काठमाडौं। भदौ १० गते भोटेकोशीमा आएको बाढीले राजमार्ग अवरुद्ध भएपछि महँगिएको तरकारीको मूल्य अझै घट्न सकेको छैन।
बाढीपहिरोका कारण अवरुद्ध भएका धादिङ, नुवाकोट लगायत जिल्ला जोड्ने सडक संचालनमा आइसकेका छन्। उपत्यकामा भित्रिने तरकारीको परिमाण पनि बढ्न थालेको छ।
तर, त्यसको प्रभाव उपभोक्ताले तिर्ने मूल्यमा देखिएको छैन। गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य ३२० प्रतिशतसम्म महँगिएको छ।
थोक बजारमा केही तरकारीको मूल्य घट्न थाले पनि खुद्रा बजारमा उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको छ। अधिकांश हरियो तरकारी प्रति किलो एक सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेका छन्।
काठमाडौं उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन र तराईका विभिन्न जिल्लाबाट तरकारी भित्रिने गर्छ। तर, गत महिनाको बाढीले धादिङ र नुवाकोटका विभिन्न क्षेत्रमा उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन समस्या भएको थियो।
सडक अवरुद्ध हुँदा खेतबारीमा उत्पादन भएका तरकारी ढुवानी गर्न नसकिएको व्यवसायी बताउँछन्।
यस वर्षको अविरल वर्षाले तरकारी उत्पादनमा समेत असर पारेको छ। साग, काउली, मुला, सिमी, काँक्रो र गोलभेँडाजस्ता तरकारी बालीमा पानीले क्षति पुर्याएको छ।
बाढीले नदी किनारका खेतबारीमा लगाइएका तरकारी बगाएको छ। लगातारको वर्षाले बाली नष्ट हुँदा उत्पादन बढ्न सकेको छैन। त्यसको प्रत्यक्ष असर बजारमा परेको छ।

सिजनअनुसार बजारमा आउनुपर्ने तरकारीको उत्पादन र आपूर्ति नियमित हुन नसक्दा मूल्य महँगिएको व्यवसायीको भनाइ छ।
तराईका जिल्लामा पनि अविरल वर्षाले हरियो तरकारीको उत्पादन घटाएको छ। त्यसैले त्यहाँबाट उपत्यकामा आउने तरकारीको परिमाण अपेक्षाअनुसार बढ्न सकेको छैन।
पछिल्लो समय उपत्यकाबाट समेत हरियो तरकारी तराईका जिल्लामा जान थालेको छ। यसले स्थानीय बजारमा उपलब्ध तरकारीको परिमाणमा थप दबाब सिर्जना गरेको व्यवसायी बताउँछन्।
स्वदेशी उत्पादन घट्दा भारतबाट तरकारी आयात गर्नुपर्ने अवस्था पनि छ। तर, पटक-पटक राजमार्ग अवरुद्ध हुँदा आयातित तरकारीको ढुवानीसमेत जोखिमपूर्ण बनेको छ।
तरकारी तथा फलफूल महासंघका अध्यक्ष भरत खतिवडाले अविरल वर्षा र बाढीका कारण उत्पादन घटेपछि तरकारीको मूल्य बढेको बताए।
उनका अनुसार वर्षाले बजारमा आउनुपर्ने हरियो तरकारीलाई ठूलो असर पुर्याएको छ। खेतबारीमा उत्पादन भइरहेका तरकारी नष्ट हुँदा बजारमा आपूर्ति बढ्न सकेको छैन।
‘बाढीले खोला छेउछाउका खेतबारीमा लगाइएका तरकारी बगाएको छ। लगातारको पानीले उत्पादन भइरहेको तरकारीमा क्षति पुगेको छ। उत्पादन कम हुँदा अघिल्लो वर्षजस्तो तरकारी सस्तो हुन सकेन,’ उनले भने।
सडकको समस्याले पनि तरकारीको मूल्य घट्न नदिएको खतिवडाको भनाइ छ। खेतबारीमा उत्पादन भएका सबै तरकारी बजारसम्म पुग्न सकेका छैनन्।

राजमार्ग अवरुद्ध हुँदा ढुवानीमा ढिलाइ हुने र बाटोमै तरकारी बिग्रिने समस्या छ। तरकारी तथा फलफूल छिट्टै नष्ट हुने वस्तु भएकाले व्यवसायीले जोखिम मोलेर ढुवानी गर्न कठिन हुने उनले बताए।
यता, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने बजारमा तरकारीको मूल्य घट्न थालेको दाबी गरेको छ।
समितिका सूचना अधिकारी विदुरप्रसाद आचार्यका अनुसार गत महिनाको बाढी र यस महिनाको अविरल वर्षाले किसानको खेतमा उत्पादन भइरहेका तरकारीमा क्षति पुगेको छ। त्यसको असर अहिले बजारमा देखिएको हो।
आचार्यका अनुसार पछिल्लो समय बजारमा भित्रिने तरकारीको परिमाण बढ्न थालेको छ। अहिले आपूर्तिमा ठूलो समस्या नरहेको उनको भनाइ छ।
कालीमाटी बजारमा दैनिक पाँच सय टनभन्दा बढी तरकारी भित्रिरहेको उनले जानकारी दिए। उनका अनुसार गोलभेँडा, प्याज, आलुलगायत केही तरकारीको मूल्य घट्दै गएको छ।
दसैँ नजिकिँदै गर्दा उपत्यका छाड्ने उपभोक्ताको संख्या बढ्ने भएकाले तरकारीको मागमा कमी आउन सक्ने उनको अनुमान छ। त्यसले मूल्य घटाउन सहयोग पुग्न सक्छ।
यद्यपि, चाडपर्वका बेला केही तरकारीको माग बढ्ने भएकाले मूल्यमा उतारचढाव आउने गरेको छ। यस वर्ष बाढी र वर्षाका कारण उत्पादनमा क्षति पुगेपछि तरकारीको मूल्य अपेक्षाअनुसार सस्तो हुन नसकेको आचार्य बताउँछन्।
वर्षाका कारण हिउँदे तरकारीको उत्पादन पनि ढिलो सुरु भएको छ। नयाँ उत्पादन बजारमा पर्याप्त मात्रामा आइनसकेकाले मूल्यमा दबाब कायम रहेको उनको भनाइ छ।
थोक बजारमा केही तरकारीको मूल्य घट्न थाले पनि खुद्रा बजारमा भने त्यसको लाभ उपभोक्ताले पाउन सकेका छैनन्। थोकमा मूल्य घटिरहेको अवस्थामा पनि खुद्रा व्यापारीले तरकारी महँगो भएको भन्दै उच्च मूल्यमा बिक्री गरिरहेको उपभोक्ताको गुनासो छ।

उत्पादनमा कमी, ढुवानीको समस्या र मौसमको प्रतिकूलताले तरकारीको मूल्य बढाएको देखिन्छ। तर, सडक सञ्चालनमा आएर बजारमा आपूर्ति बढ्न थालेपछि पनि खुद्रा मूल्य नघट्नुले थोक र खुद्रा बजारबीचको मूल्य अन्तरमाथि प्रश्न उठाएको छ।
उपभोक्ताले भने तरकारीको मूल्य कहिले घट्ने हो भन्ने प्रतीक्षा गरिरहेका छन्।
गत वर्षभन्दा ३२० प्रतिशत महँगो
यो वर्ष बाढी र लगातर वर्षाले गर्दा हरिया तरकारीको उत्पादन घट्दा भाउ गत वर्षको तुलनामा ३२० प्रतिशतले महँगो भएको छ।
गोलभेँडा, आलु, प्याज, काउली, भन्टा, बोडी, घिउ सिमी, भटमास कोसा, लौका, परवर, घिरौला, हरियो फर्सी, हरियो प्याज, ब्रोकाउली, पारसले, कागती अदुवा, हरियो लसुनको भाउ गत वर्षभन्दा बढेको छ।
गत वर्षको तुलनामा यस पटक तरकारीको भाउ ३२० प्रतिशत भन्दा बढी महँगो भएको छ। गत वर्ष प्रति किलो ३६ रुपैयाँ रहेको प्याज अहिले ८२ रुपैयाँ कालीमाटी बजारमा पुगेको छ।
काउली ७५ रुपैयाँ रहेको प्रति किलो १११ रुपैयाँ, भन्टा ३० रुपैयाँबाट ६५ रुपैयाँ, बोडी ६५ रुपैयाँबाट ११० रुपैयाँ, टाटे सिमी प्रति किलो ६५ रुपैयाँबाट बढेर ११० रुपैयाँ भएको छ।
तिते करेला र लौका ५५ रुपैयाँबाट ११० रुपैयाँ, पार्सले ७५० बाट २ हजार ६ सय, कागती १३५ बाट ३००, सुकेको खुर्सानी ३७७ बाट ५३६, हुरियो खुर्सानी ४५ बाट १३६ रुपैयाँ, अदुवा ११० बाट २१६ रुपैयाँ भएको छ।