काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनिलाई कालोसूचीमा राखेको छ। ठेक्का लिएर सम्झौताका सर्तअनुसार काम नगर्दा कार्बाही सिफारिसमा परेकामध्ये एउटा कम्पनी तीन र चार कम्पनी दुई/दुई वर्षका लागि कार्बाहीमा परेका हुन्।
कैलाली धनगढीको वराह डेभलपर्स प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ। उक्त कम्पनीलाई कार्बाहीका लागि अछामको कमलबजार नगरपालिकाको कार्यालयले सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
यस्तै सुनसरीको हरिनगर गाउँपालिकाको सिफारिसमा जलेश्वरको दीपक निर्माण सेवा र रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसको सिफारिसमा बुटवलको अभियन्ता कन्स्ट्रक्सन प्रालि २/२ वर्षको कार्बाहीमा परेका छन्।
यसैगरी पशुरोग अन्वेषण प्रयोगशाला पोखराको सिफारिसमा तनहुँ शुक्लगण्डकीको फुलवराही डेभलपर्स एण्ड इन्भेस्टमेन्ट प्रालि र बाराको प्रसौनी बहुप्राविधिक शिक्षालयको सिफारिसमा पर्सा कालिकामाईको प्रिन्स कन्स्ट्रक्सन २/२ वर्षका लागि कालोसूचीमा परेका छन्। कालोसूचीमा राखिएको अवधिभर सम्बद्ध निर्माण व्यवसायी एवम् आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउदैनन्।