BIZMANDU
www.bizmandu.com

अभिभावकको बैंक खाता, छोराछोरीको मोबाइल कारोबार, यही कमजोरीमा खेल्दैछन् साइबर ठग

२०८३ असोज २४

अभिभावकको बैंक खाता, छोराछोरीको मोबाइल कारोबार, यही कमजोरीमा खेल्दैछन् साइबर ठग
अभिभावकको बैंक खाता, छोराछोरीको मोबाइल कारोबार, यही कमजोरीमा खेल्दैछन् साइबर ठग


काठमाडौं। असोज ३ गते साँझ सुनिता राई (नाम परिवर्तन) तरकारी किन्न घरबाट निस्किइन्। उनको मोबाइल कक्षा ८ मा पढ्ने छोराले चलाइरहेका थिए। बुबा वैदेशिक रोजगारीमा भएकाले घरमा आमा, छोरा र १८ वर्षीया दिदी थिए। केही दिनदेखि दिदीले आमासँग टिसर्ट किनिदिन आग्रह गरिरहेकी थिइन्।

GBIME
Tata

उनले टिकटकमा ‘गर्ल्स् फेसन कलेक्सन ४’ नामको अकाउन्टमा एउटा टिसर्ट हेरेकी पनि थिइन्। मूल्य थियो, ४५० रुपैयाँ। अकाउन्टमा नेपालभरि डेलिभरी हुने उल्लेख थियो।

दिदीले भाइलाई अनलाइनबाटै टिसर्ट अर्डर गर्न भनिन्। भाइले पनि टिकटकमा देखिएको अकाउन्टमा सम्पर्क गरी ह्वाट्सएपमार्फत टिसर्टको फोटो पठाएर अर्डर गरे। उताबाट ह्वाट्सएपमै ४५० रुपैयाँ पठाउन भनियो।

मोबाइल बैंकिङ आमा सुनिताकै नाममा थियो, तर प्रविधिमा खासै अभ्यस्त थिइनन्। छोराले नै चलाइदिन्थे। त्यस दिन पनि उनले आमाको मोबाइल बैंकिङबाट ४५० रुपैयाँ पठाए।

त्यसपछि सुरु भयो ठगीको खेल।

केहीबेरमै उताबाट रकम प्राप्त नभएको भन्दै अर्को सन्देश आयो। अझै एक कदम अघि बढेर ‘तपाईंको बैंक खाता होल्ड भएको’ बताइयो। ह्वाट्सएपबाटै खाता खुलाउन भन्दै विभिन्न निर्देशन दिइयो। त्यसपछि पटक-पटक तीनवटा क्यूआर कोड पठाइयो।

कक्षा ८ मा पढ्ने किसोरले उताबाट भनिएअनुसार तीनपटक रकम पठाए। उनलाई आफू ठगीको जालोमा परिसकेको पत्तै थिएन। तीनपटकमा आमाको खाताबाट करिब २ लाख ४० हजार ४ सय रुपैयाँ बाहिरिइसकेको थियो।

आमालाई छोराले आफ्नो खाताबाट यति ठूलो रकम पठाएको जानकारी थिएन। खातामा रहेको रकम घट्दै गएको म्यासेज आउन थालेको देखेपछि मात्र किसोर आत्तिए। उनले दिदीलाई सबै कुरा सुनाए।

उनीहरुले सल्लाहपछि रकम प्राप्तकर्तालाई फोन गरे। उताबाट पनि धेरै रकम आएको स्वीकार गरियो। ‘कर्मचारीले तत्कालै रकम फिर्ता गरिदिन्छ’ भन्दै आश्वस्त पारियो। तर रकम फर्किएन। केही समयपछि फोनसमेत उठ्न छाड्यो।

किसोरले आमालाई तत्काल घटना सुनाउन सकेनन्। बरु नाताका दाइलाई फोन गरेर सबै कुरा बताए। दाइ घर पुगेपछि मात्र आमाले आफ्नो मोबाइल बैंकिङबाट ठूलो रकम बाहिरिएको थाहा पाइन्।

‘ह्वाट्सएपमा जे–जे भन्यो, त्यही गर्दै गएछ। पछि पो मलाई भनेर थाहा भयो,’ घटनाबारे ती दाइले भने।

घटना भएको दुई दिनपछि परिवारले भक्तपुर प्रहरीमा पुगेर निवेदन दिए।

यो एउटा घटना मात्र होइन। प्रविधिको पहुँच बढेसँगै बैंक खाता चलाउने तर डिजिटल ठगीको जोखिमबारे पर्याप्त जानकारी नभएका परिवारसमेत स्क्यामरको निसानामा पर्न थालेका छन्।

साउनको अन्तिम साता यस्तै अर्को घटना भयो। एक बैंकको नाम लिएर फोन गर्ने व्यक्तिले एक अवकाशप्राप्त सरकारी कर्मचारीको बैंक खाता ब्लक भएको भन्दै केवाईसी अपडेट गर्नुपर्ने बताए। बैंककै विषय भएकाले हजुरबुबाले नातिलाई फोनमा कुरा गर्न दिए।

नातिले पनि खासै शंका गरेनन्। ह्वाट्सएपमार्फत जोडिएर फोनमा भनिएअनुसार काम गर्दै गए। ठगले खातासम्बन्धी विवरण लिएपछि ओटीपी कोडसमेत माग्यो। नातिले ओटीपी दिएपछि खातामा रहेको रकम निकालियो।

बैंकबाट पैसा गएपछि मात्र परिवारले आफू ठगीमा परेको थाहा पायो। उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढायो। साइबर ब्युरोको टोलीले भदौ २ गते यस्तै प्रकृतिको ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको थियो।

गत बुधबार प्रहरीले एकजना १७ वर्षीय किशोरलाई धनुषाबाट नियन्त्रणमा लिएपछि एउटा सार्वजनिक सूचना जारी गरेको थियो – ‘टिकटकमा ‘सन्ध्याकलेक्सन३५’ आइडीबाट अनलाइन सपिङका नाममा ठगीमा परेकाहरु सम्पर्कमा आउनुस्।’

ती किशोरले धेरैलाई ठगेको शंका गरिएको थियो। गत साउन ३० मा परेको जाहेरीका आधारमा ह्वाट्सएपको आईपी एड्रेस पछ्याउँदै जाँदा धनुषा प्रहरीको सहयोगमा उनलाई गत सोमबार पक्राउ गरिएको हो। उनीबाट ठगीमा परेकाहरुले अहिले प्रहरीलाई सम्पर्क गरिरहेका छन्।

‘बैंक तथा वालेटको केवाईसी अपडेटका नाममा सबै जानकारी लिएर रकम झिक्ने समूह बढेको छ। प्रविधिको अभाव र जानकारी नहुँदा आफ्नो खाताको रकम झिक्न आफैं जानकारी दिइएको पाइएको छ,’ साइबर ब्युरोका एसपी दिलीपकुमार गिरीले भने।

नेपाल प्रहरीका अनुसार पछिल्लो समय साइबर ठगीको दायरा बैंक खाताबाट अनलाइन सपिङसम्म फैलिएको छ। बैंक तथा वालेटका कर्मचारी बनेर खाता र व्यक्तिगत विवरण माग्ने, गिफ्ट, लट्री वा पार्सलको प्रलोभन देखाउने, प्रेमसम्बन्धको बहानामा रकम माग्ने, वैदेशिक रोजगारीको प्रलोभन दिने तथा टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममा अनलाइन जबका नाममा ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ।

अनलाइन सपिङका नाममा पनि सामाजिक सञ्जालमार्फत सम्पर्क गराउने, सानो रकमको सामान देखाएर विश्वास जित्ने र त्यसपछि बैंक वा डिजिटल वालेटबाट रकम पठाउन लगाउने शैली प्रयोग भइरहेको छ। कतिपय घटनामा विदेशी नागरिकको योजनामा नेपालीको बैंक खाता प्रयोग गरी रकम स्थानान्तरण गर्ने गरेकोसमेत प्रहरी अनुसन्धानबाट देखिएको छ।

प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका छन्। अघिल्लो आव यस्तो निवेदन संख्या १८ हजार ९२६ थियो।

नेपाल प्रहरी साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो निवेदन संख्या १८ हजार ९२६ थियो भने आव २०८०/८१ मा १९ हजार ७३० थियो। गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता हुँदा १५५ जना पक्राउ परेका थिए।

दर्ता भएका निवेदनमध्ये सबैभन्दा धेरै सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन्। फेसबुक/मेसेन्जरबाट ७ हजार १२३, टिकटकबाट ६ हजार ७७६, ह्वाट्सएपबाट ३ हजार १०५, टेलिग्रामबाट १ हजार ३१ र इन्स्टाग्रामबाट ६२८ वटा निवेदन परेका छन्। ई–सेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४ वटा निवेदन दर्ता भएका छन्। प्रहरीका लागि पनि साइबर ठगी र बैंकिङ कसुर बढ्दो चुनौती बनेको छ।

‘अहिले साइबर र बैंकिङ कसुरका अपराध नै हाम्रो लागि चुनौती बनेका छन्। यसमा मानिसमा जनचेतना नै सबैभन्दा बढी आवश्यक देखिएको छ,’ नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले भने। बैंक खाता बाबुआमाको नाममा भए पनि मोबाइल र डिजिटल कारोबारको जिम्मेवारी छोराछोरीले सम्हाल्ने परिवारका लागि यो घटना एउटा पाठ बनेको उनले बताए।