BIZMANDU
www.bizmandu.com

२२ किलो सुन तस्करी प्रकरण : चीनबाट ह्विच्याटमार्फत निर्देशन, भंगालको घरबाट अवैध कारोबार

२०८३ असोज २३

२२ किलो सुन तस्करी प्रकरण : चीनबाट ह्विच्याटमार्फत निर्देशन, भंगालको घरबाट अवैध कारोबार
२२ किलो सुन तस्करी प्रकरण : चीनबाट ह्विच्याटमार्फत निर्देशन, भंगालको घरबाट अवैध कारोबार


काठमाडौं। चिनियाँ नागरिकले नेपालमा ११ दिनको बीचमा करिब २२ किलो सुन तस्करी गरेको पाइएको छ।

GBIME
Tata

प्रहरीको अनुसन्धानबाट चिनियाँ नागरिकले दुई महिनादेखि योजना बनाएको र ११ दिनमा २१ किलो ७५० सुन अवैधरुपमा भित्र्याएको देखिएको हो। सुन तस्करीका मुख्य योजनाकार भने चीनको ग्वान्जाउमा बस्ने हेन जिआ लि भएको खुलेको छ।

तस्करीको सुन कारोबारका लागि उनीहरुले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगालस्थित एउटा घरलाई अखडा बनाएका थिए। त्यो घर मासिक ३ लाख ३० हजार रुपैयाँ दिने गरी ८ महिनाका लागि भाडामा लिएको खुलेको छ। उनीहरुले ४ महिनाको अग्रिम भाडा साउन ८ गते नै दिइसकेका थिए।

झु कान घरधनीलाई ४ महिनाको १३ लाख २० हजार रुपैयाँ भाडा दिएपछि साउन ३० गते चीन गएकामा त्यसपछि असोज १५ गते नेपाल आएका थिए। हान फेइ र हउ लङकिङ भने असोज ११ गते नेपाल आएका हुन्। उनीहरुलाई भाडाको घरको चाबी मुख्य योजनाकार हेन जिआ लिले असोज १० गते दिएका थिए।

हान फेइ त्यसअघि साउन १९ गते स-परिवार नेपाल आई सुनको बजार अवस्था र मूल्य बुझेर भदौ १३ गते चीन फर्केका थिए। उनले असोज ११ गते दोस्रोपटक नेपाल आउनासाथ एयरपोर्टमा बीवाइडी एटो-३ गाडी असोज २५ सम्मका लागि भाडामा लिएको बयान दिएका छन्।

चिनियाँ नागरिकले घर भाडामा लिई अवैध रुपमा सुनको कारोबार तथा ओसारपसार गरेको भन्ने विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति हान फेइसमेतका ३ जना चिनियाँ नागरिकलाई २१ किलो ७५० ग्राम सुन, ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन/उपकरणसहित नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका चिनियाँ नागरिकका अनुसार हेन जिआ लि सुन तस्करीका मुख्य योजनाकार हुन्। पक्राउ परेका तीन जनाले हेन जिआ लिको निर्देशनमा काम गरेको बयान दिएका छन्।

‘पक्राउ परेका चिनियाँ नागरिकले नै घरमा आएका लेसिलो अर्धतयारी अवस्थामा रहेका सुनलाई प्रशोधित गर्ने, तयारी गर्ने र तोकिएको ठाँउमा पुर्‍याउने गरेको देखियो। उनीहरुलाई नेपालमा कहाँ, के-कसरी, कसकहाँ सुन पुर्‍याउने भन्ने सबै निर्देशन विच्याटमार्फत जेन जिआ लिले दिने गरेको बयानबाट खुलेको छ,’ कार्यालयका एसएपी सन्तोष खड्काले भने।