हेटौंडा। सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा नयाँ समयतालिका निर्धारण गरेको छ। काठमाडौं-मुग्लिङ सडकखण्ड शनिबार गलौंदी पहिरोले अवरुद्ध भएपछि वैकल्पिक सडकमा पर्ने चापलाई ध्यानमा राख्दै स्थानीय प्रशासन सतर्क भएको हो।
प्रशासकीय अधिकृत सन्तोष सुवेदीले सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए। उनका अनुसार हेटौंडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई शनिबार बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ।
यसैगरी आइतबार बिहान ४ बजेदेखि १० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ। त्यस्तै, काठमाडौंबाट हेटौंडातर्फ आउने सवारीसाधनलाई शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सञ्चालनको समय निर्धारण गरिएको छ।
आइतबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाडौंबाट हेटौंडातर्फ सवारीसाधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए। उनका अनुसार त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ।
त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिङ–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिएको बताए।
उनका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौं जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समयतालिका लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ।