काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।
नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले गरेको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन’को पाँचौं संस्करणलाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए।
‘कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो। अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिंदैन। त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो,’ उनले भने।

सञ्चारमन्त्री तिमिल्सिनाले युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सरकारले सहजीकरण गरिरहेको बताए।
उनले नवप्रवर्तन र उद्यमशीलताको विकास कुनै एक निकायको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्यको आवश्यकतामा औंल्याए।
सञ्चारमन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ-जी सुरु गर्ने गरी काम गरिरहेको बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) र उद्यमशीलताका क्षेत्रमा नेपाली युवाको सहभागिता बढ्दै गएको भन्दै एआईको उपयोगबाट सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, अर्थतन्त्रमा योगदान बढाउन, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न तथा विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए।