नर्वेली नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार नाभानेथम ‘नवी’ पिल्ले लाई प्रदान गर्ने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय कानुनको प्रवर्धन, मानवअधिकारको रक्षा र विश्वव्यापी न्यायप्रणालीलाई सुदृढ बनाउन पुर्याएको योगदानको कदर गर्दै ८६ वर्षीया पिल्लेलाई यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ।
दक्षिण अफ्रिकामा रंगभेद विरुद्धको आन्दोलनमा नेल्सन मण्डेला लगायतका नेताहरूको वकालत गरेर पिल्लेले आफ्नो करियर सुरु गरेकी थिइन्। भारतीय मूलकी पिल्लेले अन्तर्राष्ट्रिय अपराध अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण र दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीशको रूपमा सेवा गरिसकेकी छन्।
रुवान्डा न्यायाधिकरणमा रहँदा उनले बलात्कार र यौन हिंसालाई मानवता विरुद्धको अपराध र नरसंहारको रूपमा परिभाषित गरेकी थिइन्।
उनले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको जिम्मेवारी पनि सम्हालिसकेकी छन्। हाल उनी म्यानमार विरुद्धको नरसंहार सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालतमा न्यायाधीशको रूपमा कार्यरत छन्।