काठमाडौं। करदाता प्रोत्साहन कार्यक्रममा अब बिक्रेतालाई पनि सहभागी गराइने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा वस्तु तथा सेवा बिक्री गर्ने बिक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्।
उनले शुक्रबार अर्थ मन्त्रालयमा राजस्व समीक्षा बैठकमा कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको भन्दै बिक्रेतालाई पनि सहभागी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका हुन्।
अर्थमन्त्रीले व्यापारीहरू बिल जारी गर्न हिच्किचाएको गुनासो आएको भन्दै उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताएको उनको सचिवालयले जनाएको छ। ‘बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,’ उनले भने, ‘कार्यविधि संशोधनको प्रस्ताव ल्यानुहोस्।’
साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा हरेक १५/१५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार र एक/एक जनालाई बम्पर उपहारमा १० लाख रुपैयाँ नगद दिने गरिएको छ। यो रकममा कर कट्टी हुन्छ।
हालसम्म ७४ जनाले एक एक लाख र ५ जनाले ७ लाख ५० हजारका दरले प्रोत्साहन रकम जितेका छन्।