BIZMANDU
www.bizmandu.com

तातोपानीको बोटल नेक इको क्षेत्रमा चीनले थाल्यो पहिरो रोकथामको काम, शिलान्यास दसैंपछि

२०८३ असोज २३

तातोपानीको बोटल नेक इको क्षेत्रमा चीनले थाल्यो पहिरो रोकथामको काम, शिलान्यास दसैंपछि
तातोपानीको बोटल नेक इको क्षेत्रमा चीनले थाल्यो पहिरो रोकथामको काम, शिलान्यास दसैंपछि


काठमाडौं। सरकारको आग्रहका बाबजुद् तातोपानी नाका खुलाउन आनाकानी गर्दै आएको चीनले इको क्षेत्रमा पहिरो रोकथामको काम सुरु गरेको छ।

GBIME
Tata

तातोपानी नाकाको बोटल नेक मानिने इकोको ३०० मिटर लामो जोखिमयुक्त ठाउँमा पहिरो स्थायीरुपमा रोकथामका लागि काम सुरु गरेको हो।

सडक विभागको विकास सहायता महाशाखाका अनुसार चिनियाँ प्राविधिक टोलीले केही समय अगाडि पहिरो क्षेत्र निरीक्षण गरेकामा अहिले कामदार खटाइएका छन्।

चीनले भौतिक निर्माण सुरु गर्नु अगाडि आवश्यक पर्ने पूर्वतयारीका काम गरिरसकेको छ। चिनियाँ पक्षले इमेलमार्फत शनिबार शिलान्यास गर्न प्रस्ताव गरेकामा पूर्वाधार विकास मन्त्रालयले दसैंपछि सार्न भनेको छ।

चीनले इको क्षेत्रमा पहिरो रोकथामका लागि १ अर्ब ७० करोड रुपैयाँ खर्च गर्दैछ। यो कामका लागि चीनले आफ्नो सरकारी कम्पनीलाई ठेक्का दिइसकेको छ। पहिरो रोकथामका लागि खोलाको किनारबाट पाइलिङ गरेर वाल लगाउनु पर्नेछ।

हरेक वर्ष वर्षा र भोटेकोशीको कटानका कारण कोदारीको इको र लिपिङ क्षेत्रमा सडक खस्ने तथा भासिने समस्या देखिंदै आएको छ। बस्ती जोखिममा भएका कारण त्यस क्षेत्रमा सडक स्तरोन्नति गर्न समस्या छ। यही सडकको जोखिमलाई देखाउँदै चीनले अहिले तातोपानी नाका खुलाउन आनाकानी गरिरहेको छ। चीनले तातोपानी नाका भदौ १४ देखि खोलेको छैन।

इको क्षेत्रको सडक सरकारले बनाउने गरी ४८ करोड रुपैयाँमा ठेक्का लगाइएकामा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चीनले बनाउने गरी सम्झौता गरेर ठेक्का रद्ध गरेका थिए।