नयाँदिल्लीमा निर्वाचन आयोग प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन चर्किएको छ। चर्चित युट्युबर ध्रुव राठीलाई पनि प्रदर्शनमा सहभागी हुनुअघि प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रहरीले प्रदर्शन रोक्न राजधानीमा सुरक्षा कडा पारेको छ।
प्रहरीले विभिन्न स्थानबाट करिब ६ सय जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। राठीलाई शनिबार बिहान हरियाणाको गुरुग्रामस्थित सेक्टर ५६ को निवासबाट नियन्त्रणमा लिइएको हो। उनी नयाँदिल्लीको जन्तरमन्तरमा हुने प्रदर्शनमा सहभागी हुन जाने तयारीमा थिए।
आफूहरुको आग्रह नमानेर प्रदर्शनमा जान खोजेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिनुको कानुनी आधार र त्यसपछिको अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक नभएको द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
प्रदर्शनको नेतृत्व गरिरहेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन आह्वान गरेको हो। निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनका क्रममा ठूलो संख्यामा नाम हटाएको विषयलाई लिएर विवाद चर्किएको छ। आयुक्त कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई चुनावी फाइदा पुर्याएको आरोप प्रदर्शनकारीको छ।
भारतीय निर्वाचन आयोग र भाजपाले भने मतदाता सूचीबाट हटाइएका नाम दोहोरिएका, अयोग्य वा मृत्यु भएका व्यक्तिका हुन सक्ने भन्दै अनियमितताको आरोप अस्वीकार गरेका छन्। आयोगका अनुसार सूची पुनरावलोकनको प्रक्रिया अझै पूरा भएको छैन र गलत रूपमा नाम हटाइएका मतदाताले पुनः नाम दर्ता गर्न सक्छन्।
प्रदर्शन रोक्न दिल्ली प्रहरीले राजधानीका प्रमुख स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। विभिन्न प्रवेशमार्गमा अवरोध खडा गरिएको छ भने केही मेट्रो स्टेसनका प्रवेश तथा निकास बन्द गरिएका छन्। प्रदर्शन क्षेत्रनजिक मोबाइल इन्टरनेट सेवासमेत अस्थायी रूपमा बन्द गरिएको समाचारमा उल्लेख छ। रोयटर्सका अनुसार दिल्ली क्षेत्रमा मात्रै करिब २०० प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो। अन्य भारतीय सञ्चारमाध्यमले नियन्त्रणमा लिइएकाको संख्या अझ बढी हुन सक्ने जनाएका छन्।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ। तर आयोजकहरूले शान्तिपूर्ण प्रदर्शन गर्नु नागरिकको अधिकार भन्दै माग पुरा नभएसम्म प्रदर्शन जारी रहने बताइरहेका छन्।