काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार बैंक संचालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षता सभा सम्पन्न भएको हो।
कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत सेयरधनी र अन्य पदाधिकारीहरुको उपस्थिती थियो।
सभामा बैंक संचालक समितिका अध्यक्ष दहालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आर्थिक वर्षको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे सेयरधनीहरुलाई जानकारी गराएका थिए।
सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको जनाइएको छ।
कार्यक्रममा सेयरधनीहरुले व्यवसायिक गतिविधिमा केन्द्रित भएर लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्ने लगायत आगामी दिनहरुमा संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्दै लैजानुपर्नेमा जोड दिएका थिए।