काठमाडौं। नेपाल प्रहरीले २०६९ चैत १८ गते बा १ ख ५७५९ नम्बरको ट्रक काठमाडौंको गोठाटारबाट नियन्त्रणमा लियो। ट्रकमा बाहिरबाट देख्दा बालुवा थियो। तर, बालुवाभित्र रक्तचन्दन।
बालुवाभित्र रक्तचन्दन लुकाएर ल्याएको सूचनाका आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा सूचना सही सावित भयो।
त्यो बेला रक्तचन्दन नेपालको बाटो हुँदै तस्करी गरेर चीन पुर्याउने गरिन्थ्यो। रक्तचन्दन तस्करको नेक्सस तोड्न प्रहरीले अपरेशन नै चलाएको थियो। त्यही अपरेशन अन्तर्गत गोठाटारमा गाडी नियन्त्रणमा लिइएको थियो। गाडीमा रक्तचन्दन भेटिएपछि चालक र सहचालक पक्राउ परे।
चालक भीमबहादुर सुनुवार र सहचालक खेमबहादुर सिंहसँग प्रहरीले बयान लियो। चालक र सहचालक दुवैले दुई दिनअगाडि बालुवा लैजान भन्दै नवीन बस्नेतले नै टेलिफोन गरेको साविती बयान दिए।
‘बालुवा लिएर जानुपर्यो भनी बोलाउनु भएको थियो। मेरो लाइसेन्स छैन भन्दा जोरपाटीबाट २०० मिटरभित्र मात्र लैजाने हो, केही फरक पर्दैन भनेर बस्नेतले नै भनेर ल्याएको हो,’ बयानमा चालक सुनुवारले भनेका थिए।
दोलखाका बस्नेत त्यतिबेला निर्माण सामग्री बालुवा गिट्टीको कारोबार गर्थे। सुनुवारले बयानमा गाडीको अगाडि पछाडि बस्नेतले फलो गरेको बताएका थिए।
रक्तचन्दन बरामद भएको गाडी रमेश प्रजापतिको थियो। प्रजापतिले प्रहरीमा २०६९ कात्तिक २४ गते करारनामा गरी प्रति महिना २५ हजार रुपैयाँ दिने गरी बस्नेतले गाडी लगेको बताएका थिए। यी सबै आधारमा रक्तचन्दन तस्करीमा सीधा जोडिएका थिए बस्नेत। तर, बस्नेत वतन नखुलेकाे भन्दै सेटिङकै आधारमा उम्किए।
बस्नेतको नेक्सस राजनीतिक दलका नेतासँग थियो। त्यसैले ठेगाना नभेटिएको भन्दै उनीमाथिकाे कारवाही तामेलीमा गयाे।
राजनीतिक नेक्ससका आधारमा तस्करीमा भरिया समातिने तर मालिक उम्किने प्रवृत्ति यो केसमा पनि भयो। चालक सुनुवार र सहचालक सिंह दुबै जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७२ असार ८ गते दोषी ठहर गर्दै थुनामा पठायो। उनीहरुविरुद्ध ४० दिन न्यायिक हिरासतमा बसिसकेकाले बाँकी ४ महिना २० दिनको कैद सजाय र ३ लाख ६१ हजार ६०० रुपैयाँ जरिवानाको फैसला भयो।
देखावटी रुपमा निर्माण सामग्रीको व्यापार गर्ने भनिए पनि रक्तचन्दन तस्करीबाट बस्नेतले मनग्गे कमाए। त्यहि पैसाको बलमा नेकपा एमालेका उपल्लो तहका नेतासँग उनको सम्बन्ध घनिष्ट बन्यो। त्यो सम्बन्ध उनको आर्थिक समृद्धिको ठूलो आधार बन्यो।
बालुवा व्यापारको आवरणमा रक्तचन्दन तस्करीबाट बनाएको सम्बन्धले सरकारका ठूलाठूला ठेक्कापट्टामा बस्नेत देखिन थाले। स्रोतका अनुसार नेकपा एमाले सरकारमा आएपछि सिंहदरबारदेखि विभिन्न विमानस्थलको ठेक्कामा बस्नेतको कम्पनीले ठेक्का पाउन थाल्यो। साथै उनले पुरानो मुद्दाकाे फाइलमा भएकाे वतन नखुलेकाे कागजात नामेट बनाउने योजना बनाए।
स्रोतका अनुसार बस्नेत शक्ति प्रयोग गरेर आफूविरुद्ध भएको कागजपत्र नष्ट गरे। उनीविरुद्ध विभिन्न निकायमा परेका उजुरी च्यातियो। काठमाडौं वन कार्यालयमा रहेको रक्तचन्दन मुद्दाको फाइल आगलागीका कारण नष्ट भयो भनियो। आफूविरुद्धका सबै प्रमाण नष्ट भएको भन्दै बस्नेत ढुक्क भएर व्यवसाय विस्तारमा लागे। उनको व्यापार दिन दुई गुणा रात चौगुना हुन थाल्यो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको ट्याक्सी वे र एप्रोन निर्माण ठेक्कामा बस्नेत क्षमादेवीसँग आबद्ध भए। ठेक्का आशिष-क्षमादेवी-बुद्ध हिमाली जेभीले पाएको थियो।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला बस्नेतले जे भन्यो त्यही हुन्थ्यो। भक्तपुरको रोजभिलेज हाउजिङमा बस्ने बस्नेत र ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यबीच पनि धेरै निकट सम्बन्ध थियो।
त्यो सम्बन्धका कारण बस्नेत सिंहदरबारभित्रको सरुवा लगायतमा समेत हावी भए। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग निकट सम्बन्ध भएका बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही आयुक्तलाई समेत हात लिए।
स्रोतका अनुसार अस्वाभाविक रुपमा प्राधिकरणको महानिर्देशक बनेका अधिकारीको भ्रष्टाचार मुद्दामा अनुसन्धान रोक्न बस्नेत दिनरात लागेका थिए। अख्तियारका एक आयुक्तसँग बस्नेतको राम्रै उठबस थियो। बस्नेतको त्यही सम्बन्धका आधारमा अधिकारी आफूविरुद्ध भ्रष्टाचार मुद्दा अघि नबढ्नेमा ढुक्क थिए।
तर, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई अधिकारीविरुद्धको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन भित्रभित्रै लागे। यो सूचना पाएपछि अधिकारीले तान्त्रिकदेखि प्रकाश पाठकसम्मलाई प्रयोग गरेर धम्की दिइ राईलाई राजीनामा गराउन बाध्य पार्न खोजेका थिए। तर, राईको जोडबलमा अधिकारीविरुद्ध गत मंसिरयता एकपछि अर्को भ्रष्टाचार मुद्दा दायर भयो।
मिजासिला र सम्बन्ध स्थापित गर्न जान्ने भएकाले नै बस्नेतले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन्द्र शाह र उनको सचिवालयसँग समेत निकटता बनाएका थिए।
स्रोतका अनुसार मेयर हुँदा बालेनलाई ओलीसम्म पुर्याउने सम्बन्ध सेतु उनै बस्नेत थिए। त्यो सम्बन्धका कारण ओलीको डिजिटल ब्राण्डिङका केही काम बालेन निकट व्यक्तिले पाएका थिए।
स्रोतका अनुसार जेनजी आन्दोलनपछि आएको सुशीला कार्कीको सरकारमा रहेका एक मन्त्रीसँग बस्नेतको निकट सम्बन्ध थियो। नयाँ वानेश्वरनजिकको घरमा ती मन्त्री र बस्नेतको भेट भएको थियो। अख्तियार प्रमुख राईले यी सबै विषयमा निगरानी राखेका थिए। स्रोतका अनुसार राईले त्यो घरनजिकको सबै सीसीटीभी फुटेजसमेत मगाएका थिए।
आफ्नो राजीनामा माग्न पुगेका ती मन्त्री राईले सीसीटीभी फुटेज देखाइदिएपछि नाजवाफ भए। राईलाई धम्की दिनेहरुसँग जोडिएका बस्नेतले केही समयका लागि फेरि पनि संरक्षण पाए।
बस्नेतले क्यानका तत्कालीन महानिर्देशक अधिकारीसँग आफ्नो संलग्नता रोइकराइ गरेर अस्वीकार गरे। स्रोतका अनुसार उनले जेनजी आन्दोलनपछि आएको सुशीला कार्की सरकारका एक मन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केही नेतासँग पनि सम्बन्ध स्थापित गरे। उनले फागुन २१ को चुनावमा रास्वपाका केही उम्मेदवारलाई आर्थिक सहयोग गरे। त्यति मात्रै होइन, प्रहरीसँग उनको निकटता छँदै थियो।
अख्तियारको त्यो उजुरी…
अख्तियारमा झण्डै दुई महिनाअघि बस्नेतविरुद्ध उजुरी पर्यो। उजुरीमा उनले आर्जन गरेको सम्पत्ति र रक्तचन्दन तस्करीको प्रमाण पनि संलग्न थियो।
काठमाडौं जिल्ला वन कार्यालयमा आगलागीका कारण प्रमाण जलेको भनेर ढुक्क भएका बस्नेतका लागि त्यही उजुरीले अहिले प्रहरी हिरासतमा पुर्यायो। स्रोतका अनुसार अख्तियारमा परेको उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा फर्वाड गरिएको थियो।
विभागले उजुरी पाउनेबित्तिकै अनुसन्धान अघि बढाएको थियो। ‘विभागले त्यही उजुरीका आधारमा प्रमाण खोज्दा पुरानो मुद्दा भेटेको थियो,’ स्रोतले भन्यो। आफूविरुद्ध उजुरी परेको सुइँको पाएपछि बस्नेतले फेरि पनि चलखेल भने गरेका थिए।
अब के हुन्छ?
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बस्नेतलाई असोज २३ गते राति उनकै निवासबाट पक्राउ गर्यो। सीआइबीले बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंबाट दुई वटा पक्राउ पुर्जी लिएको थियो। ७ दिनभित्र पक्राउ नपरे ३५ दिने पक्राउ पुर्जी तामेल गरी पक्राउ गरेर अदालतमा उपस्थित गराउन भनिएको थियो। अदालतले प्रहरी परिसर भक्तपुरको नाममा पत्राचार गरेको थियो।
‘उहाँको वनको पुरानो मुद्दा भएकाले हामी वन विभागलाई नै बुझाउँछौं,’ सीआइबीका प्रमुख उमाशंकर चतुर्वेदीले बिजमाण्डूसँग भने।
एमाले नेतासम्म पुग्ने बाटो
बस्नेतको सम्पत्ति शुद्धीकरणको अनुसन्धान मिहिन ढंगले गरेमा एमालेका जल्दाबल्दा नेतासम्म जोडिने स्रोतले बताएको छ।स्रोतका अनुसार सिंहदरबारभित्रबाट केही ठेक्कापट्टामा भेरियसन गरेर ठूलो रकम चलखेल भएको र त्यो रकम बस्नेतमार्फत ती नेतासम्म पुगेको थियो।
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन कसरी गर्छ ? उसले मिहिन ढंगले हेर्ने र मनी ट्रेल गर्ने हो भने एमालेका नेतासम्म जोडिन्छन्,’ एक जानेमानेका निर्माण व्यवसायीले बिजमाण्डूसँग भने, ‘अदालतकै पूर्वन्यायाधीशहरु समेत जोडिनसक्ने आधार देखिन सक्छ।’
देशका ठूला ठेक्का सेटिङमा हुने गरेको आरोप छ। अदालतका ठेक्कामा काम नपाउने निर्माण व्यवसायी पनि बोल्न डराउने गरेका छन्। ‘देशमा ठूला पूर्वाधार बन्नु राम्रो हो। तर, ठेक्का लागिसकेपछि विनाकारण भेरियसन गरेर लागत बढाउनु भ्रष्टाचार हो,’ ती व्यवसायीले भने, ‘सिंहदरबारभित्रका ठूला ठेक्कादेखि अड्डा अदालतका ठेक्कामा त्यही भएको थियो। त्यसलाई नजिकबाट हेर्न सके वास्तविकता उजागर हुन्छ।’