काठमाडौं । एमएडब्लु वृद्धि अटोक्रप प्रा. लि अन्तर्गत धनगढी क्षेत्रका लागि चाङ्गनको आधिकारिक डिलर श्री ग्लोबल प्रा. लि. ले कैलालीको धनगढी–१३, राजपुरमा आफ्नो नयाँ शोरुम उद्घाटनसँगै बहुप्रतीक्षित चाङ्गन नेभो क्यू०५ सार्वजनिक गरेको छ।
आज बिहान शोरुमको उद्घाटन भएको थियो। र, साँझ नेभो क्यू०५ को औपचारिक सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो।
ग्राहकहरूले २६ देखि २९ असोजसम्म धनगढीस्थित डीपल शोरुममा संचालन हुने चारदिने टेस्ट ड्राइभ क्याम्पमार्फत नेभो क्यू०५ को प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
चाङ्गनको मुख्य नयाँ ऊर्जा सवारीसाधन लाइनअपका रूपमा रहेको नेभो क्यू०५ ले अत्याधुनिक विद्युतीय मोबिलिटीलाई व्यापक ग्राहक वर्गसम्म पुर्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
विश्वव्यापी सहरी प्रिमियम विद्युतीय एसयूभी तथा ‘न्यू इनर्जी स्मार्ट लिभिङ इनेब्लर’ का रूपमा स्थापित नेभो क्यू०५ मा आधुनिक डिजाइन, उन्नत प्रविधि र दैनिक जीवनका लागि आवश्यक व्यावहारिक सुविधाहरूको संयोजन रहेको कम्पनीको दाबी छ।।
यसले ‘आराम, डिजाइन र प्रविधिमा एक श्रेणी माथि’ भन्ने अवधारणालाई आत्मसात् गरेको कम्पनीको भनाइ छ।
नेभो क्यू०५ मा सहरी यात्राका लागि उपयुक्त आकारसँगै फराकिलो र आरामदायी केबिन उपलब्ध छ। २,७३५ मिलिमिटरको ह्विलबेसले विशेषगरी पछाडिको सिटमा बस्ने यात्रुहरूका लागि पर्याप्त ठाउँ र आराम प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ।
पछाडिका सिटलाई आवश्यकता अनुसार ढल्काउन सकिने सुविधाले यात्रालाई थप सहज बनाउँछ। साथै, ५४० लिटर क्षमताको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ।
नेभो क्यू०५ को अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन भएको कम्पनीले भनेको छ। चाङ्गनको विश्वव्यापी डिजाइन नेटवर्कमार्फत विकसित यस गाडीमा परिष्कृत शैली, वायुगतिकीय बनावट र व्यावहारिकतालाई प्राथमिकता दिइएको जनाइएको छ।
यसको आकर्षक बाह्य बनावट, विशिष्ट लाइटिङ डिजाइन र प्रभावशाली रोड प्रेजेन्सले यसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ। यसले प्रतिष्ठित गोल्डेन ए डिजाइन अवार्ड समेत प्राप्त गरेको कम्पनीले उल्लेख गरेको छ।
चाङ्गनको विश्वव्यापी डिजाइन नेतृत्वमा भोल्क्सवागेन ग्रुपका पूर्व डिजाइन प्रमुख तथा चाङ्गनका ग्लोबल डिजाइन उपाध्यक्ष क्लाउस जिचियोरा समेत रहेका छन्।
प्रविधिको क्षेत्रमा नेभो क्यू०५ मा ५१.९ किलोवाट प्रतिघण्टा क्षमताको सीएटीएल लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ, जसमा चाङ्गनको गोल्डेन सिल्ड २.० ब्याट्री प्रविधि समावेश छ। यसमा ३सी फास्ट चार्जिङ प्रविधि प्रयोग गर्न मिल्छ र अधिकतम १६२ किलोवाटसम्मको डिसी चार्जिङ क्षमता प्रदान गर्दछ। उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ।
१२० किलोवाटको विद्युतीय मोटरबाट संचालित नेभो क्यू०५ ले एनआइडीसी परीक्षण चक्रअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट प्रतिघण्टा रहेको छ। यी विशेषताहरूले नेभो क्यू०५ लाई दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त र व्यावहारिक विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको कम्पनीको दाबी छ।
नेभो क्यू०५ ले चीनको बजारमा समेत उल्लेखनीय सफलता हासिल गरेको भनिएको छ। सन् २०२६ अगस्टको अन्त्यसम्म यस मोडलको कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको बताइएको छ। आकर्षक डिजाइन, आधुनिक प्रविधि र व्यावहारिक सुविधाहरूको संयोजनका कारण यस मोडलले आफ्नो घरेलु बजारमा ग्राहकहरूको उल्लेखनीय चासो प्राप्त गरेको कम्पनीको भनाइ छ।
धनगढीमा यो गाडीको आगमनसँगै सुदूरपश्चिम प्रदेशका ग्राहकहरूले चाङ्गनका नयाँ ऊर्जा मोबिलिटी समाधानहरू अझ सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले भनेको छ। नयाँ शोरुमले सवारीसाधन बिक्री, ग्राहकसँगको अन्तरक्रिया तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने स्थानीय केन्द्रका रूपमा काम गर्ने जनाइएको छ।