काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
सुनारको सम्बन्धमा संचारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनलाई यस्तो निर्देशन दिइएको हो।।
सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील भएको भन्दै रास्वपाले जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन नसकिने बताएको हो।
‘महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौं,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले सुनारमाथि लागेको आरोपहरुबारे सत्यतथ्य खोज्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको पनि जनाएको छ।
‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ,’ विज्ञप्तिमा भनिएको छ।
रास्वपाले सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने विश्वास लिएको पनि जनाएको छ।।