BIZMANDU
www.bizmandu.com

निर्वासित पत्रकारको जीवन पछ्याउँदै पाँच वर्ष, वृत्तचित्रमा युद्ध र प्रेस स्वतन्त्रताको कथा

२०८३ असोज २४

निर्वासित पत्रकारको जीवन पछ्याउँदै पाँच वर्ष, वृत्तचित्रमा युद्ध र प्रेस स्वतन्त्रताको कथा
निर्वासित पत्रकारको जीवन पछ्याउँदै पाँच वर्ष, वृत्तचित्रमा युद्ध र प्रेस स्वतन्त्रताको कथा


जुलिया लोकतेभको नयाँ वृत्तचित्रको सुरुवात हलिउडको कुनै तनावपूर्ण जासुसी चलचित्रको दृश्यजस्तै हुन्छ।

GBIME
Tata

उनले आफ्नो आईफोनमा खिचिरहेका पत्रकारहरू रुसबाट बाहिरिन हतार गरिरहेका छन्। उनीहरूमध्ये धेरैसँग कहाँ जाने, कहाँ बस्ने भन्ने निश्चित योजना छैन। हतारहतार झोलामा कोचिएका सामान बोकेर उनीहरू सीमा पार गर्न खोजिरहेका छन्। यात्राका क्रममा कतै रोकिइने हो कि भन्ने त्रास पनि उत्तिकै छ।

झन्डै ६ घण्टा लामो वृत्तचित्र ‘माई अनडिजायरेबल फ्रेन्ड्स : पार्ट टु – एक्जाइल’ यसै सप्ताहान्तदेखि केही सीमित सिनेमा हलमा प्रदर्शन हुँदै छ। यो रुसी पत्रकारहरूको जीवनमाथि लोकतेभले बनाएको वृत्तचित्रको दोस्रो भाग हो। पाँच वर्ष लगाएर तयार पारिएको यस परियोजनाले स्वतन्त्र पत्रकारहरूले आफ्नो देश छाड्नुपर्दाको अवस्था र निर्वासनमा रहेर पनि पत्रकारिता जारी राख्न गरेको संघर्षलाई पछ्याएको छ।

सन् २०२१ को शरद ऋतुमा लोकतेभले मस्कोमा स्वतन्त्र पत्रकारहरूको एउटा समूहलाई क्यामेरामा कैद गर्न थालेकी थिइन्। त्यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले पत्रकारहरूलाई ‘विदेशी एजेन्ट’ घोषणा गर्न थालेको थियो। यस्तो वर्गीकरणले सम्बन्धित पत्रकार र सञ्चारमाध्यमलाई बदनाम गर्ने उद्देश्य राख्नुका साथै उनीहरूको विज्ञापनबाट आम्दानी गर्ने क्षमतामा समेत अवरोध पुर्‍याउँथ्यो।

तर, त्यसको चार महिनापछि परिस्थिति नाटकीय रूपमा बदलियो। रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्‍यो। त्यसपछि धेरै पत्रकारले केही घण्टाभित्रै देश छाड्नुपर्ने अवस्था आयो। लोकतेभले पनि आफ्नो क्यामेरा बन्द गरिनन्। उनले देशबाहिर पुगेका पत्रकारहरूलाई पछ्याउँदै युद्धका समाचार कसरी संकलन गरिरहेका छन् भन्ने कथा खिच्न थालिन्।

लोकतेभले समाचार संस्था एसोसिएटेड प्रेससँगको हालैको कुराकानीमा भनिन्, ‘मानिसहरूले झन्डै ६ घण्टाको पत्रकारिता सम्बन्धी चलचित्र भन्ने सुन्नासाथ ओहो, त्यो त निकै गाह्रो होला भन्छन्। तर, वास्तवमा त्यस्तो होइन। यो त मानिसहरूसँग बसेर उनीहरूको जीवन बुझ्ने चलचित्रजस्तै हो। आत्मीय चलचित्र हो।’

लामो चलचित्र, तर गृहकार्यजस्तो होइन
आजको ध्यानकेन्द्रित अर्थतन्त्रमा कुनै विषयमा झन्डै ६ घण्टा लामो वृत्तचित्र दर्शकलाई आकर्षित गर्ने सजिलो माध्यम होइन। लोकतेभलाई यो कुरा थाहा छ। यसअघि उनले ‘माई अनडिजायरेबल फ्रेन्ड्स : पार्ट वान — लास्ट एयर इन मस्को’ बनाउँदा पनि यही चुनौती सामना गरेकी थिइन्। उक्त चलचित्र अस्कर मनोनयनको प्रारम्भिक छनोट सूचीमा परेको थियो र अहिले एमयूबीआईमा हेर्न सकिन्छ। त्यसको अवधि पनि साढे पाँच घण्टाजति छ।

पहिलो वृत्तचित्रले प्रेस स्वतन्त्रता समाप्त पार्ने दिशामा अघि बढिरहेको समाजमा काम गरिरहेका पत्रकारहरूको जीवन चित्रण गरेको थियो। दोस्रो भागमा भने देश छाड्न बाध्य भएका तिनै पत्रकारहरूको जीवन र उनीहरूले निर्वासनमा रहेर गरिरहेको कामलाई केन्द्रमा राखिएको छ।

परम्परागत चलचित्र वितरण कम्पनीको सहयोगबिना दुवै चलचित्र दर्शकमाझ पुर्‍याउने काम पनि लोकतेभका लागि सहज छैन। हालै एक प्रचारकले उनलाई दर्शकहरू प्रेस स्वतन्त्रता र अधिनायकवादका कुरा सुन्दा थाकिसकेको बताएकी थिइन्।

लोकतेभको जवाफ थियो, ‘मलाई यो निकै रोचक लाग्यो, किनकि अधिनायकवाद भने उनीहरूबाट थाकेको छैन।’
विषयवस्तु गम्भीर हुनु, चलचित्रको अवधि लामो हुनु र पात्रहरूको संख्या धेरै हुनुले यी वृत्तचित्रलाई दर्शकका लागि बोझिलो बनाएको छैन। यसको एउटा कारण चलचित्रमा देखाइएका मानिसहरूको जीवनसँग दर्शकले आफूलाई जोड्न सक्नु हो।

अधिकांश पात्र २० देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरू असाधारण परिस्थितिमा भए पनि सामान्य मानिसजस्तै आफ्ना काम, सम्बन्ध र भविष्यका चिन्तासँग जुधिरहेका छन्।

दोस्रो भाग हेर्न पहिलो भाग हेर्नैपर्ने बाध्यता पनि छैन। लोकतेभका लागि आफ्ना पात्रसँग लामो समय बिताउनुको मुख्य आकर्षण उनीहरूको यही मानवीय पक्ष थियो।

‘यो भयानक समयमा केही राम्रो गर्ने प्रयास गरिरहेका सामान्य मानिसहरूको कथा हो,’ लोकतेभले भनिन्, ‘यो चलचित्र दृढताबारे पनि हो। मानिसहरूको ध्यान अर्को विषयतिर मोडिएपछि पनि कथा कसरी भनिरहने? भोलिपल्ट बिहान उठेर फेरि आफ्नो काममा लाग्न सक्ने आशावाद कसरी कायम राख्ने, वा कम्तीमा त्यसका लागि आवश्यक आशा कसरी जोगाइराख्ने?’

देश छाडे, पत्रकारिता छाडेनन्
सन् २०२१ यता रुसी अधिकारीहरूले दर्जनौँ सञ्चारमाध्यम र पत्रकारलाई ‘विदेशी एजेन्ट’ घोषणा गरेका छन्। यो पदावली उनीहरूलाई बदनाम गर्ने उद्देश्यले प्रयोग गरिएको मानिन्छ। यस्तो वर्गीकरणमा परेका सञ्चारमाध्यमलाई विज्ञापन बेचेर आम्दानी गर्नसमेत कठिन हुन्छ। रुसले कतिपय सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउनुका साथै पत्रकारहरूलाई जेलसमेत पठाएको छ।

युक्रेनमाथि आक्रमण सुरु भएको पहिलो केही साताभित्रै धेरै स्वतन्त्र सञ्चारमाध्यमले आफ्ना समाचार कक्ष रुसबाहिर सारे। उनीहरूले विदेशबाटै पत्रकारिता जारी राखे। रुसभित्र रहेका पाठकले भने भीपीएन प्रयोग गरेर ती सञ्चारमाध्यमका सामग्री पढ्न सक्ने अवस्था रह्यो।

लोकतेभको जन्म सन् १९६९ मा तत्कालीन सोभियत संघमा भएको थियो। उनी नौ वर्षकी हुँदा परिवारसहित अमेरिका गएकी थिइन्। तर, आमासँग रुसी भाषामै कुराकानी गर्ने गरेकाले रुसी पत्रकारहरूको संसारमा प्रवेश गर्न उनलाई सहज भयो।
स्वतन्त्र टेलिभिजन समाचार सञ्जाल टीभी रेनमा काम गर्ने अन्ना नेम्जर उनका लागि यस वृत्तचित्रको सुरुवाती सम्पर्क बनिन्। नेम्जरकै माध्यमबाट लोकतेभले स्वतन्त्र पत्रकारहरूको समूहलाई नजिकबाट बुझ्ने अवसर पाइन्।

उनले सबै दृश्य आईफोनबाट खिचेकी थिइन्। यसले उनलाई पात्रहरूको पृष्ठभूमिमा सहजै घुलमिल हुन मद्दत गर्‍यो। ठूलो क्यामेरा र उपकरणको उपस्थितिबिना पत्रकारहरूको दैनिक जीवन, उनीहरूबीचका कुराकानी र अनिश्चितताका क्षणलाई स्वाभाविक रूपमा खिच्न सकिन्।

दोस्रो भागको छायांकनका क्रममा भने उनलाई युरोपका विभिन्न देशमा निरन्तर यात्रा गर्नुपर्‍यो। युद्धपछि उनका पात्रहरू अलग-अलग देशमा छरिएका थिए। उनीहरूलाई भेट्न र कामलाई निरन्तरता दिन लोकतेभले पनि आफ्नो यात्रा जारी राखिन्।

पत्रकारहरूले रुस छाडेको केही समयपछि लोकतेभ स्वयंले पनि देश छाडिन्। तर, उनी तत्काल निस्कन चाहँदिनथिन्। आफूले खिचेका दृश्य सुरक्षित रूपमा क्लाउडमा अपलोड भएको सुनिश्चित गर्न चाहन्थिन्। त्यसपछि मात्रै पर्यटक भिसामा रुसबाट बाहिरिने तयारी गरिन्।

उनलाई सीमा जाँचका क्रममा अधिकारीले राहदानी हेर्दै सामान्यभन्दा लामो समय लगाउनु र ‘कम्प्युटर अड्किएको छ’ भन्नु भनेको थप जाँच भइरहेको संकेत हुन सक्ने चेतावनी दिइएको थियो।

मस्को विमानस्थलमा आफूले पनि त्यस्तै अनुभव गरेको लोकतेभले सुनाइन्।

‘म त्यहाँ उभिएकी थिएँ। मैले समस्या छ कि भनेर सोधेँ। उनीहरूले भने, ‘होइन, होइन, हाम्रो कम्प्युटर मात्रै अड्किएको हो।’ त्यो झन्डै २० मिनेटसम्म अड्किरह्यो। मैले आफूलाई पिसाब निस्कन लागेजस्तो त्रासबाट जोगाउने प्रयास गरिरहेँ,’ उनले भनिन्।

पत्रकारिताबाट युद्धभूमिसम्म
यस वृत्तचित्रको विश्व प्रिमियर भेनिस फिल्म फेस्टिभलमा भएको थियो। अन्ना नेम्जरसहित चलचित्रका केही पात्र लोकतेभसँगै उक्त कार्यक्रममा सहभागी भएका थिए। तीमध्ये धेरैले विदेशबाटै पत्रकारिता जारी राखेका छन्। तर, दोस्रो भागमा एक पात्रको जीवनले फरक मोड लिन्छ। रुसी पत्रकार रहिसकेका पिटर रुजाभिनले युक्रेनी पत्रकारसँग विवाह गरेका छन्। उनले पछि युक्रेनी सेनामा भर्ना हुने निर्णय गरे।

उनका अनुसार पत्रकारितामार्फत वास्तविकता देखाउन सकिए पनि त्यसले वास्तविकतामा परिवर्तन ल्याउन नसकेको महसुस भएपछि उनले यस्तो निर्णय लिएका हुन्। ‘हामीले पुटिनबाट भागेर मात्रै हुँदैन। हामीले उनीसँग लड्नुपर्छ,’ भेनिसमा रुजाभिनले भने। उनी दुई वर्षभन्दा बढी समयदेखि युक्रेनी सेनामा कार्यरत छन्।

‘त्यसैले मैले यो निर्णय गरेँ। मैले आफ्नो सबैभन्दा राम्रो काम छाडेँ। मलाई हरेक दिन त्यसको सम्झना आउँछ,’ उनले भने।

रुजाभिनको निर्णयले चलचित्रमा पत्रकारिताको भूमिका र त्यसको सीमाबारे अर्को प्रश्न उठाउँछ। युद्धको वास्तविकता संसारसामु प्रस्तुत गर्नु पत्रकारको काम हो। तर, त्यस्तो रिपोर्टिङले युद्ध रोक्न वा राजनीतिक निर्णय बदल्न नसक्दा पत्रकारले आफ्नो भूमिकालाई कसरी हेर्ने भन्ने प्रश्न पनि चलचित्रमा उपस्थित छ।

लोकतेभले पछिल्ला केही दिनमा आफ्नो चलचित्रबारे आएका समाचार शीर्षकहरू पनि ध्यानपूर्वक हेरेकी छन्। ‘द डेली बिस्ट’ मा प्रकाशित एउटा शीर्षकमा पुटिनका ‘युद्ध अपराध’ नयाँ चलचित्रमा चकित पार्ने ढंगले उजागर गरिएको उल्लेख थियो।

तर, लोकतेभका अनुसार उनको चलचित्र युद्ध अपराधको पर्दाफास गर्ने अनुसन्धानात्मक वृत्तचित्र होइन। यसको उद्देश्य पत्रकारहरूले के गर्न खोजिरहेका छन् भन्ने सम्झाउनु हो, विशेषगरी जब संसारको ध्यान युद्धबाट हटेर अर्को विषयमा केन्द्रित हुन थाल्छ।

‘मलाई लाग्छ, अहिले यो चलचित्रसँग जोडिएको हाम्रो एउटा संघर्ष यही हो, र म यो कुरा इमानदारीपूर्वक स्वीकार गर्छु। सबैजना अर्को विषयतिर अघि बढ्छन्,’ उनले भनिन्, ‘तर, अघिल्लो विषय भने बदलिएको हुँदैन।’

युद्ध, प्रेस स्वतन्त्रता र अधिनायकवादबारे संसारको ध्यान लामो समयसम्म कायम राख्न कठिन भइरहेको उनको भनाइ छ। समाचारका विषय फेरिँदै जान्छन्, तर ती विषयको केन्द्रमा रहेका मानिसहरूको जीवनमा संकट भने निरन्तर रहन सक्छ।

लोकतेभका अनुसार भविष्यमा रुसको राजनीतिक परिस्थिति परिवर्तन भएमा यस वृत्तचित्रको तेस्रो भाग बनाउने कल्पना पनि गरेकी छन्। ‘यदि कहिल्यै रुसको राजनीतिक परिस्थिति बदलियो भने,’ उनले तेस्रो भाग बनाउने सम्भावनाबारे भनिन्।

तर, त्यसका लागि लामो समय कुर्नुपर्ने हुन सक्छ भन्ने उनलाई थाहा छ। ‘त्यतिबेलासम्म हामी निकै बूढा भइसकेका पनि हुन सक्छौँ,’ उनले भनिन्। (एपी)