काठमाडौं। रोयल नेपाल गल्फ क्लबमा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक तथा १०९औँ आरएनजीसी बर्थडे कप गल्फ प्रतियोगितामा पुरुषतर्फ अज्जर सिम्हा र महिलातर्फ अन्वद्या मल्ल विजयी भएका छन्।
गोर्खा ब्रुअरीद्वारा आयोजित प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडी सहभागी भएका थिए। क्लबको १०९औँ वार्षिकोत्सवका अवसरमा असोज २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामाले नेपालको गल्फ खेलको ऐतिहासिक विरासतलाई सम्मान गर्नुका साथै खेल भावना र स्वस्थ प्रतिस्पर्धा प्रवर्धन गर्ने उद्देश्य राखेको थियो।

पुरुषतर्फ अज्जर सिम्हा विजेता हुँदा सुरज श्रेष्ठ उपविजेता बने। महिलातर्फ अन्वद्या मल्ल विजेता र सम्झना खत्री उपविजेता घोषित भए।
सिनियर पुरुषतर्फ युवराज गुरुङले उपाधि जिते भने रविन्द्र मान श्रेष्ठ उपविजेता बने। प्रतियोगिताको समापनसँगै आयोजित पुरस्कार वितरण समारोहमा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो।

गोर्खा ब्रुअरीले आफ्नो प्रिमियम ब्रान्ड कार्ल्सबर्गमार्फत नेपाली खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ। प्रतियोगिताले गल्फ खेलको प्रवर्धन, खेलाडीबीच आपसी सम्बन्ध विस्तार तथा निजी क्षेत्र र खेलकुद संस्थाबीचको सहकार्यलाई महत्त्व दिएको आयोजकले जनाएको छ।