BIZMANDU
www.bizmandu.com

ताप्लेजुङमा नयाँ अलैँची आएसँगै घट्दै मूल्य, प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार

२०८३ असोज २६

ताप्लेजुङमा नयाँ अलैँची आएसँगै घट्दै मूल्य, प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार
तस्बिर : रासस।


काठमाडौं । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ। प्रतिमन (४० किलोग्राम) को ८४ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ।

GBIME
Tata

चालु सिजनको सुरुवातमा प्रतिमन ९६ हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ। एक साताअघि ८८ हजार रुपैयाँका दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन्।

नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो।

अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनले बताए।

‘ओसिलो क्षेत्रको अलैँचीले सुरुवाती समयमा राम्रो मूल्य पायो। त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजारमा कारोबार भइरहेको छ,’ उनले भने।

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ। यहाँको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रभाव पार्ने गरेको छ।

नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ। रासस