अन्तिम सिरिजको दोस्रो खेलमा नेपाललाई राम्रो स्कोरसम्म डोहोर्याउन रोहितकुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले। अघिल्लो खेलमा क्यानडाविरुद्ध शतक बनाएका उनले मंगलबार ओमनविरुद्ध ६७ बलमा ३ चौका र १ छक्काको सहायतामा ६१ रन बनाए।
तल्लो क्रममा आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा १ चौका र ४ छक्काको सहायतामा ४० रन बनाए। त्यसअघि ओपनर अर्जुन कुमालले पनि ४० रनको योगदान दिए। नेपालको इनिङ्स उकास्न संयमित ब्याटिङ गरेका बसीर अहमद र इशान पाण्डेले समान ३७ रन बनाए। आशिफ शेख फेरि पनि फ्लप हुँदा मध्यक्रममा अवसर पाएका सन्दीप जोराले पनि आफूलाई प्रमाणित गर्न सकेनन्।
बलिङतर्फ साह फैसल, सकिल अहमद र करण सोनाभालेले समान २ तथा हसनयन शाहले १ विकेट लिए। ओमन केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।