गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर थुनिएको बूढीगण्डकीबाट आएको बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन थालेको छ।
आज बिहान ५:३० बजे पहिरोका कारण नदी थुनिएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबासबाट र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको थियो। नदी तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको प्रशासनले जनाएको छ।
बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको जनाइएको छ।
प्रहरीका अनुसार चुमनुब्री-३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बाढीले बगाएको छ। त्यस्तै, उक्त वडाको सिर्दिबास बस्ने रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र एउटा घरमा बाढी पसेको बताइएको छ।
धार्चे गाउँपालिका-५ माछाखोला बाट केरौजा जोड्ने झोलुंगे पुल बगाएको र माछाखोलास्थित तल्लो बस्तीमा बाढी पसेको जनाइएको छ।
सो क्षेत्रमा करिब ७ वटा घर, करिब ७ वटा टहरामा बाढी पसेको भनिएको छ। धार्चेको सल्लेरीमा करिब २२ घर जोखिममा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, आरुघाट- २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको जनाइएको छ।