अमेरिकी सेयर बजारमा भएको वृद्धिले ज्येष्ठ नागरिकको सम्पत्ति बढाइरहेका बेला युवा परिवारको सम्पत्ति भने घटेको छ। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले सार्वजनिक गरेको नयाँ सर्वेक्षणअनुसार ७५ वर्ष वा सोभन्दा बढी उमेरका सदस्यले नेतृत्व गरेका परिवार अमेरिकाकै सबैभन्दा धनी बनेका छन्। तर ३५ वर्षमुनिका सदस्यले नेतृत्व गरेका परिवारको सम्पत्ति पछिल्ला तीन वर्षमा उल्लेख्य परिमाणमा घटेको छ।
फेडरल रिजर्भको ‘सर्भे अफ कन्ज्युमर फाइनान्सेस’ अनुसार सन् २०२२ देखि २०२५ सम्म ७५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले नेतृत्व गरेका परिवारको मध्यक खुद सम्पत्ति ३६७ हजार डलरभन्दा केही बढीबाट बढेर करिब ५०५ हजार डलर पुगेको छ। यो करिब ३७ प्रतिशतको वृद्धि हो। तीन वर्षअघि ६५ देखि ७४ वर्ष उमेर समूहका परिवार सबैभन्दा धनी थिए। अहिले उनीहरूलाई उछिन्दै ७५ वर्षमाथिका परिवार शीर्ष स्थानमा पुगेका छन्।
यसको विपरीत, ३५ वर्षमुनिका व्यक्तिले नेतृत्व गरेका परिवारको मध्यक खुद सम्पत्ति २०२२ को तुलनामा २३ प्रतिशत घटेर ३३ हजार डलरमा झरेको छ। यी सबै सम्पत्तिका तथ्यांक मुद्रास्फीतिको प्रभाव समायोजन गरेर निकालिएको द वासिंङ्टन पोस्टले उल्लेख गरेको छ।
सर्वेक्षणले अमेरिकी परिवारको सम्पत्ति वृद्धिमा सेयर बजारको लाभ कति असमान रूपमा वितरण भइरहेको छ भन्ने पनि देखाएको छ। सबैभन्दा धनी १० प्रतिशत परिवारको मध्यक खुद सम्पत्ति तीन वर्षमा ३१ प्रतिशत बढेर ३६ लाख डलर पुगेको छ। अर्थात्, धनी परिवारको सम्पत्ति बढ्ने गति समग्र परिवारको सम्पत्ति वृद्धिभन्दा निकै तीव्र छ।
फेडरल रिजर्भका अनुसार सन् २०२२ देखि २०२५ सम्म अमेरिकी परिवारको मध्यक खुद सम्पत्ति समग्रमा २ प्रतिशत बढेर २ लाख १५ हजार ९०० डलर पुगेको छ। औसत खुद सम्पत्ति भने ७ प्रतिशत बढेर १२ लाख ४० हजार डलर पुगेको छ। मध्यक र औसतबीचको ठूलो अन्तरले अत्यधिक सम्पत्ति भएका परिवारले समग्र औसतलाई माथि तानेको संकेत गर्छ।
सम्पत्तिमा यस्तो अन्तर देखिए पनि आम्दानीको अवस्था भने केही फरक छ। सन् २०२१ देखि २०२४ सम्म अमेरिकी परिवारको मुद्रास्फीति समायोजित मध्यक आम्दानी ७ प्रतिशत बढेर ८२ हजार २०० डलर पुगेको छ। तर औसत आम्दानी ६ प्रतिशत घटेर १ लाख ४५ हजार २०० डलरमा झरेको फेडरल रिजर्भले जनाएको छ। मध्यक आम्दानी बढ्दा औसत आम्दानी घट्नुले उच्च आम्दानी भएका केही परिवारको जेथामा आएको गिरावटले समग्र औसतलाई प्रभावित गरेको देखाउँछ।
सम्पत्ति र आम्दानीका सूचकमा केही सुधार देखिए पनि अमेरिकी परिवारको ऋण भुक्तानी क्षमता कमजोर बन्दै गएको छ। सन् २०२५ मा झन्डै २० प्रतिशत परिवारले अघिल्लो एक वर्षभित्र ऋणको किस्ता समयमा तिर्न नसकेको बताएका छन्। सन् २०२२ मा यस्तो समस्या भोग्ने परिवार १२.२ प्रतिशत थिए। त्यस्तै, आफ्नो आम्दानीको ४० प्रतिशत वा बढी रकम ऋणको किस्ता तिर्न खर्च गर्ने परिवारको हिस्सा बढेर ८.६ प्रतिशत पुगेको छ। यो सन् २०१३ यताकै उच्च स्तर हो।
रोयटर्सका अनुसार उच्च ब्याजदर र मुद्रास्फीतिको दबाबले परिवारको ऋणभार बढाएको छ। सेयर बजारमा लगानी गर्ने क्षमता भएका परिवारले सम्पत्ति बढाउने अवसर पाए पनि ऋणमा निर्भर र कम सम्पत्ति भएका परिवारले त्यसको समान लाभ लिन सकेका छैनन्। सन् २०२२ को तुलनामा सबैभन्दा तल्लो सम्पत्ति समूहका परिवारको खुद सम्पत्तिमा पनि उल्लेख्य गिरावट आएको छ।
फेडरल रिजर्भले प्रत्येक तीन वर्षमा गर्ने यो सर्वेक्षणले परिवारको सम्पत्ति, आम्दानी, ऋण, लगानी र वित्तीय अवस्थाको विस्तृत चित्र प्रस्तुत गर्छ। सन् २०२५ को सर्वेक्षणले अमेरिकामा समग्र सम्पत्ति बढे पनि त्यसको लाभ सबै पुस्ता र आर्थिक समूहमा समान रूपमा नपुगेको देखाएको छ। विशेषगरी, लामो समयदेखि सम्पत्ति सञ्चय गर्दै आएका ज्येष्ठ नागरिकले सेयर बजारको वृद्धिबाट लाभ लिँदा युवा परिवार भने सम्पत्ति निर्माणको प्रारम्भिक चरणमै आर्थिक दबाबको सामना गरिरहेका छन्।