काठमाडौं। सवारीसाधन दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर सवारीसाधन दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था गरेका हुन्।
संशोधित व्यवस्थाअनुसार सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी हुनेछ।
कार्यविधि निर्देशिकामा डिलरबाट गरिएको जाँचलाई मान्यता दिने व्यवस्था गरिएको छ। ‘डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन,’ मन्त्री लम्सालले भने।
अब सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ। यस्तै सवारीसाधनको बीमा वा बीमा नवीकरण गर्न पनि सवारीधनी स्वयं उपस्थित हुनुपर्ने छैन।
सवारीसाधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ।
