काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने विद्युतीय सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। सार्वजनिक भएको भाडादरसम्बन्धी सूचनामा यात्रुवाहक बसका विभिन्न रुटको भाडा तथा मालवाहक ट्रकको ढुवानी दर उल्लेख गरिएको छ।
सरकारले दसैं लक्षित गरेर विद्युतीय सवारीसाधनका लागि छुट्टै भाडादर तोकेको हो। दसैंमा घर जाने यात्रुका लागि लामो दूरीका इभी बसको भाडा गन्तव्य र बसको सेवा सुविधाअनुसार फरक पर्ने भएको छ।
यातायात व्यवस्था विभागले सार्वजनिक गरेको अन्तरप्रदेश रुटको भाडादर अनुसार काठमाडौं-पोखरा, काठमाडौं-बुटवलदेखि काठमाडौं-धनगढीसम्म सामान्य, डिलक्स र सुपर डिलक्स बसको भाडा फरक-फरक छ।
विभागको भाडादर सूचीअनुसार काठमाडौं-पोखरा रुटमा सामान्य इभी बसको भाडा ६५२ रुपैयाँ, डिलक्सको ७८३ रुपैयाँ र सुपर डिलक्सको ९३९ रुपैयाँ छ। डिजल बसको हकमा यही रटतर्फ सामान्य बसको ७९९, डिलक्सको ९४० र सुपर डिलक्सको ११२८ रुपैयाँ रहेको छ।
त्यस्तै, काठमाडौं-बुटवल रुटमा सामान्य इभी बसको ७९० रुपैयाँ, डिलक्सको ९४७ रुपैयाँ र सुपर डिलक्सको ११३७ रुपैयाँ भाडा तोकिएको छ। यो रुटमा डिजल बसतर्फ सामान्यको ९४८, डिलक्सको ११३८ सुपर डिलक्सको १३६५ रुपैयाँ रहेको छ।
सबैभन्दा लामो रुट काठमाडौं-अत्तरीया-मार्तडी बाजुरा हो। यसको सामान्य इभी बसको ३१३२, डिलक्सको ३७५९ र सुपर डिलक्सको ४५१० रुपैयाँ तोकिएको छ। डिजल बसको भाडा भने यो रुटको सामान्य बसको ३७६२, डिलक्सको ४५१४ र सुपर डिलक्सको ५४१७ रुपैयाँ पर्छ।