काठमाडौं। आइएमई समूहका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले बाढीले क्षतिग्रस्त सडक मर्मत गरेर सञ्चालनमा ल्याएकामा सरकारको प्रशंसा गरेका छन्।
उनले कालिगण्डकी नदीमा आउको बाढीले सडक र पुलमा ठूलो क्षति पुर्याएको अवस्थामा पनि तिनै तहका सरकारले निरन्तर खटिएर यातायात आवागमन खुलाएको भन्दै प्रशंसा गरेका हुन्।
‘यति ठूलो विपत्ति र प्रतिकूल परिस्थितिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा संरचनाहरूको पुनर्निर्माण र मर्मत कार्य द्रुत गतिमा अघि बढिरहेको देख्दा ठूलो आशा र ढाडस मिलेको छ,’ ढकालले सोमबार फेसबुकमार्फत भनेका छन्, ‘अहोरात्र खटिएर गरिएको अथक प्रयासकै फलस्वरूप अवरुद्ध बनेको बेनी-जोमसोम सडक खण्ड पुनः सञ्चालनमा आउनु निकै सुखद् र सकारात्मक पक्ष हो। यसले स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीका लागि ठूलो राहत पुर्याएको छ।’

असोज ८-११ को वर्षाले अवरुद्ध भएको पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुलमा सोमबारबाट सवारीसाधन सञ्चालनमा आएको छ।
ढकाल आइएमई समूहको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत आयोजनाको अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका पुगेका थिए। उनले भौतिक क्षति ठूलो भए पनि आत्मबल त्योभन्दा धेरै बलियो रहेकाले सबैको साथ, समन्वय र सहकार्यबाट संकट पार लगाउँदै छिट्टै अझ सबलरूपमा पुनरुत्थानको बाटोमा अगाडि बढ्ने बताएका छन्।