BIZMANDU
www.bizmandu.com

राजस्व समीक्षामा अर्थमन्त्रीको ध्यान बक्यौता असुलीमा, ‘उपहार कार्यक्रमले लक्ष्य भेट्न सघायो’

२०८३ असोज २३

राजस्व समीक्षामा अर्थमन्त्रीको ध्यान बक्यौता असुलीमा, ‘उपहार कार्यक्रमले लक्ष्य भेट्न सघायो’
राजस्व समीक्षामा अर्थमन्त्रीको ध्यान बक्यौता असुलीमा, ‘उपहार कार्यक्रमले लक्ष्य भेट्न सघायो’


काठमाडौं। राजस्व परामर्श समितिको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्यौता असुलीलाई विशेष प्राथमिकता दिए।

GBIME
Tata

बैठकमा सहभागी राजस्व समितिका सदस्यहरूको कुरा सुनेपछि वाग्लेले बजेटको राजस्व लक्ष्य भेट्न बक्यौता असुली महत्त्वपूर्ण रहेकाले सोहीअनुसार संयन्त्रहरूलाई प्रभावकारी बनाउनुपर्ने बताए।

‘बजेटले राजस्वको ऐतिहासिक रूपमा ठूलो लक्ष्य राखेको छ। सबै संयन्त्रहरू एक्टिभरुपमा लागे भने यो सजिलै पार गर्न सकिन्छ। यसका लागि बक्यौता असुली प्रभावकारी बनाउनु पर्‍यो। चुहावट पूर्ण रुपमा नियन्त्रण हुनुपर्‍यो,’ वाग्लेलाई उदृत् गर्दै बैठकमा सहभागी एक अधिकारीले भने।

बक्यौता, प्रशासकीय पुनरावलोकन, राजस्व न्यायाधिकरण तथा अदालतमा गएका केसमा करिब १ खर्ब राजस्व छ। यसलाई असुल गर्न चालु बजेटले निर्धारित रकममा १ प्रतिशत अतिरिक्त रकम तिरे हुने योजना ल्याएको छ। जुन योजना प्रभाकारी रूपमा अगाडि बढिरहेको आन्तरिक राजस्व विभागका अधिकारीहरूले बिफ्रिङ गरेका थिए।

अर्थमन्त्री वाग्लेले चाडबाडको समयमा राजस्व चुहावट बढ्ने जोखिम हुने भन्दै यो समयमा संयन्त्रहरू थप सक्रिय बनाउन पनि निर्देशन दिएका छन्।

आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकहरूले समीक्षा बैठकमा कर सङ्कलनको अवस्था, बक्यौता असुली, कर प्रशासन सुधारलगायत विषयमा जानकारी गराए।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, लगायतको वृद्धिदर सन्तोषजनक भएको बताए। उनले १ प्रतिशतको योजना र करदाता प्रोत्साहन कार्यक्रमले आन्तरिक राजस्व संकलनमा उल्लेख्य भूमिका खेलेको बिफ्रिङ गरेका थिए। यसका लागि व्यवसायीहरूलाई फोन गरेरै जानकारी गराएको र मातहतका कार्यालयहरू सक्रिय रहेको भुसालले बिफ्रिङ गरे।

भुसालले गत वर्षको पहिलो २ महिनाको तुलनामा चालु आवमा १५ प्रतिशतको वृद्धिदर रहेको बताए। अर्थमन्त्री वाग्लेले अबदेखि वस्तु तथा सेवा विक्रेताहरूलाई पनि करदाता प्रोत्साहनमा सहभागी हुन मिल्ने गरी कार्यविधि संशोधन गर्न निर्देशनसमेत दिएका छन्। यसले राजस्व संकलनमा ठूलो योगदान दिएको वाग्लेले बताएका थिए।

भन्सार विभागका महानिर्देशक यामलाल भुसालले बजार माग बढ्दै गएको प्रभाव भन्सार राजस्वमा परेको बताए। भन्सार नाकामा हुने कारोबारको अनुगमन, जोखिममा आधारित जाँच, सूचनाको आदानप्रदान, बजार अनुगमन तथा राजस्व चुहावटसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाएको भुसालले बताए।

‘गत आवको भदौसम्मको तुलनामा यो आवमा १० प्रतिशतको वृद्धिदर देखिएको छ। चाडबाडको समय भएकाले असोज, कार्तिकमा यो थप बढ्ने देखिन्छ,’ भुसालले बैठकमा भने।

उनले कार्यालयगत रूपमा राजस्व संकलनको अवस्था जानकारी गराएका थिए। यसमा वीरगन्ज भन्सार, भैरहवा र नेपालगन्ज भन्सारबाट लक्ष्य अनुसार संकलन भएको बताइएको थियो।

बैठकमा अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख सुमन दाहालले कर निर्धारण भइसकेका तर दाखिला नभएका रकमको विवरण अद्यावधिक गर्ने, असुली प्रक्रियालाई तीव्र बनाउने काम भइरहेको बताएका थिए।

समिति बैठकमा राजस्व सङ्कलन कमजोर भएका क्षेत्र पहिचान गर्ने, बक्यौता असुलीको लक्ष्य निर्धारण गर्ने, कर परीक्षण र बजार अनुगमनलाई तीव्र बनाउने विषयमा पनि छलफल भएको थियो।

अर्थ सचिव घनश्याम उपाध्यायले राजस्व अनुसन्धान नभएकोले भन्सार र आन्तरिक राजस्व प्रशासनबिच समन्वय बढाएर काम गर्नुपर्ने बताए।