काठमाडौं। बुढीगण्डकी बाढीले क्षति पुर्याएको आरुघाट–सल्यानटार जोड्ने पुल पुनः सञ्चालन गर्न बेलिब्रिज जडान कार्यलाई तीव्र पारिएको छ।
हेटौंडाबाट बेलिब्रिजका सामग्री पुर्याएर निर्माण तीव्र पारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ। दसैंअघि नै सम्पूर्ण अवरुद्ध सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
आइतबार बिहान सिरिङ्गे हिमालमा गएको हिमपहिरोले खोला थुनिएर बुढीगण्डकीमा बाढी आएको थियो। बाढीपछिको खोजी, उद्धार, राहत तथा पुनर्निर्माणमा सरकार तदारुकताका साथ लागिरहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ। पाँच जना स्थानीय सम्पर्कविहीन रहेकामा खोजी भइरहेको छ। बाढीपछिको खोज र उद्धारमा ७०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढीले धादिङ र गोरखाका २०० भन्दा धेरै घरमा क्षति पुर्याएको छ। बाढीले खानेपानी, निर्माणाधीन जलविद्युत्, विद्यालयलगायतका संरचनासहित मनास्लु पदमार्ग र गोरखा–धादिङ जोड्ने मुख्य सडकका तीन पक्की पुल र दुई झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।