BIZMANDU
www.bizmandu.com

स्टारडमलाई व्यवसायमा रूपान्तरण गर्दै रेखा थापा, आफ्नै ब्रान्डबाट उद्यमशीलताको नयाँ अध्याय

२०८३ असोज २६

स्टारडमलाई व्यवसायमा रूपान्तरण गर्दै रेखा थापा, आफ्नै ब्रान्डबाट उद्यमशीलताको नयाँ अध्याय
स्टारडमलाई व्यवसायमा रूपान्तरण गर्दै रेखा थापा, आफ्नै ब्रान्डबाट उद्यमशीलताको नयाँ अध्याय


काठमाडौं। ९० मिनेटको फुटबल खेलमा ८९ मिनेटसम्म खेल बराबरीमा रहन सक्छ। तर, अन्तिम मिनेटमा भएको एउटा गोलले पूरै खेलको नतिजा बदलिदिन्छ। अभिनेत्री रेखा थापा अहिले आफ्नो व्यावसायिक यात्रालाई पनि यही उदाहरणसँग जोडेर हेर्छिन्।

GBIME
Tata

करिब २५ वर्ष चलचित्र क्षेत्रमा बिताएकी रेखालाई कलाकारिताले दिएको लोकप्रियता अब पर्दामा मात्रै सीमित राख्न मन छैन। यही सोचले उनलाई व्यवसायमा तानेको हो। उनको पहिलो गन्तव्य बनेको छ, हस्पिटालिटी व्यवसाय र ‘बीआर क्याफे।’

छोरी गर्भमा छँदा उनी अमेरिकामा थिइन, लागिरहन्थ्यो जीवनमा अझै धेरै गर्न बाँकी छ। सामाजिक सञ्जालमा एलन मस्कजस्ता ठूला उद्योगी र उनीहरूले गरिरहेका काम देखिन्थे। त्यस्ता गतिविधिले उनको अवचेतन मनमा व्यवसायप्रतिको चासो जगाउँदै गयो। श्रीमान् हस्पिट्यालिटी व्यवसायमा संलग्न भएकाले त्यस क्षेत्रप्रतिको आकर्षण पनि स्वाभाविक रूपमा बढ्दै गयो।

छोरी हुर्किंदै जाँदा त्यही सोचले आकार लिन थाल्यो। चलचित्र क्षेत्रमा लामो समय काम गरेर बनाएको पहिचानलाई अब पर्दाबाहिर पनि विस्तार गर्ने निर्णय उनले गरिन्। त्यसको पहिलो अध्याय बन्यो, बीआर क्याफे।

रेखाका लागि यो केवल क्याफे खोल्ने निर्णय होइन। लामो समय चलचित्र क्षेत्रमा काम गरेर बनाएको व्यक्तिगत ब्रान्डलाई नयाँ व्यवसायमा प्रयोग गर्ने प्रयास पनि हो। आफ्नै लगानी, आफ्नै अवधारणा र आफ्नै ब्रान्डमा व्यवसाय गर्ने उनको निर्णयको पछाडि यही सोच छ।

फ्रेन्चाइज होइन, आफ्नै ब्रान्ड

क्याफे व्यवसायप्रति रेखाको रुचि अचानक आएको होइन। उनी आफैं कफीकी पारखी हुन्। कफी सपमा बस्ने, मिटिङ गर्ने र छलफल गर्ने उनको बानी पुरानै हो।

बीआर क्याफे सुरु गर्नुअघि उनले दुबईको चर्चित चिया–कफी ब्रान्ड ‘फिली’को फ्रेन्चाइजसमेत लिएकी थिइन्। तर, फ्रेन्चाइजको अवधारणा उनलाई खासै मन परेन। त्यसपछि आफ्नै ब्रान्ड निर्माण गर्ने निर्णय गरिन्।

उनी भन्छिन्, ‘म हरेक दिन जसो कफि सप, रेष्टुराँ जाने विशेष गरेर मिटिङ, छलफल कफीसपमै गर्ने। कतिपय कफीसपमा त म यति धेरै गएछु कि ति कफीसप नै रेखा थापाको भन्ने हल्ला चलेको रहेछ। यस्तैमा मलाई लाग्यो कि किन आफैं नखोल्ने?’

ठूलो रकम तिरेर फ्रेन्चाइज लिएपछि सम्बन्धित ब्रान्डकै अवधारणा, गुणस्तर र मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्नुपर्छ। रेखालाई भने आफ्नै सोचअनुसार व्यवसाय अघि बढाउन मन थियो। त्यसैले फ्रेन्चाइजको बाटो छाडेर आफ्नै ब्रान्ड निर्माणमा लागिन्।

यो निर्णय उनको व्यावसायिक दर्शनसँग पनि जोडिएको छ। नेपालमा बढिरहेको फ्रेन्चाइज संस्कृतिप्रति उनी त्यति सकारात्मक छैनन्। उनका अनुसार ठूलो रकम तिरेर फ्रेन्चाइज लिनुपर्ने र फर्निचरदेखि मेसिन तथा अन्य सामग्रीसम्म तोकिएका कम्पनीबाटै खरिद गर्नुपर्ने प्रणालीले नयाँ उद्यमीलाई सहज बनाउँदैन।

रेखा भन्छिन्, ‘यदि कसैले कुनै ब्रान्डको फ्रेन्चाइज लिन चाह्यो भने ४०/५० लाख तिर्नुपर्ने, फर्निचरलगायतका चाहिने सामान सबै उनीहरुले तोकेको निश्चित कम्पनीबाट खरिद गर्नुपर्ने हुँदा गरिखानेलाई सहज छैन।’

त्यसैले क्षमता र लगानीअनुसार आफ्नै ब्रान्ड सुरु गरेर विस्तार गर्नु उचित लागेको उनी बताउँछिन्। वर्षौं लगाएर बनाएको व्यक्तिगत पहिचानलाई नै व्यावसायिक ब्रान्डमा रूपान्तरण गर्ने सोच उनको हो।

रेखा आफैंमा बलियो ब्रान्ड

चलचित्रमा २५ वर्ष लामो यात्रा पूरा गरिसकेकी रेखाका लागि सबैभन्दा ठूलो व्यावसायिक सम्पत्ति आफ्नै व्यक्तिगत पहिचान अर्थात् ब्रान्ड हो। उनी अरुले बनाएका चलचित्रमा अभिनय गर्नेमा मात्रै सीमित भइनन्, आफैं लगानी गरेर फिल्म बनाइन। अभिनयको क्षेत्रमा बनाएको पहिचान, दर्शकसँगको सम्बन्ध र सार्वजनिक उपस्थितिलाई उनले अब व्यवसायमा प्रयोग गर्न थालेकी छन्।

तर उनी यसलाई सेलिब्रिटीको नाममा मात्रै व्यापार गर्ने प्रयासका रूपमा हेर्दिनन्। व्यवसायको अर्को उद्देश्य रोजगारी सिर्जना गर्नु र आफूजस्तै अरूलाई पनि स्वदेशमै केही गर्न प्रेरित गर्नु हो।

रेखालाई आफू ‘मास ओरियन्टेड’ कलाकार भएको महसुस हुन्छ। यही स्वभावले पनि उनलाई व्यवसायमा आउन प्रेरित गरेको छ। कलाकार साथीभाइ, दर्शक र शुभचिन्तकसँग भेटघाट गर्ने साझा ठाउँको अभाव खड्किरहेका बेला क्याफे उनको व्यवसायसँगै सामाजिक जमघटको ठाउँ पनि बनेको छ।

काठमाडौंको थापागाउँ हाइटस्थित बानेश्वर हिल्समा बीआर क्याफे सञ्चालनमा आएको छ। यसको अर्को शाखा केएमसी अस्पतालभित्र पनि सञ्चालनमा आइसकेको छ। आगामी दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आउटलेट विस्तार गर्ने र त्यसपछि उपत्यकाबाहिर पनि पुग्ने उनको योजना छ।

रेखा भन्छिन्, ‘बीआर क्याफे ग्राहकको रोजाइको क्याफे हो, जहाँ हरेक कफीका पारखी आएर कफी पिएर हिड्ने मात्रै होइन मजाले आरामदायी वातावरणमा बसेर केही घण्टा बिताउन सक्नुहुन्छ र आफ्ना काम वा मिटिङ गर्न सक्नुहुन्छ।’

क्याफेको इन्टेरियर, कर्मचारीको व्यवहार, कफी तथा खानाको गुणस्तर र हाइजिनमा विशेष ध्यान दिइएको उनी बताउँछिन्। भविष्यमा बीआर क्याफेलाई फ्रेन्चाइजका रूपमा विस्तार गर्न चाहने लगानीकर्तासँग सहकार्य गर्न पनि आफू तयार रहेको उनको भनाइ छ।

नाम र लोगोमा उपस्थिति छोरीको

बीआर क्याफेको अर्को रोचक पक्ष यसको ब्रान्डिङ हो। क्याफेको नाम र लोगोमा रेखाकी छोरीको उपस्थिति छ। लोगोमा छोरीको स्केच प्रयोग गरिएको छ र क्याफेको नाम नै छोरीलाई समर्पित गरिएको छ।

यसको पछाडि व्यवसाय हस्तान्तरण गर्नेभन्दा फरक सोच रहेको रेखा बताउँछिन्, आफ्नो सन्तानलाई स्वदेशमै अवसरको वातावरण बनाइदिने।

रेखा भन्छिन्, ‘हरेक बाबुआमाको चाहना हुन्छ आफ्‌नो सन्तान आफैसँग बसोस्, राम्रो काम गरोस्। अहिले हरेक घरका छोराछोरी विदेश गएको देख्दा छोरीको लागि अहिलेदेखि नै वातावरण बनाइदिए भने उ भोलि कतै जान नपरोस्। भोलि आफ्‌नै देशमा बसोस् भनेर अहिले देखिनै बेस बनाउन व्यवसाय सुरु गरेकी हुँ।’

त्यसैले उनको व्यवसायिक यात्रा क्षणिक होइन, दीर्घकालीन सोचमा आधारित देखिन्छ। आफू कलाकार भएकै कारण छोरी पनि कलाकार हुनुपर्छ भन्ने उनको सोच छैन। छोरीको रुचि जुन क्षेत्रमा हुन्छ, त्यही क्षेत्रमा अघि बढोस् भन्ने उनको चाहना छ। तर, त्यसका लागि आवश्यक वातावरण तयार गर्ने जिम्मेवारी अभिभावकको भएको उनको धारणा छ।

क्याफेको लोगोमा छोरीको स्केच राख्नुको कारणबारे उनी भन्छिन्, ‘रेखा फिल्मसको लोगो पनि मेरै छ, त्यसले मलाई यो इन्डष्ट्रीमा अझ केही गर्नुपर्छ भन्ने प्रेराण दिइरहन्छ। त्यस्तै छोरीलाई पनि  देशमा केही गर्नुपर्छ भनेर छोरीलाई डेडिकेट गरेको हुँ। देशमै संघर्ष गर्नुपर्छ भन्ने भावना उसमा आओस् भनेर राखेकी हुँ।’

तर रेखा छोरीलाई तयार व्यावसायिक साम्राज्य हस्तान्तरण गर्ने पक्षमा भने छैनन्। बरु कामको आधारभूत तहदेखि सिकेर नेतृत्व गर्नुपर्ने वातावरण बनाउन चाहन्छिन्। क्याफे चलाउँदा कुचो लगाउनेदेखि ग्राहकलाई सर्भ गर्ने, वेटर, कफी मेकर, क्यासियर र फुडसम्बन्धी कामसम्म सिकेर मात्रै भविष्यमा स्वामित्व र नेतृत्व लिनुपर्ने उनको सोच छ।

अर्थात्, उनका लागि सम्पत्ति हस्तान्तरणभन्दा काम गर्ने संस्कार हस्तान्तरण महत्त्वपूर्ण हुनेछ।

क्याफेपछि ब्युटी र कस्मेटिकतर्फ

बीआर क्याफे रेखाको व्यवसायिक यात्राको अन्तिम गन्तव्य होइन। क्याफेसँगै उनी कोरियन ब्युटी प्रडक्टको व्यवसायमा पनि प्रवेश गर्ने तयारीमा छिन्। स्पा तथा ब्युटी सेन्टर सञ्चालन गर्ने योजना पनि उनले अघि सारेकी छन्।

उनको व्यावसायिक रुचि एउटै क्षेत्रमा सीमित छैन। चलचित्रबाट सुरु भएको लगानी अब हस्पिटालिटी हुँदै ब्युटी र कस्मेटिकतर्फ फैलिँदैछ। तर, कलाकारितालाई नै उनी आफ्नो मूल पहिचान र पुँजी मान्छिन्।

रेखा भन्छिन्, ‘कलाकारिता नै रेखा थापाको पहिचान हो। त्यही पहिचानले नै आज म यहाँ छु, नयाँ काममा लाग्न पनि मलाई यही पहिचानले नै प्रेरित गरेको हो। त्यसैले कलाकारिता म बाँचुन्जेल सँगै लिएर बाँच्छु।’

जोखिमबाट भाग्ने होइन, अवसर खोज्ने

चलचित्र उद्योगमा पनि रेखाले लगानी गर्दै आएकी छन्। आफ्नै लगानीमा बनेको ‘३६ को आँकडा’ प्रदर्शनको तयारीमा छ। उनका लागि फिल्ममा लगानी गर्नु र क्याफेमा लगानी गर्नु फरक व्यावसायिक अनुभव हुन्।

उनको बुझाइमा अहिले नेपाली चलचित्रमा लगानी गर्नु आफैंमा जोखिमपूर्ण बनेको छ। कुनै समय आफ्ना फिल्म हेर्न दर्शक बिहानैदेखि लाइन लाग्ने गरेको सम्झिँदै उनी अहिले दर्शकको व्यवहारमा आएको परिवर्तनप्रति चिन्तित छिन्।

रेखा भन्छिन्, ‘पहिला कुनै फिल्म रिलिज हुँदा दुई-तीन घन्टा लाइन बसेर टिकट काटेर सिनेमा हेरिन्थ्यो र मेरै फिल्म हेर्न पनि बिहान ५ बजेदेखि दर्शक लाइन लाग्नु हुन्थ्यो, तर अहिले फ्रिमा भए हेर्ने, पैसा तिरेर त के हेर्नु भन्ने प्रवृत्ति देखिन्छ। यसले यो उद्योगलाई कतातिर लैजाँदै आकलन गर्न सकिन्छ।’

चलचित्रमा लगानी गरेपछि लगानी फिर्ता नहुने जोखिम बढिरहेको र दर्शकलाई टिकट बाँडेर फिल्म देखाउनुपर्ने अवस्था आउनु उद्योगकै लागि चुनौती भएको उनको बुझाइ छ। यद्यपि, जोखिमबाट उनी पछि हट्ने पक्षमा छैनन्। फिल्म होस् वा व्यवसाय, जोखिमभित्रै अवसर देख्ने उनको आफ्नै दृष्टिकोण छ। फिल्ममा लगानी गर्दा डुब्ने डर हुन्छ, व्यवसायमा लगानी गर्दा पनि भोलि के हुन्छ भन्ने निश्चित हुँदैन। तर, त्यसकै कारण लगानी गर्न छाड्न नहुने उनको धारणा छ।

बीआर क्याफेमा पनि यही सोच लागू भएको छ। अहिले सञ्चालनमा रहेका दुई आउटलेटलाई विस्तार गर्दै उपत्यकाका विभिन्न ठाउँ र त्यसपछि उपत्यकाबाहिर पनि पुग्ने उनको योजना छ।

नयाँ व्यवसाय गर्न र आफूसँग जोडिन चाहने लगानीकर्तालाई उनको आग्रह छ, ‘केही गर्ने हो भने आफै सुरु गर्नुस्‌, केही सल्लाह, सुझाव, सहयोग चाहिएमा म तयार छु।’

पर्दाको लोकप्रियता नै व्यवसायको पुँजी

रेखा थापाको व्यावसायिक यात्रा मूलतः एउटा प्रश्नको उत्तर खोज्ने प्रयासजस्तो देखिन्छ, २५ वर्ष लगाएर बनाएको व्यक्तिगत ब्रान्डलाई चलचित्रबाहेक अरू क्षेत्रमा कसरी विस्तार गर्ने?

बीआर क्याफेलाई विस्तार गर्ने योजना र अन्य क्षेत्रमा लगानी बढाउने तयारीले उनको व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदैछ। तर, यो यात्राको सबैभन्दा महत्त्वपूर्ण पक्ष लगानीको आकारभन्दा पनि उनको दृष्टिकोण हो।

फ्रेन्चाइज किन्नुभन्दा आफ्नै ब्रान्ड बनाउने, छोरीलाई तयार व्यवसाय हस्तान्तरण गर्नुभन्दा काम सिकाउने, विदेशमा अवसर खोज्नुभन्दा स्वदेशमै अवसर सिर्जना गर्ने र जोखिमबाट भाग्नुभन्दा त्यसैभित्र सम्भावना खोज्ने, रेखाको व्यावसायिक यात्राका आधार यिनै देखिन्छन्।

चलचित्र उद्योगले रेखालाई सिकाएको महत्त्वपूर्ण पाठ हो, लोकप्रियतालाई सही ठाउँमा लगाउन सकियो भने त्यसको प्रतिफल पनि मिठो हुन सक्छ। पर्दामा कमाएको लोकप्रियता अब रेखाको व्यावसायिक पुँजी बनेको छ। बीआर क्याफे त्यसैको पहिलो अध्याय हो, जहाँ कफीसँगै उनको लक्ष्य रोजगारी सिर्जना गर्ने, नयाँ सम्भावना खोज्ने र स्वदेशमै केही गर्न प्रेरित गर्ने देखिएको छ।