काठमाडौं। भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेसँग सांसदहरुले पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि गर्ने पहलदेखि चिनियाँ कम्पनी संलग्न जलविद्युत आयोजनाको विद्युत निर्यातका लागि निर्वजाह गर्ने भूमिकालाई लिएर प्रश्न गरेका छन्।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित राजदूत पाण्डेले आफ्नो कार्ययोजना पेस गरेपछि सांसदहरुले फरक फरक विषयमा प्रश्न सोधेका हुन्। कतिपय सांसदले त ११ वर्षअघि भारतले किन नाकाबन्दी लगायो भनेर समेत जवाफ मागे।
कुन सांसदले के सोधे?
सत्तारुढ रास्वपाका सांसद मधु चौलागाइँले ‘चीनको संलग्नता रहेका आयोजनाको विद्युत किन्न भारतले आनाकानी गर्छ। यसलाई सुल्झाउन के गर्नु गर्नु हुन्छ?’ भनी सोधे।
उनले तराईमा हुने डुबानको समस्मया समाधान तथा पञ्चेश्वर र हुलाकी आयोजना अगाडि बढाउने विषयमा पनि प्रस्तावित राजदूतलाई प्रश्न गरे।
रास्वपाका अर्का सांसद राजीव खत्रीले ‘म नेपो बेबी होइन भन्ने तपाइँको आधार के हो?’ भनी जवाफ मागे।
रास्वपाकै लेखजंग थापाले भैरहवा विमानस्थल चलाउने योजनाबारे प्रश्न गरे। रास्वपाकी पुनम अग्रवालले ‘लिपुलेक लिम्पियाधुराको सीमा विवाद कसरी समाधान गर्नुहुन्छ?’ भनेर सोधिन्।
रास्वपाका दीपक बोहराले भारतमा विमास हुँदा नेपाल किन जहाँको त्यही रह्यो भी सोधे।
कांग्रेसका आनन्द ढुंगानाले ‘हुलाकी राजमार्ग कहिलेसम्म गराउनु हुन्छ?’ भनेर जवाफ मागे। उनले भारतले इपीजी प्रतिवेदन नबुझेको कारण पनि पाण्डेसँग मागे।
एमाले सांसद प्रेम दंगालले १९५० को सन्धि पुनरवलोकनको विषय के हुन्छ भनी प्रश्न गरे। उनले ‘मानवताबिहीन नाकाबन्दी किन भयो?’ भनेर समेत पाण्डेसँग जवाफ मागे।
दंगालले सार्कलाई सक्रिय बनाउनेदेखि ईपीजी प्रतिवेदन, डुबान, जुटजन्य उत्पादन निर्यातमा भन्सार शुल्क वृद्धि लगायत विषय पनि उठाए।
एमालेकै सांसद पद्मा अर्यालले अन्तर्राष्ट्रय मामिलासंग सम्बन्धित संस्थाको निर्देशक हुनु हुन्थ्यो। स्वार्थको दन्द्व नहोस भन्ने मान्यता छ। यस्तो रहला कि नरहला। नेपालको स्वतन्त्र परराष्ट्र नीति कसरी कायम गराउनु हुन्छ?
सीमा समस्या समाधानमा ठोस पहल के गर्नु हुन्छ भनेर सोधिन्। उनले भारतसँग बढ्दो नेपालको व्यापार घाटा र निर्यातमा अवरोध हटाउने विषयमा पनि पाण्डेको जवाफ मागिन्। ‘पञ्चेश्वर जलविद्युत आयोजना अघि बढाउन तपाइँको योजना के छ?,’ पद्माको प्रश्न थियो।
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले भैरहवा विमानस्थलमा भारतले हवाई रुट नदिएको विषय उठाए। उनले भारतलाई १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्ने सहमति कार्यान्वयनका लागि के पहल गर्नुहुन्छ भनेर सोधे।
पाण्डेको जवाफ
सांसदहरुका प्रश्नपछि पाण्डेले पालैपालो जवाफ फर्काए। उनले राजदूतको काम सरकारको नीति कार्यान्वयन गर्नु भएको भन्दै नेपालमा राजनीतिक अस्थिरताका कारण भारतमा जसरी काम हुन नसकेको बताए।
उनले भारतमा नेपाली राजदूतले पूरा कार्यकाल काम गर्न नपाएको विषय पनि उठाए। ‘हामीकहाँ राजनीतिक अस्थिरताले भेषबहादुर थापा बाहेक कसैले पनि कार्यकाल पूरा गरेन। त्यसमा पनि सोच्नु होला,’ उनले भने।
पाण्डेले पोखरा र भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको विषयमा निर्माणअघि नै भारतसँग कुरा नगरेर गल्ती भएको आशय प्रकट गरे। ‘पोखरा र भैरहवा विमानस्थल बनाउनु अघि भारतको कन्सर्न हरिनुपर्थ्यो, हेरिएन,’ उनले भने।
उनले इपीजी प्रतिवेदनबारे जिम्मेवारी पाएपछि मात्र जानकारी हुने भन्दै १९५० को सन्धि पुनरवलोकनका लागि माहोल बनाउन पहल गर्ने बताए।
उनले आफू नेपो बेबी नभएको प्रष्टीकरण दिए। ‘आफैं पढेको हुँ। मेहनत गरेको हुँ। म नेपाे बेबी होइन। आफ्नो क्वालिफिकेसन छैन तर बाबु बाजेको नाता मात्र प्रयोग गर्छ भने त्यो नेपो बेबी हो,’ उनले भने। पाण्डे पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा हुन्।
मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले पाण्डेलाई भारतको राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।