काठमाडौं। कृषिमन्त्री गीता चौधरीले किसानसँग १५ हजार मेट्रिक टन धान खरिदको समन्वय गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेकी छन्।
उनले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिदको समन्वय गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेकी हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान किन्ने गरेको छ। दसैंपछि धान खरिदको प्रक्रिया सुरु हुन्छ।
किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकुन् र बजारमा मूल्यसम्बन्धी अनिश्चितता नहोस् भनेर खाद्य व्यवस्था कम्पनीलाई धान खरिद गर्न आग्रह गरेको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।
सरकारले तोकेको मूल्य अनुसार १५ हजार मेट्रिक टन धानका लागि ६७ करोड ५० लाख रुपैयाँ आवश्यक पर्छ। सरकारले न्यूनतम समर्थन मूल्य मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ तोकेको छ।