काठमाडौं। हिमपर्वत हाइडोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले कात्तिक ११ देखि आइपीओ निष्कासन गर्न लागेको हो।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारलाई सेयर बिक्री गर्न लागेको बिक्री प्रबन्धकले जनाएको छ।
हिमपर्वत हाइडोपावरले जारी पुँजी १ अर्ब ५९ करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने कुल ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको छ।
हाइड्रोपावरले कुल निष्कासनको १० प्रतिशतले हुन आउने १६ करोड ९० लाख रुपैया बराबरको १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याइएको छ। अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयबासीका लागि १० लाख १४ हजार कित्ता छुट्याइएको छ।
यस्तै, प्रभावित क्षेत्र बिगु र कालिन्चोकका गाउँपालिकाका अन्य वडाका स्थानीयलाई ६ लाख ७६ हजार कित्ता सेयर छुट्याइएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
हाइड्रोपावरले ४२ करोड २५ हजार रुपैयाँको अंकित मूल्य १०० रुपैयाँ दरमा ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारलाई छुट्याएको छ। लगानीकर्ताले न्यूनतम् १० देखि १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ। आर्थिक वर्ष २०८२/८३ सम्म हाइड्रोपावरको प्रति सेयर नेटवर्थ ११५.०५ रुपैयाँ रहेको छ। यस्तै, प्रति सेयर आम्दानी १५.४८ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनी १६ करोड ५२ लाख रुपैयाँ नाफामा रहेको छ।
हाइड्रोपावरमा हिमाल गुरुङ अध्यक्ष छन्। कम्पनीमा उनको २१ लाख ५२ हजार कित्ता सेयर छ। यस्तै, अवसर इक्विटीको ४७ लाख ९१ हजार कित्ता सेयर छ।