काठमाडौं । नेपाली क्रिकेट टोलीले क्रिकेट विश्वकप लिग-२ को अन्तिम सिरिज आजबाट खेल्दैछ। आज मध्याह्न सवा ११ बजे ओमनस्थित अल अमेरत स्टेडियममा नेपाल क्यानडाविरुद्ध मैदानमा उत्रनेछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले लिग-२ टुंगिनै लाग्दासम्म पनि यो प्रतियोगितापछि के हुने भन्ने स्पष्ट खाका दिएको छैन।
३४ खेलबाट ४७ अंक बनाएको अमेरिका दुई खेल खेल्न बाँकी छँदै च्याम्पियन बनिसकेको छ। दोस्रो, तेस्रो र चौथो स्थानमा क्रमश स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमन छन्। नामिबिया र क्यानडा ३१ र २५ अंक बनाउँदै तालिकाको पाँचौँ र छैटौँ स्थानमा छन्।
नेपाल २४ अंकसहित सातौँ र यूएई १९ अंकसहित तालिकाको पुछारमा छ। यी मध्ये स्कटल्याण्डले मात्रै आफ्नो सबै खेल खेलिसकेको छ।
शीर्ष चारमा पर्ने टोलीले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन्। नेपालका लागि अब शीर्ष ४ मा पुग्ने सम्भव छैन। शीर्ष ४ मा नपर्दा अबको ध्यान एकदिवसीय मान्यता जोगाउनेमा केन्द्रीत हुनेछ। नेपालले अन्तिम सिरिजबाट सबै खेल जिते शीर्ष ५ सम्म भने पुग्न सक्छ।
आईसीसीले स्पष्ट खाका नदिँदा एकदिवसीय मान्यता छैटौं स्थानसम्मको टोलीले जोगाउने या सबै प्लेअफबाटै निर्क्योल हुने टुंगो छैन। कम्तीमा नेपालले अब प्लेअफ खेल्नुपर्ने चाहिँ पक्का हो। नेपाल यो प्लेअफ आयोजनाका लागि लबिइङमा समेत जुटिसकेको छ।
नेपाली टोलीले आज क्यानडालाई हराउँदै उसैलाई तालिकामा पछि पार्ने योजनामा छ। पछिल्ला ५ भेटमा नेपालले ३ पटक क्यानडालाई हराउँदा २ पटक पराजित भएको छ।
एसीसी प्रिमियर कप च्याम्पियन बनेर एसियन गेम्समा समेत हार नब्यहोरी बाहिरिएको नेपाल उच्च मनोबलमा छ। अर्कोतर्फ पछिल्लो पटक आन्तरिक विवादमा गिजोलिएको क्यानडा पनि कमब्याकको पर्खाइमा छ।
यद्यपि, पछिल्लो अवे सिरिज नेपालको पनि बिर्सनलायक नै थियो। नेपालले चार खेल खेल्दा सबैमा हारेर फर्किएको थियो। त्यसपछि नेपालको कप्तान परिवर्तन गरिएको थियो।
नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसीर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र शेर मल्ल