BIZMANDU
www.bizmandu.com

१० वटा तन्नाबाट सुरु भएको ‘अन्तरा’, रेजिशाले बनाउँदै गरेको नेपाली ब्रान्ड

२०८३ असोज २७

१० वटा तन्नाबाट सुरु भएको ‘अन्तरा’, रेजिशाले बनाउँदै गरेको नेपाली ब्रान्ड
१० वटा तन्नाबाट सुरु भएको ‘अन्तरा’, रेजिशाले बनाउँदै गरेको नेपाली ब्रान्ड


काठमाडौं। बुबाले घरको कम्प्युटरबाट घरजग्गाको काम गरिरहँदा रेजिशा श्रेष्ठले सानै उमेरमा लक्ष्य बनाइन् – कम्प्युटरबाट बिजनेस गर्ने। बुबाको कुर्सीअघि उभिएर कम्युटर नियाल्दै गर्दा आफूले लिएको त्यही लक्ष्य उमेर बढेसँगै सपनामा मात्रै केन्द्रित गर्ने उनको रहर थिएन। त्यसैले अहिले २९ वर्षको उमेरमा त्यही कम्युटर र अनलाइनबाट ‘बिजनेस’ गर्दै आफ्नै ब्रान्ड बनाउँदैछिन् उनी।

GBIME
Tata

काठमाडौंको सानेपास्थित खरिबोटमा छ रेजिशाको ‘अन्तरा नेपाल।’ दसैंको माहोलबीच शोरुममा ग्राहकको चहलपहल बढ्दो छ, अनलाइन अर्डर पनि उत्तिकै।

सानैदेखि व्यवसायी बन्ने इच्छा बोकेकी उनले ३ वर्षअघि १० वटा कटनका तन्ना किनेर अनलाइनमा बिक्री गरेकी थिइन्। ठूलो लगानी न आफ्नै कारखाना, न त स्थापित ब्रान्डको पहिचान नै। तैपनि आफूमाथिको विश्वास र नेपाली उत्पादनबाटै केही गर्न सकिन्छ भन्ने दृढताले अहिले उनी आफ्नै व्यवसायमा फड्को मार्दैछिन्।

आज ‘अन्तरा नेपाल’ले दिनमै सयौं तन्नाको अर्डर लिन्छ। रेजिशाको ‘अन्तरा’ यात्रा बिक्री बढेको कथा मात्रै होइन। यो नेपाली उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्ने प्रयास, ग्राहकको विश्वास जित्ने संघर्ष र बजारमा एउटी युवतीले भोगेको अविश्वासलाई प्रमाण र गुणस्तरमार्फत बदल्ने कथा पनि हो।

काठमाडौंमै जन्मे/हुर्केकी रेजिशालाई आफू नै कथा बन्न त्यति सहज भने थिएन। घरजग्गा व्यवसायी बुवा र गृहिणी आमाकी जेठी छोरी उनी पढाइमा अब्बल र अनुशासित। स्कुलमा पनि प्रायः कक्षाको क्लास लिडर हुन्थिन्। समूहको नेतृत्व गर्न र लिडर बन्न उनलाई रुचि थियो।

तर, परिवारको चाहना भने अलि फरक थियो। बुवाआमा छोरीले मास्टर्स पढोस् र राम्रो जागिर गरोस् भन्ने चाहन्थे। बीबीएस सकेपछि बुवाआमाले एमबीएस पढ्न आग्रह गर्दा उनले भनिन्, ‘मास्टर्स पढ्ने पैसा मलाई दिनुस् म व्यवसाय सुरु गर्छु।’

छोरीको निर्णयले बुवाआमा केही डराए पनि उनको आत्मविश्वासलाई साथ दिए। त्यहीँबाट सुरु भयो रेजिशाको व्यावसायिक यात्रा।

महामारीमा खोजेको नयाँ बाटो

कोभिड-१९ महामारीका कारण देश ठप्प थियो। धेरैका लागि त्यो समय अन्योल र अनिश्चितताको थियो। रेजिशाका लागि भने नयाँ सम्भावना खोज्ने समय बन्यो।

उनले नयाँ व्यवसायका सम्भावनाबारे अध्ययन र अनुसन्धान गर्न थालिन्। विशेषगरी नेपाली उत्पादनमा उनको रुचि थियो। बजारमा केको माग छ, नेपालमै के उत्पादन गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्‍याउन सकिन्छ भन्ने विषयमा उनले अध्ययन गरिन्।

भन्छिन्, ‘कोभिड-१९मा नयाँ व्यवसाय के गर्ने भनेर रिसर्च गरे, विभिन्न बिजनेससँग रिलेटेड बुकहरु पढें । मलाई भने नेपाली उत्पादनमा रुचि थियो त्यसका लागि कुन व्यवसाय ठिक होला भनेर खोजी गरेँ, अध्ययन गरेँ सँगसँगै मार्केटिङको आइडिया पनि लिएँ।’

रेजिशा बुक लभर हुन्। खाली समय उनी यत्तिकै खेर फाल्दिनन्। व्यवसाय र मोटिभेसनसम्बन्धी किताब पढ्ने, बजारको माग बुझ्ने र सम्भावित उत्पादनबारे अध्ययन गर्ने क्रम जारी रह्यो। त्यही क्रममा उनले बालबालिकाका कपडा र ब्याग बिक्री गर्ने उद्देश्यले ‘किड्स ट्री’ सुरु गरिन्। चीनबाट सामान ल्याएर बिक्री गर्न थालिन्। व्यवसाय चलिरहेको थियो, तर उनको मन भने त्यसमा अडिएन।

‘मलाई किड्स क्लोदिङले मात्रै पुगेको थिएन। चाइनाबाट सामान मगाएर बेच्दा केही नपुगेको जस्तो कमी महसुस भयो। नेपाली उत्पादन कहाँ कसरी हुन्छ भनेर विभिन्न ठाउँका गार्मेन्ट, अनि अरु फ्याक्ट्रीहरु भिजिट गरेँ,’ उनी भन्छिन्।

तन्नामा देखेको सम्भावना

नेपाली उत्पादनको खोजीमा रेजिशा विभिन्न गार्मेन्ट र टेक्सटाइल इन्डष्ट्री पुगिन्। ललितपुरको ठैबस्थित एउटा टेक्सटाइल इन्डष्ट्रीमा पुग्दा ठूलो परिमाणमा कपडा उत्पादन भइरहेको देखिन्। उनको नजर कटनको तन्नामा पुग्यो।

नेपालमै यति ठूलो परिमाणमा कपडा उत्पादन भइरहेको देख्दा उनी प्रभावित भइन्। परिवार र आफन्तबाट कटनका तन्ना स्वस्थकर हुन्छन भन्ने सुन्दै आएकी रेजिशाले त्यही उत्पादनलाई ब्रान्डिङ गर्ने सम्भावना देखिन्। सम्भावना देख्नु र बजारमा त्यसलाई स्थापित गर्नु एउटै कुरा थिएन।

बजारमा विदेशी तन्नाको दबदबा थियो। आकर्षक डिजाइन, विभिन्न रङ र तुलनात्मक रूपमा सस्ता विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सानो लगानी चुनौतीपूर्ण थियो।

त्यसैले उनले जोखिम घटाउने बाटो रोजिन्। पहिलोपटक ‘अन्तरा नेपाल’मार्फत १० वटा तन्ना किनिन् १० हजारमा र अनलाइनमा बिक्रीका लागि राखिन्। केही ग्राहकले आफूले पहिले प्रयोग गरेजस्तै भएको भन्दै अर्डर गरे। त्यसपछि रेजिशाको दिनचर्या बदलियो।

उनी हरेक हप्ता कारखाना पुग्थिन्, १०-१० वटा तन्ना ल्याउँथिन र अनलाइनमा बेच्थिन्। चार–पाँच महिनासम्म यही क्रम चल्यो।

ठैबको टेक्सटाइल इन्डष्ट्रीसँग उनले १०० प्रतिशत कटनको तन्ना उत्पादन गर्न आग्रह गरिन्। माग विस्तारै बढ्न थालेपछि उनले एकसाथ एक हजार पिस तन्ना ल्याइन्। अर्डर त आउँथ्यो तर व्यवसायले अपेक्षित गति लिन सकेको थिएन।

सुरुमा दुई रङ र डिजाइनमा मात्रै तन्ना बन्थे। उद्योगमा आफ्नो डिजाइन र रंगमा बनाउँदा एउटा डिजाइनको कम्तीमा पाँचदेखि ६०० पिस लिनुपर्ने अवस्था थियो। रेजिशाले चार लाख खर्च गरेर किड्स ट्री र अन्तराको शोरुम खोलिन्। दुई जना कर्मचारी राखेर बिक्री त थालिन्, तर खर्च धान्न कठिन हुँदै गयो।

ग्राहकको माग पनि बदलिँदै थिए। नयाँ डिजाइन र थप रङको माग हुन थालेपछि उनले केही थप डिजाइन र कलर उत्पादन गरी बिक्रीमा राखिन्।

बजारको अविश्वाससँगको संघर्ष

एकातिर नेपाली उत्पादनलाई बजारमा विस्तार गर्नु चुनौती थियो भने नयाँ व्यवसायप्रति ग्राहकको विश्वास जित्नु अर्को चुनौती। रेजिशाले बजारमा आफूले भोगेको व्यवहारलाई पनि चुनौतीकै रूपमा लिइन्।

रेजिशा सम्झिन्छिन्, ‘केटी मान्छेलाई विश्वास नगर्ने परिपाटी नेपाली बजारमा रहेछ। अलि फरक तरिकाले व्यवहार गर्न खोज्ने, प्रोत्साहन नगर्ने देख्दा दुःख लाग्थ्यो। होस् अब यो छाडेर विदेश जान्छु जस्तो पनि हुन्थ्यो। फेरि त्यही निराशाबाट अलि आशा पनि पलाउँथ्यो, अनि आफैंलाई मोटिभेट गर्दै व्यवसायलाई अगाडी बढाउने आँट पनि आउँथ्यो।’

साथीहरू विदेश गएर पढेको, काम गरेको र आर्थिक रूपमा प्रगति गरेको देख्दा उनलाई पनि विदेश जाने रहर नलागेको होइन। तर स्वदेशमै केही गर्ने निर्णयबाट पछि नहट्ने अठोटले उनलाई रोकिरह्यो।

भन्छिन्, ‘विदेश जानेहरु फाइनान्सियल रुपमा त राम्रो प्रगति गरेको देखिन्छन्, घर गाडी जग्गा जोडेका छन् तर परिवारको माया, घरको न्यायोपन, यहाँको वातावरण विदेशमा कहाँ पाउनु ! कताकता उनीहरु घरबाट टाढा हुँदा खुसी हुन नसकेको देखेर मलाई विदेश जाने रुचि हरायो।’

एउटा भिडियोले बदलिएको बजार

अनलाइनमा फोटो र भिडियो राखेर बिक्री गरिरहेकी रेजिशाको व्यवसायले अपेक्षित गति लिन सकिरहेको थिएन। ग्राहकको मनोविज्ञान बुझ्दै जाँदा उनले एउटा कुरा महसुस गरिन्, सामान किन्न आग्रह गरेर मात्र पुग्दैन, उत्पादनप्रति विश्वास पनि जगाउनुपर्छ।

त्यसपछि उनले मार्केटिङ शैली परिवर्तन गरिन्। कारखानामै पुगेर तन्ना कसरी बन्छ, कस्तो धागो प्रयोग हुन्छ, कसरी बुनिन्छ, कसरी छनोट हुन्छ र गुणस्तर कसरी कायम गरिन्छ भन्ने सम्पूर्ण प्रक्रिया भिडियोमार्फत सामाजिक सञ्जालमा पोस्ट गर्न थालिन्। यही भिडियो उनको व्यावसायिक यात्राको टर्निङ पोइन्ट बन्यो।

ग्राहकले अब तन्ना मात्र देखेनन्, तन्ना बन्ने प्रक्रिया देखे। नेपाली कारखानामा उत्पादन भइरहेको वस्तुको गुणस्तरबारे पनि बुझ्न थाले। त्यसपछि अन्तरामा बिस्तारै अर्डर बढ्न थाल्यो।

रेजिशा भन्छिन्, ‘उत्पादनको वास्तविक प्रक्रिया देखाएपछि ग्राहकको विश्वास बढ्यो, त्यही विश्वास अहिले ‘अन्तरा नेपाल’को व्यवसायको महत्त्वपूर्ण आधार बनेको छ ।’

उत्पादनबाट ब्रान्डसम्म

अहिले अन्तराका कटनका तन्ना व्यक्तिगत प्रयोगका लागि मात्र होइन, उपहारका रूपमा पनि रोजाइमा पर्न थालेका छन्। विभिन्न संघसंस्थाले नेपाली उत्पादन उपहार दिनुपर्दा अन्तराका तन्ना रोज्ने गरेका छन्।

विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्तका लागि पठाउने र नेपालबाट विदेशमा स्वदेशी उत्पादन पठाउने क्रम पनि बढेको छ। अहिले रिटेलसँगै होलसेल बिक्रीका लागि पनि माग बढिरहेको छ।

‘अन्तरा नेपाल’ नामको पछाडि पनि रेजिशाको आफ्नै दर्शन छ। आफूलाई आध्यात्मिक व्यक्तित्वका रूपमा हेर्ने उनी बाहिरी आवरणभन्दा अन्तर्यबाट निस्किएका वाणीमा विश्वास गर्छिन्। अन्तराको अर्थ हृदय, भित्री मन हो। आत्मैदेखि गरेको र बोलेको पुग्ने विश्वासका कारण उनले नाम रोजिन् – अन्तरा नेपाल।

नामसँग जोडिएको यही दर्शन अहिले उनको व्यवसाय सञ्चालनको दृष्टिकोणसँग पनि जोडिएको छ। ग्राहकको विश्वासलाई उनले व्यवसायको सबैभन्दा महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिएकी छन्।

उनको बुझाइमा नेपालमा स्वदेशी उत्पादनको सम्भावना धेरै भए पनि उत्पादन र बजार विस्तारमा समस्या अझै छ। विदेशी सामानका लागि बढी मूल्य तिर्न तयार हुने तर स्वदेशमै बनेको गुणस्तरीय सामान किन्दा सोच्ने प्रवृत्तिले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको उनको अनुभव छ।

रेजिशाको व्यवसायमा उनकी बहिनी पनि जोडिएकी छन्। म्यानेजमेन्ट अध्ययन गरिरहेकी बहिनीलाई पढाइसँगै व्यवसायको व्यवहारिक पक्ष सिकाउन पाउँदा उनी खुसी छिन्।

अबको लक्ष्य स्थापित ब्रान्ड

अन्तरा सुरु भएको तीन वर्ष भयो। पहिलो दुई वर्ष रेजिशाका लागि निकै चुनौतीपूर्ण रहे। सानो लगानी, नयाँ व्यवसाय, बजारको प्रतिस्पर्धा र विश्वासको अभावसँग जुध्दै उनले व्यवसाय अघि बढाइन्।

तर, उत्पादनको गुणस्तर र त्यसको वास्तविक प्रक्रिया ग्राहकसम्म पुर्‍याएपछि परिस्थिति बदलियो। १० हजारबाट सुरु भएको व्यवसाय चार लाख हुँदै अहिले लाखौंमा फैलिएको छ।

२९ वर्षीया रेजिशाको अबको लक्ष्य अन्तरालाई नेपाली उत्पादनको स्थापित ब्रान्डका रूपमा स्वदेश तथा विदेशमा पनि चिनाउनु हो।

तन्नासँगै सिरकका खोल, कुसन खोललगायत गुणस्तरीय सामान उत्पादन गर्ने र सानेपाको शोरुमलाई अन्य स्थानमा पनि विस्तार गर्ने लक्ष्य उनले लिएकी छन्।