काठमाडौं। कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले ८ उम्मेदवारमध्ये सबैलाई पछि पार्दै जित सुनिश्चित गरेका छन्। प्रदीप उनै पात्र हुन् जसलाई कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय कर्नरमा पारेका थिए।
विशेष महाधिवेशनमा गगन-विश्वलाई साथ दिएका प्रदीप पछिल्लोपटक पूर्वसभापति शेरबहादुर देउवालाई पनि साथमा लिएर १५औं महाधिवेशन गर्नुपर्ने बताउँथे।
प्रदीपको समूहले पटक-पटक गगन-विश्वलाई पूर्वसभापति देउवालाई भेट्न समेत आग्रह गरे। यस विषयमा प्रवक्ता रहेका देवराज चालिसेसमेत सहमत थिए। ‘हामीले सभापतिलाई भनेका हौं। तर उहाँले प्रयास गर्नुभएको देखिएन,’ अनौपचारिक कुराकानीमा चालिसे भन्थे।
बीचमा प्रवक्ता चालिसेसमेत केही समय संस्थापन पक्षको कर्नरमा परेका थिए। यही कारण चालिसे यसपटक कुनै पनि पदमा उम्मेदवार बन्न पाएनन्। यो बीचमा संस्थापनमा इतर पक्षको भूमिकामा देखिन थाले प्रदीप।
संस्थापनल पक्षले पनि महाधिवेशनबाट प्रदीपलाई आउट गर्ने योजना बनाउने थाले। विशेष महाधिवेशनबाट सभापति बनेका गगनको जित निश्चित थियो। किनकि किशोरसिंह राठोरले उम्मेदवारी फिर्ता लिइसकेका थिए। यता विश्वका लागि विधानमा वरिष्ठ उपसभापति पद सिर्जना भयो। अर्का उपसभापति पुष्पा भुसालका लागि महिला उपसभापति पद पनि विधानमा सिर्जना भयो।
तर प्रदीपलाई जोखिममा धकेल्न महामन्त्रीमै ८ जनाको उम्मेदवारी दिने वातावरण तयार भयो। ‘महामन्त्रीमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार गगन विश्वले भनेकै मान्ने हुन्। अन्तिम समयमा आएर प्रदीपमाथि एट्याक बढाए,’ प्रदीप निकट एक नेताले भने।
महामन्त्रीमा उम्मेदवारी दिने उदय शमशेर राणा, अमरसिंह पुन मगर, नैनसिंह महर, शंकर तिवारी गगन विश्वकै निकट नेता हुन्।
डा. सुनिल शर्मा डा. शेखर कोइराला निकट नेता हुन्। पछिल्लोपटक उदयलाई जिताउने उद्देश्यका साथ ठूला दलका नेतालाई निम्तो दिनसमेत उदय शमशेरलाई अघि सारियो। यता नैनसिंह महरलाई महामन्त्री दिने भन्दै तेस्रो धारको शक्ति निर्माण रोक्न गगन-विश्वलाई लगाए।
विशेष महाधिवेशनबाट आएका गुरुराज घिमिरे महामन्त्रीमै दोहोरिन चाहे। तर गुरुराजलाई सुनिल शर्मा अघि सारे काफी हुने भन्दै गगन विश्वले महामन्त्रीमा उम्मेदवारी दिन लगाएको घिमिरे निकट नेताहरु बताउँछन्। यसैगरी प्रदीपका लागि उदय चेकमेट हुने संस्थापनको विश्वास थियो।
वरिष्ठ उपसभापतिमा विश्व निर्वाचित भएसँग महामन्त्रीद्वय प्रदीप र गुरुराजले गगन-विश्वलाई मतदानअघि नै एक होटलमा चेतावनी समेत दिएका थिए।
‘आफूहरु सुरक्षित भएपछि सुत्न पाइँदैन। विशेषमा हामीले साथ दिएकै हौं। कसरी हुन्छ साथीहरुलाई मिलाउनुहोला,’ प्रदीप र गुरुराजको भनाई उद्धृत गर्दै एक नेताले भने।
तर गगन-विश्वले उनीहरुको भनाईमा कुनै वास्ता गरेनन्। मतदान एक दिन ढिला गरी भयो। मतदानमा अति गोप्य भन्दै महामन्त्रीमा उदय र अमरसिंहको नाम भएको चिट पनि बाँडियो। कुनै चिटमा दुई खुला महामन्त्रीमा उदय र सुनिल शर्माको नाम थियो। यद्यपि प्रदीप पौडेलले महामन्त्रीमा जित निकालेका छन्।
यसको मुल कारण क्रियाशील सदस्यता व्यवस्थापन समितिको नेतृत्व भएको नेताहरु बताउँछन्।
‘चौतर्फी एट्याक भए पनि निर्वाचनका लागि प्रदीप तयार हुनुहुन्थ्यो। किनभने गगनले नसकेको क्रियाशील व्यवस्थापन उहाँले गर्नुभएको थियो,’ प्रदीप निकट ती नेताले भने। क्रियाशील व्यवस्थापनसँगै युवाहरुको रोजाई प्रदीप भएकोले चिटदेखि विभिन्न योजना क्रस गरेर प्रदीपलाई मत आएको ती नेता बताउँछन्। यसका लागि प्रदीपको समूहले महाधिवेशनभर निकै मिहिनेत गरेको ती नेताले बताए।