काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर शुक्रबारदेखि अवरुद्ध यातायात खुलाउन स्थानीय सडक काटेर ‘ब्याक कटिङ’ सुरु गरिएको छ। त्रिशूली नदीको कटानले सडक भासिएपछि मर्मतका लागि स्थानीय सडकको भाग काटेर पछाडितर्फबाट सडक फराकिलो बनाउने काम थालिएको हो।
काममा थप अवरोध नभए करिब आठ घण्टाभित्र यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको सडक विभागले जनाएको छ।
गजुरीनजिक काठमाडौं जानेतर्फ गलौँदीमा त्रिशूली नदीले कटान गरेपछि शुक्रबार साँझ सडक भासिएयता आवागमन अवरुद्ध छ। सडकको भित्री भागमा स्थानीय सडक रहेकाले त्यसलाई काटेर मात्रै ब्याक कटिङ गर्न सकिने अवस्था थियो। तर, स्थानीय सडक काट्ने विषयमा स्थानीय तहसँग सहमति नहुँदा काम सुरु हुन सकेको थिएन।
स्थानीय तहसँग छलफल भएपछि ब्याक कटिङको काम अघि बढाइएको हो। सडक खुलाउन भासिएको भागको अवस्था हेरेर आवश्यक कटिङ र मर्मत गरिनेछ। यातायात सञ्चालनको समय भने कामको प्रगति र सडकको अवस्थाले निर्धारण गर्नेछ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र बाहिरका जिल्लाबीच आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।
यसैबीच, बिपी राजमार्गअन्तर्गत काभ्रेको नार्के र पिन्थलीबीच निर्माणाधीन सडकखण्डमा लेदो झरेर अवरुद्ध भएको यातायात पुनः सञ्चालनमा आएको छ। मंगलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ पर्ने उक्त सडकखण्डमा रातभरको अविरल वर्षाका कारण लेदो झरेको थियो। लेदो हटाउने काम सुरु गरेपछि सवारी आवागमन सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।